१९ श्रावण २०७७ सोमबार
अर्थ

कञ्चनजंगा बेस–क्याम्प क्षेत्रमा पदयात्रा गर्ने पर्यटक बढे

कञ्चनजंगा पदमार्गमा पदयात्रा गर्दै विदेशी पर्यटक। तस्बिर : गिरिराज/नागरिक

पाँचथर – ताप्लेजुङमा रहेको कञ्चनजंगा बेस–क्याम्प क्षेत्रमा पदयात्रा गर्नेको संख्या पछिल्लो वर्ष बढ्दै गइरहेको छ। आठ हजार पाँच सय ६८ मिटर उचाइमा रहेको नेपालको दोस्रो र विश्वको तेस्रो कञ्चनजंगा हिमालको बेस–क्याम्पको पदयात्रा हुने क्षेत्रभित्र युरोप, अमेरिका, एसियाका विभिन्न देशबाट आएका पर्यटक भरिभराउ हुन थालेका छन्। पछिल्ला वर्ष पदयात्राको सिजनमा विदेशी पर्यटकको संख्या बढ्न थालेको हो।

कञ्चनजंगा हिमालको दुईवटा बेस–क्याम्प ताप्लेजुङमै पर्छ। पाँच हजार एक सय ४० मिटरमा रहेको पाङपेमा उत्तरी बेस–क्याम्प र चार हजार सात सय ८० मिटर उचाइमा रहेको दक्षिणी बेस–क्याम्प जाने पर्यटक बाक्लो गरी आउन थालेका हुन्। स्वदेशी पर्यटक कमै पुग्ने भए पनि विदेशी पर्यटकको संख्यामा बढोत्तरी हुँदै गएको हो।

पर्याप्त पूर्वाधार नभए पनि यहाँको सौन्दर्यताको हिसाबले पनि पर्यटक बढ्ने क्रममा छन्। यो निकै लामो पदयात्रा गर्ने रुट पर्छ। काठमाडौं आएका विदेशी पर्यटक ताप्लेजुङ हुँदै बेस–क्याम्प जानका लागि तीन हप्ताभन्दा बढी खर्चिनु पर्ने हुन्छ। कञ्चनजंगाकै नजिक रहेको कुम्भकर्ण हिमाल, नेपाल पिकलगायत हिमालका कारण विदेशी रमाएको देखिन्छ। भौगोलिक विशिष्टता, दुईवटा बेस–क्याम्प तथा आकर्षक ठाउँ भए पनि यो क्षेत्रको प्रचार प्रसार र विकासमा कमि भएको पाइन्छ। तैपनि पर्यटक आउने क्रम बढ्दै गएको घुन्साका पर्यटन व्यवसायी दावा चुङ्दा शेर्पाले बताए। ‘बर्सेनि थोरै थोरै पर्यटक बढिरहेका छन्। पदयात्रा गर्न आउने पर्यटकले रमाइलो नै मानेको देखिन्छ,’ उनले भने, ‘विदेशमा यो क्षेत्रको प्रचारमा जोड दिनुका साथै पूर्वाधार विकासमा जोड दिनु आवश्यक छ।’ पर्यटक आउने चलन लामै भए पनि संख्या बढ्न थालेको थोरै समय भएको छ।

असोजदेखि मंसिर र फागुन, चैतलाई पदयात्राको सिजन मानिन्छ। सिजनका बेला यस क्षेत्रका होटल भरिभराउ हुने गर्छन्। विदेशी पर्यटक बढी एड्भेन्चर चाहने भएकाले अबको टुरिजम यता हो भनेर हामीले ध्यान दिएका छौं। यहाँको हिमाल, वातावरण र स्थानीय उत्पादनमा विदेशी बढी रुचि राख्ने भएकाले अबको महत्वपूर्ण डेस्टिनेसन कञ्चनजंगा नै हो,’ रोयल माउन्टेन टेक कम्पनीका राजु अधिकारीले भने, ‘अब हाम्रो ध्यान यता गएको छ। पर्यटक अझै धेरै बढ्ने सम्भावन रहेको अनुमान गरेका छौं।’

अधिकारीले भनेझै पदमार्ग क्षेत्रभरी पर्यटक भेटिन्छन्। यहाँका होटल व्यवसायी पनि पर्यटकमैत्री बन्दै गएका छन्। पर्यटकलाई सुविधा र उनीहरुको रुचि अनुरुपको व्यवहार गर्ने गरेको सेकाथुमकी होटल व्यवसायी पेम्बा डोमाले बताइन्। सिजनमा दैनिक विदेशी आउने गरेको उनले सुनाइन्।

कतिपय पर्यटक ताप्लेजुङ सुकेटारदेखि पदायात्र गर्छन्। कोही भने गाडीमा आउने भएकाले रानीपुलदेखि पदयात्रा गर्छन्। सुकेटारमा विमानस्थल भए पनि नियमित उडान भएको पाइँदैन। कञ्चनजंगा पदयात्राका लागि महत्वपूर्ण मानिएको घुन्सामा पर्यटक भरिभराउ भेटिन्छन्। डाँडामा सुस्ताउँदै गरेका र वरिपरि घुम्दै गरेका देखिन्छन्। पूर्वाधार विकास तथा अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्नसके थप पर्यटक आउने आशा स्थानीय पर्यटन व्यवसायीको छ।

यो क्षेत्र कञ्चनजंगा संरक्षण क्षेत्रको रुपमा संरक्षित छ। यहाँ बहुमूल्य जडीबुटी र महत्वपूर्ण जंगली जनावरसमेत पाउने क्षेत्र हो। यो एसियामै पहिलो पल्ट समुदायलाई हस्तान्तरण गरिएको संरक्षण क्षेत्र पनि हो। समितिले पदमार्ग निर्माण तथा अन्य पूर्वाधार निर्माण गरेको पाइन्छ। तर पर्यटकका लागि यो पर्याप्त छैन। जटिल भू–वनोट भए पनि पर्यटक रमाउँदै हिँडिरहेका देखिन्छन्। डब्लुडब्लुएफले यो क्षेत्रमा लामो समयसम्म काम गरेको थियो। अहिले समृद्ध पहाड नामक परियोजनासमेत सञ्चालन भएको छ। स्नोपोल गाड्ने, पदमार्गको मर्मत सम्भार, यहाँका बासिन्दालाई तालिम दिनेलगायत काम गरिरहेको परियोजनाका वरिष्ठ कार्यक्रम संयोजक सुदिप श्रेष्ठले बताए। उनका अनुसार चार–पाँच सयको हाराहारीमा आउने विदेशी बढेर हरेक सिजनमा एक हजारको हाराहारीमा आउन थालेका छन्। ‘स्वदेशी र विदेशी पर्यटक ल्याउन सकिने महत्वपूर्ण गन्तव्य रहेको छ। सरकारी क्षेत्र, निजी क्षेत्र, समुदाय तथा संघसंस्था मिलेर गर्नुपर्ने काम धेरै छन्,’ श्रेष्ठले भने।

पर्यटक उत्तरी बेस–क्याम्पबाट घुन्सा झरेर फेरि दक्षिणी बेस–क्याम्प जान्छन्। हिमाल दक्षिणबाट बढी चढिन्छ। उत्तरतर्फ घुम्ने ठाँउ धेरै छन्। तर विदेशी प्रायः दुवै बेस–क्याम्प पुग्छन्। यो क्षेत्रलाई भर्जिन डेस्टिनेसनका रुपमा लिइन्छ। स्वास्थ्य, सुरक्षा, ठाउँ ठाउँमा अफ्ठ्यारो र घुमाउरो पदमार्ग भए पनि विदेशीको संख्या बढिरहेको छ। ‘चिसो बढेपछि हामी औलतिर झथ्र्यौं। अचेल हिउँ पर्ने समयमा पनि पर्यटक आउने हुँदा यतै बस्छौं,’ घुन्साका होटल व्यवसायी टासी तेन्जिङले भने, ‘बर्सेनि पर्यटक बढिरहेका छन्, आशा जागिरहेको छ। पर्यटक कतिपय खाने कुरा बोकाएर र कतिपय होटलमै खानेगरी आउँछन्।’

धमाधम खुल्दै सुविधासम्पन्न होटल
पर्यटक आगमन बढेसँगै पदमार्ग क्षेत्रमा सुविधासम्पन्न होटल खुल्ने क्रम बढिरहेको छ। लोनाक, खम्बाचेन, घुन्सा, ग्लाब्ला, तोरङदेन, रामजेर, तापेथोकलगायत विभिन्न ठाँउमा सुविधासम्पन्न होटल खुलेका छन्। केही होटल खुल्ने क्रममा छन्। पर्यटकलाई सुविधा दिनेगरी होटल खुलेका छन्। फुपु छुवाङ शेर्पाले ग्याबलामा सात करोड लगानीमा होटल सञ्चालनमा ल्याएका छन्।

पर्यटक बढेसँगै पर्यटकको सुविधालाई मध्यनजर गर्दै होटल खोलिएको उनले सुनाए। ‘अझैं धेरै काम बाँकी छन्। पर्यटकको सुविधालाई ख्याल गर्दै होटल खोलेका छौं,’ उनले भने। भाई दावा शेर्पासँग मिलेर उनीहरुले खम्बाचेन, लोनाकमा समेत होटल बनाइरहेका छन्। दाबाका अनुसार पर्यटकलाई अटाउन तथा सुविधायुक्त होटल बनाइएको हो।

होटल व्यवस्थित तथा सफा बनाइएका छन्। यो क्षेत्रका धेरै होटल पछिल्ला वर्षमा बनेका छन्। घुन्सा सहरजस्तै भएको छ। यहाँ सुविधासम्पन्न सातवटा होटल सञ्चालनमा छन्। चिसोबाट जोगाउन मिल्ने किमिसका होटल छन्। पर्यटकको रुचिअनुसार मेन्यु सिस्टमको विकास गरिएको होटल व्यवसायी बताउँछन्। उनीहरुको रुचिलाई मध्यनजर गर्दै खानेकुराको प्रबन्ध गरिएको घुन्साका होटल सञ्चालक लोकनाथ प्रसाईले बताए। २०४५ देखि शिक्षण पेसामा संलग्न उनी पर्यटकको संख्या बढ्दै गएसँगै होटल व्यवसायमा आर्कषित भएका हुन्।

केही वर्ष ट्रेकिङ गाइडका रुपमा काम गरेका युवा दावा चुङदा शेर्पाले यसै वर्षदेखि ग्याब्लामा होटल थालेका छन्। बाटोमा बस्ने–खाने होटल तथा टी हाउस सञ्चालनको तयारीमा छन्। पदमार्गसँगै रहेका घरहरुलाई होमस्टेको रुपमा विकास गर्न खोजिएको छ। स्थानीय परिकारसँगै आधुनिक परिकारमा पर्यटकको रुचि हुने गरेको छ। दुई वर्षअघि पाण्डा गेस्ट हाउस खोलेकी पेम्बा फुटीका अनुसार यो क्षेत्रमा होटल प्रायः भरिने गरेका छन्। मान्छे तथा खच्चडलाई बोकाएर लैजानुपर्दा होटल निर्माण निकै महंगो हुने गरेको छ। त्यतिमात्र हैन होटलका लागि सामग्री पनि मान्छे र खच्चडलाई बोकाएर लैजाने गरिन्छ।

होटलमा काम गर्ने मान्छे राखिएका छन्। पकाउने तालिम समेत लिएको पाईन्छ। विदेशी र नेपालीकालाई रेट फरक रहेको छ। पर्यटक बढ्दै गएकाले आशापनि बढ्दै गएको लोनाककीहोटल सञ्चालक डिचेन शेर्पाले बताइन्।

प्रकाशित: २२ कार्तिक २०७६ ०९:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App