१९ जेष्ठ २०७७ सोमबार
अर्थ

बाढीले क्षतिग्रस्त सिमेन्ट उद्योग निर्माण सुरु

धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ ताल्तीमा निर्माणाधीन ह्वासिन सिमेन्ट उद्योग।

धादिङ – अविरल वर्षापछि आएको भीषण बाढीले क्षतिग्रस्त बनाएको निर्माणाधीन ह्वासिन सिमेन्ट उद्योगको निर्माण कार्य पुनः थालिएको छ। गत असार ३० गते मध्यरातमा उर्लेको मलेखुखोलाले चिनियाँ सहयोगमा बेनिघाट रोराङ गाउँपालिका–२ ताल्तीमा निर्माणाधीन ह्वासिन नारायणी सिमेन्ट उद्योगमा भीषण क्षति पुगेको थियो। बाढीले मजुदरका आवास, निर्माणाधीन संरचना र पृथ्वी राजमार्गदेखि उद्योगसम्म पुग्ने पहु“च मार्ग पुरै क्षतिगस्त बनाएको थियो।

बाढीले क्षति पु-याएको सिमेन्ट उद्योगको चार महिनापछि पुनर्निर्माण सुरु गरिएको छ। उद्योग पुनर्निर्माणका लागि दैनिक सात सय मजदुर परिचालन गरिएको छ भने थप ६ सय चिनियाँ मजदुर थपिने बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले बताए। ‘चाडपर्व सकिएलगत्तै चार सय चिनियाँ प्रााविधकसहितका मजदुर र तीन सय नेपाली मजदुर लगातार निर्माण कार्यमा जुटिरहेका छन्,’ उनले भने, ‘पहिलो चरणमा उद्योगको भौतिक निर्माण, कार्यालय भवन निर्माण, उद्योगका ठूला संरचना र खोला व्यवस्थापनको काम भइरहेको छ।’

२०७७ साल जेठदेखि उत्पादन आरम्भ गर्ने उद्देश्य लिएको चिनियाँ लगानीको उक्त ठूलो उद्योग ताल्तीमा निर्माणाधीन छ। निर्माण कम्पनीमा ६ सय चिनियाँ कामदार थपेर एक हजार पु-याइने र तीन सय नेपाली मजदूर थपेर दैनिक १६ सय मजदुरले निरन्तर काम गर्ने जनाइएको छ। मलेखु खोला किनारमा निर्माण गरिएको उद्योगसम्म पुग्ने १२ किमी पहुँचमार्ग पनि गाउँपालिकाले मर्मत गरिदिएको छ। उक्त सडक पनि बाढीले तहसनहस बनाइदिएको थियो। यही पहुँचमार्गलाई लिएर गजुरी गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकाबीच ठूलो विवादसमेत निम्तिएको थियो।

गत वर्षको फागुन १७ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले शिलान्यास गरी निर्माण कार्य थालिएको उद्योगको ठेक्का चीनकै हन्दन सिनोमा कम्पनीले लिएको थियो। निर्माण कार्य सुरु गरेको तीत महिनामै बाढीले क्षति पु-याएपछि चीनकै सिनोमा कन्स्ट्रक्सन प्रालि फर्केको छ भने हाल उद्योग निर्माणकार्यको जिम्मा कलंकी अन्डरपास निर्माण गरेको ह्वाङताओ कन्स्ट्रक्सन प्रालिले जिम्मा लिएको छ।

२०५० साल साउन ४ गतेको बाढीले ताल्तीको धान फल्ने खेतलाई बगर बनाएपछि करिब चार सय रोपनी सोही बगर अधिकरण गरी उक्त सिमेन्ट उद्योग निर्माणाधीन थियो। त्यस्तै, गाउँपालिकाले पनि खोला किनारको तीन सय रोपनी जग्गा उद्योगलाई भोगचलनको अधिकार दिएको थियो। तर, संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले गाउँपालिकाले उद्योगलाई जग्गा लिजमा दिनु अवैधानिक भएको भन्दै लिज सम्झौता खारेज गर्न निर्देशन दिएको थियो।

१७ अर्ब रुपैयाँ लगानीमा निर्माण हुने सिमेन्ट उद्योग नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्ने सबैभन्दा ठूलो कम्पनी भएको पनि दाबी गरिएको छ ।

नेपालमा चिनियाँ लगानीकर्ताको आकर्षण बढाउने उद्देश्यले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल सरकार र चिनियाँ सरकारबीच भएको द्विपक्षीय सम्झौताअनुसार नेपालमा सिमेन्ट उद्योग स्थापना गर्न लगानी बोर्ड र चिनियाँ कम्पनीबीच सहमति भएको थियो। उक्त कम्पनी स्थापना गर्न १५ अर्बबराबरको वैदेशिक लगानी नेपाल सरकारको तर्फबाट लगानी बोर्डले स्वीकृत गरेको थियो।

सिमेन्ट उद्योगमा चिनियाँ कम्पनीको ८० प्रतिशत र नेपाली कम्पनीको २० प्रतिशत सेयर रहेको छ। अहिले नेपाली लगानीकर्ताको प्रतिनिधित्व वैद्य गुप्रका तर्फबाट सुरज वैद्यले र चिनियाँ लगानीकर्ताहरूको प्रतिनिधित्व ह्वासिन सेन्ट्रल एसिया इन्भेस्टमेन्ट (हुवान) कम्पनी लिमिटेडले गरिरहेको छ। दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित सञ्चालन गर्न लागिएको सिमेन्ट उद्योगको आगामी ९ महिनाभित्रमा उत्पादन थाल्ने लक्ष्य थियो।

प्रकाशित: ४ मंसिर २०७६ १०:११ बुधबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App