coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

आठ बैंकको नाफा घट्यो

जिपी भण्डारी

काठमाडाैं – मुलुकमा सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकले चालु आर्थिक वर्ष ०६७/७७ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्।

असोज मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका अधिकांश बैंकले नाफा बढाए पनि आठवटा बैंकले भने नाफा घटाएका छन्।

सरकारी र निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थामा नाफा घटेका बैंकमा नेपाल इन्भेस्टमेन्ट बैंक, सिभिल बैंक, नेपाल एसबिआई बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, बैंक अफ काठमाडौं, एनसिसी बैंक र नेपाल बैंक रहेका छन्।

सरकारी स्वामित्वमा रहेको नेपाल बैंकले चालु आवको तीन महिनामा ५८ करोड १८ लाख रुपैयाँ नाफा गरेको छ। उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ३६.३३ प्रतिशतले कम हो। बैंकले गत आवको सोही अवधिमा ९१ करोड ३८ लाख रुपैयाँ नाफा गरेको थियो।

चालु आवको पहिलो तीन महिनाको अवधिमा एनसिसी बैंकले ३४ करोड तीन लाख रुपैयाँ नाफा गरेको छ। यो नाफा गत आवको सोही अवधिको तुलनामा २०.६१ प्रतिशत कम हो। बैंकले गत आवको पहिलो त्रैमासिक अवधीमा ४२ करोड ८७ लाख रुपैयाँ नाफा गरेको थियो।

त्यसैगरी, नेपाल इन्भेस्टमेन्ट बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकले चालु आवको तीन महिनाको अवधिमा ८४ करोड ४४ लाख रुपैयाँ नाफा गरेको छ। यो नाफा गत आवको सोही अवधिको तुलनामा १९.९३ प्रतिशत कम हो। बैंकले गत आवको असोज मसान्तसम्म एक अर्ब पाँच करोड ४६ लाख रुपैयाँ नाफा गरेको थियो।

त्यसैगरी, चालु आवको पहिलो त्रैमासिक अवधिमा सिभिल बैंकको नाफा १४.१० प्रतिशतले घटेको छ। गत आवको पहिलो तीन महिनामा १८ करोड ५० लाख रुपैयाँ नाफा गरेको बैंकले चालु आवको सोही अवधिमा १५ करोड ८९ लाख रुपैयाँ नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ।

सिटिजन्स बैंकले चालु आवको असोज मसान्तसम्म ३४ करोड ९१ लाख रुपैयाँ नाफा गरेको छ। यो नाफा गत आवको सोही अवधिको तुलनामा १८.५७ प्रतिशतले कम हो। बैंकले गत आवको तीन महिनामा ४२ करोड २८ लाख रुपैयाँ नाफा गरेको थियो।

नेपाल  एसबिआई बैंकले चालु आवको तीन महिनाको अवधिमा ४३ करोड ७२ लाख रुपैयाँ नाफा गरेको छ। बैंकले गत आवको सोही अवधिमा ४८ करोड ९७ लाख रुपैयाँ नाफा गरेको थियो। जसअनुसार गत आवको तुलनामा यो चालु आवमा १० दशमलव ७२ प्रतिशतले नाफा घटेको हो।

त्यसैगरी, सिद्धार्थले ०.६९ प्रतिशतले नाफा घटाएको छ। गत आवको पहिलो त्रैमासिक अवधिमा ५२ करोड ५० लाख रुपैयाँ नाफा गरेको बैंकले चालु आवको सोही अवधिमा ५२ करोड २१ लाख रुपैयाँ नाफा गरेको जनाएको छ।

बैंक अफ काठमाडाैंको ०.८० प्रतिशतले नाफा घटेको छ। बैंकले चालु आवको पहिलो त्रैमासिक अवधिमा ३८ करोड ३७ लाख रुपैयाँ नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले गत आवको सोही अवधिमा ३८ करोड ६८ लाख रुपैयाँ नाफा गरेको थियो।

प्रकाशित: ५ मंसिर २०७६ ०३:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App