२४ जेष्ठ २०७७ शनिबार
अर्थ

मुख्य बजारमै बिकेन तयारी चिया

इलामकाे साखेजुङमा उत्पादित तयारी ग्रिन टी। तस्बिरः भीम/नागरिक

इलाम – कहिले गुणस्तर र कहिले निर्यातप्रक्रियामा अवरोध झेलिरहेको नेपाली तयारी चियाको मुख्य बजार भारतमा यो वर्षको व्यापार अत्यास लाग्दोगरी घटेको छ। कुल तयारी उत्पादनको ९० प्रतिशतभन्दा बढी व्यापार भारतीय बजारमै निर्भर नेपाली तयारी चिया त्यहाँ ‘कौडीको भाउ’मा बिक्री हुन थालेपछि किसान–उद्योगी निरास छन्।

यो वर्ष पूर्वी नेपालका चिया प्रशोधन उद्योगमा भारतीय व्यापारी चिया खरिदका लागि आएनन्। उनीहरू चिया किन्न नआएकामात्र होइन, कोही भारतीय व्यापारीले नेपाली चिया खरिदका लागि सम्पर्कसमेत नगरेको उद्योगीले जनाएका छन्। विगतका वर्षभन्दा ५० प्रतिशतभन्दा बढीले भारतीय बजार खस्किएको र बिक्री भएको चियाको पनि लगानी उठ्नेगरी मूल्य नै नपाएको उद्योगीको गुनासो छ।

गुणस्तरीय चिया उत्पादन गर्ने सीमित ठूला–साना उद्योगको पहुँच तेस्रो मुलुकका व्यापारीसँग रहेकाले उनीहरूलाई चिया बिक्रीमा समस्या छैन। तर, भारतीय बजारमै निर्भर धेरै उद्योगलाई यो वर्ष तयारी चिया नबिक्दा चिन्तित बनाएको छ। उनीहरूले तेस्रो मुलुकसम्म चिया व्यापारको पहुँच बनाउन र त्यहाँका व्यापारीले खोजेजति परिमाण नसक्दा हण्डर खानुपरेको छ।

इलाम, झापा, पाँचथर, धनकुटालगायत चिया उत्पादन हुने पूर्वी जिल्लाबाट आन्तरिक खपत र तेस्रो मुलुक जाने करिब १० प्रतिशतबाहेक सबै तयारी चिया भारतमै बिक्री हुन्थ्यो। उच्च गुणस्तरको अर्गानिक चिया उत्पादन गर्ने उद्योगले पनि अलि कम गुणस्तरको सबै चिया भारतै निर्यात गर्दैथिए। भारतीय व्यापारीले पनि नेपाली चिया मिसाएर भारतकै ब्रान्डमा बिक्री गर्दै आएका थिए। तर, यो वर्ष भारतीय बजारमा नेपाली चियाले स्थान नपाएपछि उद्योगी हच्किएका हुन्।

बर्सेनि ठूलो परिमाणको चिया उत्पादन गर्ने इलाम र झापाका सात सरकारी बगानको ९५ प्रतिशतभन्दा बढी उत्पादनको बजार भारत नै हो। सातै सरकारी बगान लिजमा लिएको त्रिवेणी सांघाई समूहले यो वर्ष उत्पादनको ५० प्रतिशत पनि चिया निर्यात हुन नसकेको जनाएको छ। समूहका अध्यक्ष सुवास सांघाईले भारतीय बजारमा यो वर्ष चिया बेच्नै समस्या भएको बताए। ‘अहिलेसम्म पोहोरको तुलनामा ५० प्रतिशत पनि चिया बिकेको छैन,’ उनले भने, ‘बिकेको चियाले पनि पोहोरभन्दा आधामात्रै मूल्य पाएको छ।’

सूर्याेदय नगरपालिकामा रहेका करिब पाँच दर्जन चिया प्रशोधन कारखानालाई यो वर्ष भारतमा चिया बेच्न धौधौ छ। गत वर्षसम्म भारतमा तीन सयदेखि आठ सय रुपैयाँ प्रतिकिलोसम्म मूल्य पाएको नेपाली तयारी चिया यो वर्ष प्रतिकिलो एक सय ६० देखि साढे तीन सय रुपैयाँमा झरेको व्यवसायी बताउँछन्। ‘नेपाली चियाको सबैभन्दा ठूलो बजार रहेको भारतमा यो वर्ष हामी नेपाली चिया उत्पादक नै निरास हुनेगरी व्यापार घटेको छ,’ सूर्याेदय टी एसोसिएसनका सचिव गोपाल कट्टेलले भने, ‘भारतीय व्यापारीले यो वर्ष नेपाली चिया त हेर्दा पनि हेरेनन्, उनीहरूको आँखा परेको चिया कौडीको भाउमा मात्रै गयो।’ एसोसिएसनमा नगरका ५२ उद्योग आबद्ध छन्।

सूर्याेदय नगरपालिकाबाट मात्रै बर्सेनि करिब ५० लाख किलो तयारी चिया भारत निर्यात हुने गरेको एसोसिएसनले जनाएको छ। ‘यही अवस्था रहने हो भने नेपाली चियाले भारतीय बजारको विकल्प खोज्न बाध्य हुनुपर्छ,’ कट्टेलले भने, ‘तेस्रो मुलुकका व्यापारीले खोजेजस्तो गुणस्तर र परिमाण पु¥याउन किसान र साना उद्योगीको मात्रै प्रयासले सम्भव छैन।’

हरियोपत्ती उत्पादनमै बढी लगानी हुने भएकाले किसानले पत्तीको मूल्य राम्रो पाउन सकेका छैनन्। भारतमै चिया बिक्री नभएपछि उद्योगी चाहिँ लगानी नउठ्ने चिन्तामा छन्। सूर्याेदय नगरपालिकामा गतवर्ष गरिएको अध्ययनले एक किलो हरियो चियापत्ती उत्पादन गर्न किसानको ३७ रुपैयाँ ३१ पैसा खर्च हुने देखाएको थियो। मल, सिँचाइ, कटिङ, टिपाइ, औषधि, गोडमेल, लगानीको ब्याज, पारिश्रमिकलगायत सबै जोड्दा एक किलो हरियो चिया उत्पादन गर्न यो लगानी भइरहेकाले यहाँ हरियो चियाको न्यूनतम समर्थन मूल्य प्रतिकिलो ४० रुपैयाँ तोकिएको छ। तर, तोकिएको मूल्य दिन नसक्ने जनाउँदै उद्योगीले गरेको आन्दोलनका कारण मुख्य सिजनमै नगरका चिया प्रशोधन कारखाना बन्दसमेत भएका थिए।

पाँचथरको कञ्चनजंघा टी स्टेटका प्रबन्धक निरानन्द आचार्य यो वर्ष भारतमा चिया बिक्री शून्यझैं भएको बताउँछन्। ‘हुन त हाम्रो उत्पादनको करिब ६० प्रतिशत तेस्रो मुलुक, ३५ प्रतिशत आन्तरिक खपत र पाँच प्रतिशतमात्रै भारतीय बजारमा जान्छ,’ उनले भने, ‘तर, भारतमा हुने व्यापार यो वर्ष हुन सकेन।’ उनले भारतीय व्यापारीले नेपाली चिया किन्न नचाहेको, किनिहाले पनि कहिले ६ महिना र एक वर्षपछिमात्रै भुक्तानी दिन थालेको सुनाए। ‘अब त चिया किनेको वर्ष दिनपछि तेरो चिया यस्तो र उस्तो भनेर बहाना पो गर्न थाले,’ उनले भारतीय व्यापारीले नेपाली चियाप्रति गरिरहेको व्यवहार सुनाए, ‘अब भारतीय व्यापारी नेपाली चिया नकिन्ने सुरमा पुगेका हुन सक्छन्।’

भारतीय चिया विकास बोर्डले नेपाली चिया आयात प्रतिस्थापन गर्नेखालको नीति ल्याएको चिया उद्योगी उदय चापागाईं बताउँछन्। ‘भारतीय चिया बोर्डले अक्सनलगायत अन्य व्यवस्थापनका नाममा नेपाली चियाको भारत निर्यातमा कडाइ गरेको देखिन्छ,’ उनले भने, ‘भारतीय केही मिडियाले नेपाली चियाबारे गलत हल्ला चलाउनुको असर देखिएको हुनसक्छ।’

तेस्रो मुलुकका व्यापारीले भने दार्जिलिङको भन्दा नेपाली चियाको गुणस्तर राम्रो रहेको प्रतिक्रिया दिएको उद्योगी चापागाईंले सुनाए। ‘जर्मनीका ११ चिया व्यापारी यही १० देखि २१ अक्टोबरसम्म इलामका कारखानामा घुम्न आए,’ उनले भने, ‘उनीहरूले गत वर्षभन्दा चार सय प्रतिशतसम्म तयारी चियाको माग बढाएका छन्।’ तर, उनीहरूले खरिद गर्ने तयारी चिया अन्तर्राष्ट्रियस्तरमा मान्यताप्राप्त संस्थाबाट अर्गानिक प्रमाणीकरण भएको हुनुपर्ने मापदण्ड हुन्छ।

नेपालबाट बर्सेनि करिब तीन अर्बको तयारी चिया भारतलगायत अन्य मुलुकमा निर्यात हुनेगरेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार १४ जिल्लाका नौ हजार दुई सय ३६ किसान चियाको व्यावसायिक उत्पादन गर्छन्।

प्रकाशित: १८ कार्तिक २०७६ ०९:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App