फिक्कल– दैनिक लाखौँको कारोबार हुने नेपाल–भारत सीमा पशुपतिनगर नाका पछिल्लो समय सुनसान बन्दै गएको छ।
भारतीय सुरक्षाकर्मीले २५ हजारभन्दा बढी नगद बोक्न नदिएपछि भारतीय ग्राहक आउन छाडेसँगै नाका सुनसान बन्दै गएको हो। गत असार, साउनयता ग्राहक घट्दै गएका कारण बजार पनि सुनसानजस्तै बनेको स्थानीयवासीको भनाइ छ। भारतबाट आउने पर्यटकलाई २५ हजारभन्दा बढी नगद बोक्न प्रतिबन्ध लगाएको बताइएको छ।
भारतीय सुरक्षाकर्मीले रकम जफत गर्न थालेपछि पशुपतिनगर घुम्न आउने भारतीय पर्यटक आउन छाडेको पूर्व संविधानसभा सदस्य लीलादेवी श्रेष्ठले बताइनु। स्थानीय तथा पशुपतिनगर उद्योग वाणिज्य सङ्घकी पूर्वअध्यक्षसमेत रहेकी उनले भारतबाट नेपाल आउने पर्यटकमा भारतीय पक्षबाट कडाइ गर्दा यस्तो समस्या आएको हो।
दशैँ, तिहारजस्ता चाडपर्वका समयमा भीडभाड हुने बजारमा यसपटक खासै मान्छे नआएको व्यापारीको भनाइ छ। दैनिक उपभोग्य वस्तु र लत्ताकपडा खरीद गर्न आउने मानिसको सङ्ख्या ह्वात्तै घटेपछि व्यापारी मारमा परेका छन्।
वाणिज्य सङ्घकी पूर्वअध्यक्ष श्रेष्ठले नाकामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले शरीर खानतलासी गरेर रकम जफत गर्न थालेपछि नेपाल आउने पर्यटक घटेको बताइन्।
दार्जिलिङबाट नेपाल आउने सयौँ भारतीय पर्यटक पशुपतिनगर आएर कपडा, जुत्ता कस्मेटिक सामग्री खरीद गर्ने भएकाले यहाँबाट लाखौँको कारोवार हुने गरेको थियो। क्रमशः भारतीय पर्यटकको आगमन घट्दै गएको छ।
पहिले भिडभाड हुने बजार विस्तारै खुम्चिँदै जानुमा भारतीय पक्ष नै दोषी रहेकाले सम्बन्धित निकायले पहल गर्नुपर्ने व्यापारीहरुको माग छ।
भारतीय पक्षको खानतलासीले पूर्वी पहाडबाट दार्जिलिङतिर जाने आफन्त, दैनिक बिरामी लिएर जाने गाडी तथा उपचारका लागि जाने बिरामीका परिवार पनि मारमा परेका छन्। उपचारका लागि ठूलो खर्च लाग्छ।
उपचारमा जाँदा २५ हजारमाथि नै रकम बोक्नुपर्ने तर भारतीय पक्षका कारण समस्या हुने गरेको पीडितहरुको भनाइ छ।बिरामीको उपचारका लागि लगिएको पैसा नै सिमाना काटेर लैजान नपाइने भएपछि समस्या भएको उनीहरु बताउँछन्। पूर्वी पहाडी जिल्लाबाट पशुपतिनगर नाका हुँदै भारतका दार्जिलिङ, सिलगुडी जान सजिलो हुने गरेको छ।
भारततर्फ अध्यागमन केन्द्र नहुँदा नेपालको मात्र अध्यागमन केन्द्रले केही गर्न नसक्ने कर्मचारी बताउँछन्। स्थानीय सरकारले प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर सुक्दै गएको बजारलाई जगाउन विशेष पहल गर्न आवश्यक रहेको व्यवसायीहरुको भनाई छ। रासस
प्रकाशित: ६ मंसिर २०७६ ११:४३ शुक्रबार