१५ चैत्र २०८० बिहीबार
अर्थ

घुमघाम नेपालमा, आम्दानी भारतलाई

नेपाल–भारत सिमाना फालोटमा रहेको भारतीय सरकारको गोस्टहाउस। नेपालको भू–भाग दायाँतर्फ पर्छ। तस्बिर : गिरिराज/नागरिक

पाँचथर – हिउँद लागेसँगै मौसम खुलेको छ। आकाश निलो छ। हिमाल छर्लंग देखिन्छ। मोहित पार्ने सूर्योदयको दृश्य देख्न थालिएको छ। यसरी मौसम खुलेपछि अधिकांश नेपाली भू–भाग रहेको पर्यटकीय गन्तव्य सन्दकपुरमा पर्यटक ओइरेका छन्। दृश्यावोकन गर्ने महत्वपूर्ण थलो र घुम्ने ठाँउ अधिकांश नेपालतर्फ छ। पर्यटकहरु नेपाली भूमिमा घुम्ने, रमाउने गरे पनि आम्दानी भारतीयले गर्छन्।

नेपालतर्फ होटल कम छ। यता सडक नहुँदा भारतीय बजारको सामान भारतीय बाटोबाटै ल्याउनुपर्ने बाध्यता छ। सन्दकपुर, योसँग जोडिएका र सिमाना आसपासका गन्तव्यमा विदेशी पर्यटक बाक्लै आउने गरे पनि नेपालले खासै फाइदा लिन सकेको छैन।

सन्दकपुरमा दृश्यावलोकनका लागि अब्बल मानिएको डाँडामा केही दिनअघि भारतीय सीमा सुरक्षाबल (एसएसबी)ले जान तथा तस्बिर खिच्न रोकेको थियो। अहिले अवरोध हटेको सशस्त्र प्रहरी प्रहरी बलका डिएसपी प्रेम प्रसाईले जानकारी दिए। सन्दकपुर हुँदै पर्यटकहरु फालोटसम्म पुग्ने गरेका छन्। कतिपय फालोटबाट सिंहलीला पहाडनजिक हुँदै विभिन्न ठाउँ घुम्न जान्छन्। तिनीहरुबाट नेपालले लाभ लिन सकेको छैन।

सीमा क्षेत्र आसपासमै भारतले सडक बनाएको छ। यी सडकमा भारतीय गाडी कुद्छन्। नेपाली भू–भागमा भारतीय गाडी कुदाउन रोकटोक छैन। भारततिर होटल र अन्य सुविधा भए पनि नेपालतर्फ नहुँदा पर्यटकबाट लाभ लिन नसकिएको हो। सीमा क्षेत्रमा भारतीय बजारबाट ल्याइएका सामग्री बढी प्रयोग हुन्छ। पर्यटक घुम्ने, रमाउने र दृश्यावालोकन गर्ने अधिकांश क्षेत्र नेपालको भए पनि नेपालले यहाँबाट आम्दानी हासिल गर्न सकेको छैन। सन्दकपुरमा नेपालतर्फ दुइटा मात्र होटल छन्। भारततर्फ १४ छन्; तीमध्ये ११ वटा सरकारले सञ्चालन गर्छ। नेपालतर्फ सरकारी पूर्वाधार छैन। फालोटमा भारतको सरकारी गेस्टहाउस छ। नेपालतर्फ बस्ने ठाउँ नै छैन। यो क्षेत्रमा घुम्दा भारतीय होटल, बाटो, गाडी चढ्नुपर्ने अवस्था छ। यहाँ आउने पर्यटकलाई न नेपालतर्फ राख्न सकिएको छ, न नेपालका अन्य पर्यटकीय गन्तव्यमा पु-याउने पहल।

क्रस बोर्डर टुरिजम विकासको चर्चा गरे पनि व्यवहारमा छैन। नेपालतर्फका चौरी गोठमा गोठस्टेको अवधारणा ल्याइए पनि पर्यटक राख्न पहल भएको छैन। पर्यटकहरु आएर चौरी दुहुने, छुर्पी किन्ने र फर्किने गरेको यहाँका गोठ सञ्चालक थर्कमान गुरुङले बताए।

फालोटमा भारतीय गेस्टहाउसमा सिजनमा पर्यटक भरिभराउ हुन्छन्। ‘कहिलेकहीँ त बास बस्न दिने ठाउँ नै पुग्दैन। बस्ने ठाउँ भारततिर मात्र छ,’ फालोटको सरकारी गेस्टहाउस सञ्चालक पासाङ पेम्बा शेर्पाले भने, ‘सूर्योदय र हिमाल हेर्नका लागि प्रशस्त आउँछन्।’

उनले भने झैं बंगाली पर्यटक डाँडाभरी भेटिन्छन्। नेपालतर्फ नजिकै घुम्ने ठाउँ प्रशस्त भए पनि पर्यटक लैजान पहल भएको देखिँदैन। सन्दकपुरमा नअटेका पर्यटक आहाल डाँडासम्म आइपुग्ने गरेका छन्। डाँडामा टेन्ट टाँगेर पर्यटक बस्ने व्यवस्था मिलाइएको छ। भारतीय तथा अन्य देशबाट आउने पर्यटकले सन्दकपुर भरिभराउ हुने गरेको नेपालतर्फका होटल व्यवसायी छिरिङसम्दु सेर्पाले बताए। उनका अनुसार धेरैजसो भारतपट्टि नै बस्छन्।

क्रस बोर्डर टुरिजमबाट नेपालले बढीभन्दा बढी आम्दानी कसरी गर्ने भन्नेतर्फ ठोस पहल छैन। भारततर्फ वेस्ट बंगाल सरकारको मातहतमा होटलहरु छन्। समुद्र सतहदेखि तीन हजार ६ सय ३६ मिटरमा रहेको सन्दकपुर लगायत क्षेत्रमा नौ महिना पर्यटक आउँछन्।

नेपालतर्फका होटलमा पनि भारतीय रुपैयाँ चल्छ। यहाँको स्थानीय उत्पादनको बिक्री–वितरण समेत हुँदैन। अधिकांश भारतीय सामग्री प्रयोग हुन्छ। नेपालतर्फ पर्याप्त होटल छैन, आम्दानी गर्ने किसिमका अन्य पूर्वाधार समेत निर्माण भएको छैन।

‘भूगोल त नेपालको हो नि ! कमाइ सबै भारतको हुन्छ !! नेपालतर्फ होटल लगायत पूर्वाधार छैन, भएकाबाट पनि भारतलाई नै फाइदा हुन्छ,’ सन्दकपुरनजिकका बासिन्दा रामकुमार राईले भने, ‘भारतकै बाटो ल्याएर भारतै फर्काउँछन्। अन्य पूर्वाधारको विकास गर्न सके नेपाललाई पनि त फाइदा हुन्थ्यो।’

राईले भने झैं भारतीय ल्यान्डरोभर गाडी पर्यटक ल्याएर उतै फर्किन्छन्। सन्दकपुरसँग इलाम, पाँचथरका घुम्नलायक विभिन्न ठाउँ रहे पनि यहाँसम्म पर्यटक ल्याउने काम भएको छैन। पाँचथर र इलामबाट सन्दकपुरसम्म सडक पुगे पनि गुणस्तरीय छैन। यहाँ आएका पर्यटकलाई नेपालका अन्य ठाउँमा लैजान सकिने भए पनि त्यसतर्फ पहल भएको देखिँदैन। नेपालले पर्यटन प्रवद्र्धनमा चासो नदिँदा ठूलो घाटा भएको राई बताउँछन्।

भारततर्फ सीमा सुरक्षा बल सहित अन्य सरकारी कार्यालय छन्। सिंहलीला नेसनल पार्क र कञ्चनजंगा नेसनल पार्कको रुपमा भारततर्फ संरक्षित क्षेत्र छ। जुनसुकै क्षेत्रमा घुम्न दिँदैन। नेपालतर्फ पर्यटकलक्षित होटलसहित पूर्वाधार नहुँदा आम्दानी हुन सकेको छैन। स्थानीय उत्पादनको बिक्रीकेन्द्र स्थापन गर्ने, यहाँ आएका पर्यटकलाई अन्य गन्तव्य लैजाने र नेपाली बाटो प्रयोग गराउने काम हुन सकेको छैन। नेपालतर्फ सरकारी उपस्थिति पनि छैन। नेपाली गाडीहरु बिरलै भेटिन्छन्। नेपालका ठाउँ घुम्न आउँदा पनि पर्यटकले भारतीय गाडी नै प्रयोग गर्ने गरेका छन्।

प्रकाशित: ५ मंसिर २०७६ ०४:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App