१६ चैत्र २०८० शुक्रबार
अर्थ

कुन बैंकको कति नाफा ?

जिपी भण्डारी

काठमाडौं – मुलुकमा सञ्चालनमा रहेका वाणिज्य बैंकमध्ये केहीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका बैंकमध्ये नेपाल बैंकबाहेक सबैले नाफा बढाएका छन्।

विवरण प्रकाशन गर्ने बैंकमध्ये सबैभन्दा बढी नाफा ग्लोबल आइएमई बैंकले कमाएको छ। यो बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७३ करोड रुपैयाँ नाफा गरेको छ। उक्त रकम गत आवको सोही अवधिको तुलनामा करिब ४० प्रतिशतले बढी हो। बैंकले गत आवको पहिलो तीन महिनामा ५३ करोड रुपैयाँ नाफा कमाएको थियो।

प्राइम कमर्सियल बैंकले चालु वर्षको पहिलो त्रैमासमा ६५ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको छ। उक्त रकम गत आवको सोही अवधिको तुलनामा १३.३८ प्रतिशतले बढी हो। बैंकले गत आवको सोही अवधिमा ५८ करोड १९ लाख रुपैयाँ नाफा गरेको थियो। बैंकको प्रतिसेयर आम्दानी २७.२४ रुपैयाँ छ।

अर्को वाणिज्य बैंक प्रभुले चालु आवको तीन महिनामा ६२ करोड ८४ लाख रुपैयाँ नाफा गरेको छ। बैंकले गत आवको सोही अवधिको तुलनामा ५.०१ प्रतिशतले नाफामा सुधार गरेको हो। बैंकले गत वर्ष यो अवधिमा ५९ करोड ८४ लाख रुपैयाँ नाफा गरेको थियो।

यसैगरी, सानिमा बैंकले पहिलो तीन महिनामा ५९ करोड ३६ लाख रुपैयाँ नाफा गरेको छ। उक्त नाफा गत आवको सोही अवधिको तुलनामा १४.४० प्रतिशतले बढी हो। बैंकले अघिल्लो वर्ष ५१ करोड ८८ लाख रुपैयाँ नाफा गरेको थियो।

चालु आवमा नेपाल बैंकको भने नाफा घटेको छ। गत आवको पहिलो त्रैमासिक अवधिमा ९१ करोड ३८ लाख रुपैयाँ नाफा गरेको बैंकको चालू आवमा ४० प्रतिशतले गिरावट आएको छ। बैंकले चालु आवमा ५८ करोड १८ लाख रुपैयाँ नाफा गरेको छ।

यस्तै अर्को वाणिज्य बैंक सिद्धार्थले चालु आवको प्रथम त्रैमासिकमा ५२ करोड १४ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्ष यसले ५२ करोड ५० लाख रुपैयाँ कमाएको थियो।

अर्को वाणिज्य बैंक लक्ष्मीले ४३ करोड ७४ लाख ५० हजार रुपैयाँ नाफा गरेको पहिलो त्रैमासिक वित्तीय विवरणले देखाउँछ। यो बैंकले गत आवको सोही अवधिमा ३३ करोड ३० लाख ३२ हजार रुपैयाँ नाफा गरेको थियो। बैंकले चालु आवको पहिलो तीन महिनामा ९५ करोड ५६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको जनाएको छ।

यसैगरी, चालु आवको असोज मसान्तसम्म सनराइज बैंकले २५ प्रतिशतले नाफा वृद्धि गरेको छ। बैंकले यो वर्ष ३७ करोड रुपैयाँ नाफा गरेको छ। उसले पोहोर ३३ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो।

यस्तै, जनता बैंकले चालु आवको पहिलो त्रैमासमा ३६ करोड ६९ लाख रुपैयाँ नाफा गरेको छ। बैंकले अघिल्लो वर्षका तुलनामा १३.७९ प्रतिशतले नाफा बढाएको हो। बैंकले अघिल्लो आवमा ३२ करोड १९ लाख रुपैयाँ नाफा गरेको थियो।

प्रकाशित: २८ कार्तिक २०७६ ०२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App