४ वैशाख २०८१ मंगलबार
अर्थ

'अहिलेकै अवस्थामा सरकारको ऋण तिर्न सकिँदैन'

काठमाडौं – नेपाल वायुसेवा निगमले अहिलेकै अवस्थामा सरकारको ऋण तिर्न नसकिने जनाएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै निगमका कार्यकारी अध्यक्ष मदन खरेलले संस्थाको बिग्रँदो साखलाई माथि उठाउन विशेष प्रयत्न जारी रहेको बताउँदै संस्थागत सुधारसँगै नाफामूलक व्यवसायमा सुधार भएपछि मात्रै सरकारको ऋण तिर्न सकिने बताए।

सरकारको ऋण तिर्न निगमलाई वार्षिक दुई अर्ब २७ करोड बचत गर्न आवश्यक रहेको बताउँदै उनले आर्थिक वर्ष ०६७/७७ को पछिल्लो चार महिनाको अवधिमा दुई अर्ब रुपैयाँको हाराहारीमा बचत गर्न सफल भएको बताए। निगमले हाल ३३ करोड रुपैयाँ ऋण घटाएको समेत उनले जानकारी गराए। हालसम्म सरकारको ऋण ४० अर्ब पुगिसकेको छ।

निगमको अहिलेसम्मको उपलब्धी तथा आगामी रणनीतिबारे जानकारी गराउँदै उनले अहिलेकै अवस्थामा बचत गर्न सके सरकारको ऋण चाँडै चुक्ता हुने समेत विश्वास दिलाए।

‘अहिलेको व्यापारले सरकारको ऋण तिर्न सकिँदैन। भावी दिनमा हवाई इन्धनको खर्चमा बचत गर्दै वार्षिक १० करोडभन्दा माथि बचत गर्न सके सरकारी निगमलाई ऋण मुक्त गराउन सकिन्छ,’ उनले भने, ‘हवाई इन्धन बचाउन निगमले ‘फ्लाइट वे’लाई परिवर्तन गरी दूरी कम गराएर वार्षिक १० करोड तथा व्यावसायिक फाइदा हुने गन्तव्यमा उडाउँदा सोचेभन्दा माथि बचत गर्न सकिन्छ।’

अन्तर्राष्ट्रिय उडानमा दिँदै आएको सुविधालगायत क्षेत्रबाट पनि वार्षिक दुई करोडभन्दा बढी बचत गर्ने योजना निगमसँग रहेको उनले बताए।

अन्तर्राष्ट्रिय उडानमा ८१ प्रतिशत र आन्तरिक उडानमा ७९ प्रतिशत सिट रिजर्भ हुने गरेकोे बताउँदै उनले निगमले आगामी एक वर्षमा अप्रेसनबाट १० करोड एक लाख, इन्जिनियरिङबाट ३६ करोड ४३ लाख ५५ हजार, जिएस तथा पिएमडीबाट ५४ करोड ८० लाख, इएमडीबाट ६ करोड ३१ लाख र फाइनान्सबाट १४ करोड २८ लाख उठाउने योजना रहेको बताए। व्यावसायिक सुरक्षाबाट भने निगमले वार्षिक ५८ लाख ५५ हजार आठ सय रुपैयाँ बचत गर्ने प्रक्षेपण गरेको उनको भनाइ रहेको छ।

हाल निगमले संस्थागत तथा व्यावसायिक उडानमा क्रमिक सुधार ल्याएको जनाउँदै आगामी केही समयमा नै नेपाल वायुसेवा निगमले व्यावसायिक छलाङ मार्ने विश्वास व्यक्त गरे।

पहिले एकतर्फी रुपमा हुँदै आएका चार्टर उडान भर्ने निगमले आफ्नो नेतृत्वकालमा भिभिआइपी उडानसमेत गरिसकेकाले त्यसलाई निगमको प्रगतिका रुपमा हेर्नुेपर्ने उनको धारणा छ । निगमले नारिता उडानबाट नयाँ अनुभवसहितको व्यावसायिक उडान थालनी गरेको जनाउँदै अहिले पूर्ण समय जहाजको निगरानी हुँदै आएको उनले बताए।

हाल विमानस्थलमा ग्राउन्डेड अवस्थामा रहेका जहाजलाई पूर्ण क्षमतामा उडाउने तयारी भइरहेको जनाउँदै उनले आन्तरिक तथा बाह्य उडानमा प्रयोग गरिने जहाजलाई चाँडै मर्मत गरी उडानमा ल्याउने निगमको लक्ष्य रहेका उनको भनाइ छ।

आगमी मार्चदेखि जापानको नारिता, साउदीको रियाद र चीनको गोन्जाओ उडानको तयारी भईरहेको जनाउदै उनले उक्त गन्तव्यको तयारी जोडतोडले भईरहेको खरेलले बताए।

विमानस्थलमा हाल दुई वटा सर्भिस बस सञ्चालनमा रहेको जनाउदै उनले उक्त संख्या बढाउन निगमको टोली जर्मन गएको समेत उनको भनाई छ। अव जहाज उडाउने पाइलटको कमि हुन नदिने भन्दै उनले विदेशमा हुदै आएका केहि तालिमको व्यवस्था पनि स्वदेश भित्रै हुने जानकारी गराए। त्यस्तै आन्तरिक तर्फ अनलाईनबाट टिकट काट्ने व्यवस्थालाई पनि प्रभावकारी बनाईने उनको धारणा रहको छ। त्यसको लागि मोबाइल एप चाँडै सञ्चालनमा ल्याउन लागेको उनले बताए।

प्रकाशित: २१ कार्तिक २०७६ ०२:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App