८ वैशाख २०८१ शनिबार
अर्थ

खानेपानीको काम ९० प्रतिशत पूरा

नुवाकोट – विदुर नगरवासीलाई स्वच्छ पानी खुवाउने लक्ष्यसहित निर्माण भइरहेको विदुर तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम ९० प्रतिशत सकिएको छ। जिल्ला प्रशासन कार्यालयमा विदुर तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको कार्यान्वयनसम्बन्धी सहजीकरण बैठकमा उक्त जानकारी गराइएको हो।

दुई वर्षमा आयोजना सम्पन्न गर्ने गरी ०७३ जेठ १४ मा निर्माण सम्झौता भएको थियो। तोकिएको समयमा काम नसकिएपछि पहिलो पटक ०७६ जेठ १४ सम्मका लागि समय थप गरिएको थियो। उक्त समयमा पनि आयोजना सम्पन्न नभएपछि आउदो माघ १४ सम्मलाई समय थपिएको थियो। दोस्रो पटक समय थपिएको निर्धारित समय सकिन तीन महिना बाँकी छ।

अब तीन महिनामा जसरी पनि काम सम्पन्न गर्न जिल्लास्थित सरोकारवालाले आयोजनालाई निर्देशन दिएका छन्। बेत्रावतीदेख भैसेसम्मको साढे दुई किलोमिटरमा र ढुंगेदेखि गंगटेसम्म पर्ने बजार क्षेत्रमा पाइपलाइन बिछ्याउन स्थानीयबाट अवरोध आइरहेको गुनासो आयोजना पक्षको छ। नुवाकोट क्षेत्र नं २ का संघीय सांसद नारायणप्रसाद खतिवडाले समस्या समाधानका लागि वडा स्तरदेखि संघ सम्मको जनप्रतिनिधिले पहल गर्ने प्रतिवद्धता जनाएका छन्।

यस्तै विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले आयोजना सम्पन्न बनाउन नगरपालिकाले सक्दो सहयोग गरिरहेकाले अन्तिम चरणमा आएर अवरोध भयो भन्नु आयोजनाको बहानाबाजी मात्र भएको बताइन्। आयोजनाको सुरुको लागत ८१ करोड ८२ लाख रुपैयाँ रहेको थियो। आयोजना सम्पन्न गर्न उक्त रकम अपुग हुने भएपछि बजेट थप गरी ८५ करोड ९० लाख रुपैयाँ पु-याइएको छ। अहिलेसम्म वित्तीय प्रगति ८०.९१ प्रतिशत भएको आयोजनाले जनाएको छ। 

आयोजना सम्पन्न भएपछि नगरपालिकाको वडा नं १, २, ४, ५, ६, ८ र ९ का पाँच हजार चार सय २५ घरधुरीका ६० हजार सात सय ५८ जनसंख्याले सहज रुपमा खानेपानी उपभोग गर्न पाउनेछन्। 

फलाखु खोलाको मुहानबाट पानी ल्याएर सञ्चालन गर्न लागिएको उक्त आयोजनामा एसियाली विकास बैंकको ऋण सहयोग रहेको छ। आयोजनाको निर्माण कार्य तुदी कन्स्ट्रक्सनले गरिरहेको छ।

“विदुर खानेपानी तथा उपभभोक्ता सस्था” मार्फत सञ्चालन हुने यो योजनामा दुई पटकसम्म सयम थप भइसकेकोले बाँकी समयमा आयोजना सम्पन्न गर्नुको विकल्प नरहेको अध्यक्ष नारायाणबहादुर खनालले बताए। “गल्छी त्रिशुली मैलुङ स्याफु्रवेसीको सडकको काम पनि सँगै अघि बढिरहेको छ। सडकको संरचनामा बाधा नपुगोस् भनेर पाइप लाइन विच्छाउदा ग्रामीण बाटोलाई प्राथमिकता दिएका छौँ। त्यहि क्रममा केही नागरिकको जमिन र भौतिक संरचनाले निर्माण कार्यमा अवरोध पुगेको हो,” खनालले भने, “जस्तो समस्या आए पनि सामना गर्दै हाम्रो सस्था, आयोजना, निर्माण कम्पनी, सरोकारवाला सबै प्रतिवद्ध छन्। जसरी पनि बाँकी ३ महिनामा काम सम्पन्न गर्न सक्छौँ भन्नेमा प्रतिवद्ध छाैं।”

प्रकाशित: २२ कार्तिक २०७६ ०३:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App