१६ चैत्र २०८० शुक्रबार
अर्थ

मूल्य समायोजनपछि बिक्री बढ्यो

उदयपुर सिमेन्ट उद्योगको मुख्य प्रवेशद्वार। तस्बिर : महेश्वर/नागरिक

उदयपुर – पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेको उत्पादन  गैंडा सिमेन्टको बिक्री ह्वात्तै बढेको छ। निजी लगानीका सिमेन्टको तुलनामा धेरै गुणस्तरीय प्रमाणित गैंडा सिमेन्टको चार दिनअघि मूल्य समायोजन भएसँगै बिक्री बढेको हो।

उद्योग सञ्चालन समिति (बोर्ड) बैठकले गत शुक्रबारदेखि लागू हुनेगरी प्रतिबोरा २५ रुपैयाँ घटाउँदै गैंडाको मूल्य समायोजन गरेको थियो। गत भदौमा १ महिनाका लागि प्रतिबोरा २५ रुपैयाँ बिक्रेतालाई ‘बोनस’बापत दिने निर्णय गरेकै मूल्य समायोजन गर्दा बिक्री बढेको उद्योगको भनाइ छ।

उद्योगका महाप्रबन्धक (जिएम) नवलकिशोर साहले ग्राहकलाई प्रत्यक्ष फाइदा पुगोस् भन्ने उद्देश्यले सोझै २५ रुपैयाँ घटाएर बेच्ने निर्णय गरिएको बताए। उनका अनुसार यसअघि बोनसवापत दिइएको २५ रुपैयाँ बिक्रेतालाई मात्र फाइदा पुगे पनि ग्राहकलाई छुटको महसुसै नभएकाले मूल्य समायोजन गर्दा सोझै घटाइएको साहले बताए। ‘पहिले पनि प्रतिबोरा २५ रुपैयाँ बोनसवापत छुट गरेका थियौं तर, यसले डिलरलाई मात्र फाइदा पुगेछ,’ जिएम साहले भने, ‘त्यो छुटले बिक्रीमा कुनै प्रभाव नदेखिएकाले सोझै ग्राहकलाई फाइदा पुगोस् भनेर मूल्य समायोजन गरिदियौं।’

जिएम साहले मूल्य समायोजनपछि सिमेन्ट बिक्री बढ्न थालेको बताए। शुक्रबारको निर्णय बाहिरिएदेखि नै बक्रिी बढेको र आइतबारयता डेढी हुँदै दोब्बरसम्म बिक्री बढेको छ। सरदर दैनिक पाँच हजार बोरा बिक्री हुने सिमेन्ट मूल्य समायोजनयता १० देखि १२ हजार बोरासम्म बिक्न थालेको उनले बताए। ‘निजी सिमेन्टको गुणस्तर राम्रो नभए पनि सस्तो भएकै कारण गैंडाको बजार प्रभाव परेको महसुस भयो,’ जिएम साहले भने, ‘त्यसैले हामीले पनि बजार प्रतिस्पर्धाकै लागि मूल्य समायोजन गरेका हौं।’

उसिउलिको उत्पादन गैंडा एसियामै गुणस्तरीय कहलिएको सिमेन्ट हो। स्थापनाको २० वर्षको अवधिमा पूर्वी भेगमा एकछत्र र काठमाडौंसम्म ७० प्रतिशत सिमेन्टको खपत क्षेत्र ओगटेको गैंडाको बजार पछिल्लो समय निजी लगानीका सिमेन्टले प्रभाव पार्दै आउनुको मुख्य कारण मूल्य नै भएको भन्ने निश्कर्ष उद्योग व्यवस्थापनले निकालेको छ। अहिलेसम्म पनि गैंडाजस्तो गुणस्तरीय सिमेन्ट नेपाल र भारतमै नभएको तर, कम गुणस्तरीय सिमेन्ट बग्रेल्ती उत्पादन सुरु भएपछि गैंडाको बजार प्रभाव पर्दै गएको नायव महाप्रबन्धक (डिजिएम) धु्रब देवकोटा बताउँछन्।

अहिलेका ग्राहकलाई गुणस्तरभन्दा पनि सस्तो चाहिएको देखेर मूल्य समायोजन गर्नु परेको उनले बताए। यसअघि नौ सय ५० रुपैयाँसम्ममा बिक्री हुने गरेको गैंडाको मूल्य समायोजन अघिसम्म आठ सय तीन रुपैयाँ प्रतिबोरा थियो। समायोजनपछि सात सय ७८ रुपैयाँ कायम भएको छ। वर्षायाम र निजी सिमेन्ट सस्तोमा पाउने हुनाले उसिउलिको लाखौं बोरा सिमेन्ट गोदाममा थन्क्याएर राख्नुभन्दा मूल्य घटाएरै बेच्दा पनि फाइदै हुने देखेर समायोजन गरिएको डिजिएम देवकोटाले बताए।

उद्योगका उत्पादन महाशाखा प्रमुख सञ्जयलाल कर्णका अनुसार दैनिक आठ सय मेट्रिक टन उत्पादन क्षमताको उद्योगले अहिले सरदर सात सय ५० मेट्रिक टन उत्पादन गर्दै आएको छ। असारमा मुख्य यन्त्रको पंगा (एसपी फ्यान) बिग्रदा मर्मत गर्न दुई महिना समय लागेकाले उत्पादन रोकिएको उद्योग मर्मतपछि उत्पादन जारी रहेको कर्णले बताए।

चालु वर्ष ३२ लाख बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य उद्योगले लिएअनुसार काम भइरहेको र इन्जिन÷उपकरणले धोका नदिए सहजै लक्ष्य प्राप्त हुने जिएम साहको विश्वास छ।

प्रकाशित: २२ कार्तिक २०७६ ०२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App