९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

गोदावरी फूलको माग थेग्दै काभ्रेका नर्सरी

होरिजन नर्सरीमा फुलेको गोदावरी फूलसँगै सञ्चालक वीरेन्द्र श्रेष्ठ। तस्बिर : नागरिक

बनेपा – अरू बेला खासै माग नहुने गोदावरी फूलको माग तिहारताका ह्वात्तै बढ्ने गर्छ। यही भएर काभ्रेका पुष्प किसान र नर्सरी सञ्चालकको ध्याउन्न कट्फ्लावरभन्दा पनि गोदावरी फूललाई कसरी तिहारमै फुलाउने भन्नेमा केन्द्रित रहँदै आएको छ।

पुष्प खेती व्यावसायिक बन्दै गएको काभ्रे जिल्लाका अधिकांश पुष्प नर्सरी सञ्चालक यतिखेर गोदावरी फूलको स्याहारसुसारमा तल्लीन छन्। ‘मेरो १५ वर्ष लामो अनुभवले अधिकांश गोदावरी फुल्ने समय भनेको नोभेम्बर १० तारिख नै हो। तर, जलवायु परिवर्तनलगायत कारणले पनि पछिल्ला वर्ष गोदावरी समयअगावै फुल्ने गरेको छ,’ फ्लोरिकल्चर एसोसियसन अफ नेपाल (फ्यान) काभ्रेका अध्यक्ष एवं होरिजन नर्सरी धुलिखेलका सञ्चालक बिरेन्द्र श्रेष्ठले भने, ‘तिहारको तिथिमिति कुनै वर्ष अगाडि आउने र कुनै वर्ष पछाडि पर्ने हुँदा रोप्ने र फुलाउने मिति मिलाउनमा धेरै विचार गर्नुपर्छ,’ उनले सुनाए।

प्रकाश र तापक्रमले गोदावरी फुलाउने काममा प्रभाव पार्ने भएकाले धेरै सोचविचार गर्नुपर्ने उनको भनाइ छ। ‘अन्य फूलको तुलनामा गोदावरी फूल फुलाउन धेरै मिहेनत गर्नुपर्ने हुन्छ। तैपनि ६ वर्षदेखि ठ्याक्कै तिहारमै गोदावरी फुलाउन सकेका छौं। यसपटक भाउ पनि राम्रो पाइरहेका छौं,’ श्रेष्ठले थपे। अर्का कृषक रूद्रबहादुर खड्का पनि बनेपा–१० स्थित आरएनए फ्लोरा फार्ममा ढकमक्क फुलेका गोदावरी फूललाई काठमाडौं लैजानमै व्यस्त हुन थालेका छन्। उनको फार्मसँगै शोभा फ्लोरा फार्मका सञ्चालक सुरेशकुमार बस्नेत पनि अरू कट्फ्लावरलाई थाँती राख्दै गोदावरी फूल नै लैजानमा व्यस्त देखिएका छन्।

काभ्रेको हावापानीमा फुलेका गोदावरी फूललाई व्यापारीले औधी मन पराउने खड्काको भनाइ छ। ‘हरेक दिन यहाँबाट संकलन भएको गोदावरी फूल काठमाडौंको बजारमा पठाइरहेका छौं। मंगलबारमात्रै डेढ सय बन्च (मुठा) पठाएँ। यसपटक दुई हजार बन्च तयार हुने अनुमान छ,’ उनले भने, ‘फूल हेरेर एउटा बन्चको डेढ सयदेखि दुई रुपैयाँसम्म दिन्छौं भनेर व्यापारीले खबर गरेका छन्। यो सिजनमा गोदावरीले तीन लाख रूपैंया आम्दानी हुनेमा आशावादी छु,’ खड्काले थपे।

यस्तै, शोभा फ्लोरा फार्मले पनि यसपटक एक हजार बन्च गोदावरी फूल बेच्ने योजना बनाएको छ। ‘अरू कट्फ्लावरबाट आम्दानी भइरहेकै थियो। यसपटक गोदावरी फूलबाट राम्रो आम्दानी हुनेमा ढुक्क छौं। कम्तीमा डेढदेखि दुई लाख रूपैंयासम्म आम्दानी हुन्छ होला,’ बस्नेतले भने।

फ्यान काभ्रेका अनुसार ३० भन्दा बढी कृषकले १० हेक्टरभन्दा बढी क्षेत्रफलमा साना र ठूलो स्केलमा  पुष्पखेती गर्दै आएका छन्। यति हुँदाहुँँदै पनि गोदावरी फूलको राम्रो बीउको अभावले सबै कृषक र नर्सरीले यसको खेती गरेका छैनन्। ‘विगतमा मैले तीनदेखि चार हजार बन्च गोदावरी फूल बेच्ने गरेकामा गोदावरीको बीउ मासिएकाले यस पटक खासै फूल रोप्न सकेको छैन। बीउका लागि केही बोट जोगाइरहेको छु। यसैबाट उत्पादन हुने बीउले आगामी वर्षमा गोदावरीको व्यापक फूल उत्पादन गर्ने योजनामा छु,’ युनिक फ्लोरा फार्मका सञ्चालक भोजराज तिमल्सिनाले भने।

काभ्रे जिल्लामा हाल खेती भइरहेको सेतो गोदावरी चीनबाट र पहेँलो जापानबाट भित्रिएको नर्सरी सञ्चालकको भनाइ छ। ‘हामीले यी दुवैखाले गोदावरीको बीउ संरक्षण गर्दै यहीँ बढाउन सकेका हुँदा बीउका लागि ती देशमा भर पर्नु परेको छैन। एकातिर बीउ किन्न विदेशिने पैसा जोगिएको छ भने यहाँकै हावापानीमा तयार बीउबाट राम्रो फूल फल्न थालेको पनि पाँच वर्षभन्दा बढी अवधि भइसकेको छ,’ फ्यानका अध्यक्ष श्रेष्ठले भने।

उपत्यकानजिकै र हावापानी सुहाउँदो भएकाले काभ्रे जिल्लामा पुष्प खेती फस्टाउँदो अवस्थामा रहेको छ। कृषि ज्ञान केन्द्र, धुलिखेलका अनुसार बनेपा नगरपालिकाको उग्रतारा जनागाल, थापागाउँ, महेन्द्रज्योति बाँसडोल, नासिकास्थान साँगा, धुलिखेल नगरपालिकाको श्रीखण्डपुर, २८ किलो, बखुण्डोल, बतासेमा व्यावसायिक रुपमै पुष्प खेती हुँदै आएको छ। पछिल्लो समय पाँचखाल नगरपालिका, रोशी गाउँपालिकाको कटुन्जेवेंशी र भुम्लु गाउँपालिकाको दोलालघाटमा पनि खेती विस्तार हुँदै गएको छ। प्रत्यक्ष र अप्रत्यक्ष गरी तीन सयभन्दा बढीलाई रोजगारी दिएको पुष्प खेतीमा ७० प्रतिशतभन्दा बढी महिलाको बाहुल्य रहेको छ।

काठमाडौं उपत्यकाको कटफ्लावर जातका ग्लेडुलस, गुलाब, कार्नेसन, जर्बेरा, अर्किडजस्ता फूलको मागको २५ प्रतिशत काभ्रेले धान्दै आएको श्रेष्ठको भनाइ छ। ‘पछिल्लो सयम जिल्लाबाट सयपत्री, गोदावरी, मखमली, जिप्सोफिला र लिली फूलसमेत जान थालेको छ। जिल्लाको समग्र पुष्प खेतीमा १५ करोड रुपैयाँको लगानी रहेको छ। फूलकै कारोबारबाट जिल्लामा वर्षेनी अढाईदेखि तीन  करोड रुपैयाँसम्म भित्रने गरेको छ,’ उनले थपे।

प्रकाशित: १० कार्तिक २०७६ ०३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App