७ वैशाख २०८१ शुक्रबार
अर्थ

पर्यटक प्रहरीलाई भाषाकै समस्या

काठमाडौं– भाषा ज्ञान नहुँदा पर्यटक प्रहरीहरुलाई समस्या पर्ने गरेको छ। विभिन्न भाषाभाषीका पर्यटक नेपाल भित्रिने गर्छन् तर नेपाल सरकारसँग सबै किसिमका भाषा बोल्न सक्ने पर्यटक प्रहरी छैनन्। अंग्रेजी भाषाको प्रयोगले सहजता हुने भए पनि चीन, फ्रान्स, ब्राजिल लगायतका पर्यटकमा उक्त भाषाको ज्ञान कम हुँदा समस्या आउने गरेको छ। प्राय पर्यटक प्रहरी अंग्रेजी बोल्ने भए पनि चिनियाँ, स्पेनिस, फ्रेन्च लगायतका भाषामा दक्ष्यता दुईतर्फी संवादमा अप्ठेरो हुने गरेको प्रहरीको भनाई छ।

सरकारले २० लाख पर्यटक भित्र्याउने उद्देश्यका साथ २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने तय गरेको छ। नेपाल आउने सबै पर्यटकहरुको भाषा बुझ्न नसक्दा कतिपय समस्याको समाधान गर्न गाह्रो हुने गरेको पर्यटक प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमृत वहादुर बस्नेतले बताए।

पछिल्लो समय चीनबाट पर्यटक आउने क्रम बढ्दो छ। तर पर्यटक प्रहरीसँग चिनियाँ भाषा जान्ने एउटा पनि प्रहरी छैनन्। भाषाको ज्ञान नहुँदा अन्य सम्बन्धित निकायको सहयोग लिनुपर्ने बाध्यता अहिले पर्यटक प्रहरीलाई छ। काठमाडौंमा हालै भएको एटिएम ह्याकको घटनामा समेत चिनियाँको संलग्नता थियो। नेपाल प्रहरीले ह्याकरहरुलाई समातेको भएपनि उनीहरुको भाषा नजान्दा प्रहरीलाई अप्ठेरो भएको प्रहरी निरीक्षक बस्नेत बताउँछन्।

अहिले पर्यटक प्रहरीलाई विभिन्न मुलुकको भाषाको ज्ञान नहुनुले समस्या त पारेकै छ त्यसमा पनि उनीहरुमा आवश्यक तालीमको अभाव हुनु, दक्ष जनशक्तिको कमी हुनुलगायतका चुनौतीको सामना पनि पर्यटक प्रहरीले गरिरहेको छ।

विदेशी पाहुनाहरुलाई नेपाल भित्र्याउन नेपाल सरकारले प्रचारप्रसार पनि गरिरहेको छ। यतिमात्र नभएर पुरानासँगै नयाँ पर्यटकीय स्थलहरु पहिचानमा ल्याई सबै माझ चिनाउने काम पनि भइरहेको छ।

नेपालमा आउने विदेशी पाहुनाहरुको सुरक्षाका लागि नेपाल सरकारले हरेक पर्यटकीय गन्तव्य स्थलहरुमा पर्यटक प्रहरी खटाएको छ। आफुले पाएको जिम्मेवारी गम्भिरताका साथ पूरा गर्न पर्यटक प्रहरी पनि हरसमय तत्पर रहेको प्रहरी निरीक्षक बस्नेत बताउँछन्।

पर्यटकहरूको सेवा सुविधा सुरक्षा तथा आवश्यक सूचनाहरू उपलव्ध गराउनेदेखि पर्यटकहरूलाई पर्न आएका दु:ख, पिर, मर्का तथा गुनासोहरू सुन्ने र समयमै समाधान गरि उनीहरूको बसाई सुरक्षीतसँगै भय रहित भएको अनुभुती दिलाउने उदेश्यका साथ पर्यटक प्रहरीले २०३५ सालदेखि नै सेवा प्रवाह गरिरहेको प्रहरी निरीक्षक बस्नेतले बताए।

पर्यटकसँग सम्बन्धित हुन सक्ने अपराधिक कृयाकलापको निगरानी गरि आइपरेको अवस्थालाई व्यवस्थीत गर्ने महत्वपूर्ण भूमिका पर्यटक प्रहरीको हुन्छ।

पर्यटकका उजुरी सुन्ने तथा अत्यावश्यक सूचना प्रवाह गर्ने उद्देश्यले पर्यटक प्रहरीले मोवाइल एप पनि सञ्चालनमा ल्याएको छ। यसबाट नेपालमा पर्यटकले के गर्नु हुन्छ र हुँदैन भन्ने सूचना, कानूनी विषयलगायत अत्यावश्यक जानकारी एपबाट सहजै रुपमा लिन सक्छन्। साथै उक्त एपबाट पर्यटकले आफु जुन स्थानमा छ, त्यहीँबाट प्रहरीमा उजुरी समेत गर्न सक्छन्। एपका माध्यमबाट उजुरीको तथ्यांक संकलन तथा त्यसमा भएको कार्यप्रगति पत्ता लगाउन समेत सहयोग पुग्ने निरीक्षक बस्नेतले बताए।

पर्यटकहरुको नेपाल बसाई सहज होस् भनेर काठमाडौंको ठमेलमा महानगरीय पर्यटक सूचना केन्द्र समेत सञ्चालनमा ल्याएको छ। नेपाल सरकारले पर्यटकहरुको सुरक्षाका लागि नेपालभरी २७ वटा स्थानमा पर्यटन प्रहरीको यूनिट राखेको छ। पर्यटकहरुको सेवा सुविधा र सुरक्षामा खटिएका पर्यटक प्रहरीलाई भ्रमण वर्ष सफल पार्न अझै पनि धेरै चुनौतीहरुको सामना गर्नु परेको उनीहरुको भनाई छ।

प्रकाशित: २२ कार्तिक २०७६ ०७:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App