८ वैशाख २०८१ शनिबार
अर्थ

गाउँपालिकाले जलविद्युतमा लगानी गर्ने

जलविद्युत् आयोजनामा सेयर सम्बन्धी सम्झौता गर्दै ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौला र जलविद्युत् आयोजनाका शम्भु घिमिरेलगायत। तस्बिर : नागरिक

खोटाङ – खोटाङको ऐसेलुखर्क गाउँपालिकाले तल्लो मध्य रावाखोला जलविद्युत् आयोजनामा सेयर लगानी गर्ने भएको छ। गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न लागिएको चार मेगावाट क्षमताको जलविद्युत् आयोजनाका लागि गाउँपालिकाले १० प्रतिशत अर्थात दुई करोड ५० लाख सेयर लगानी गर्ने सम्झौता गरेको हो।

आइतबार गाउँपालिकाको कार्यालयमा गाउँपालिका अध्यक्ष विश्वनाथ निरौला र तल्लो मध्य रावाखोला जलविद्युत् उत्पादन प्रालिका शम्भु घिमिरेबीच सेयर लगानीसम्बन्धी लिखित सम्झौता भएको छ।

ऐसेलुखर्क गाउँपालिका–१ राखाबादेलमा निर्माणस्थल रहने जलविद्युत् आयोजनाको काम २०७९ असार मसान्तसम्ममा पूरा हुने जनाइएको छ। आयोजनाको सर्भे, सम्भाव्यता अध्ययन, बायोइन्जिनियरिङलगायत काम सम्पन्न भइसकेको छ। तल्लो मध्य रावाखोला जलविद्युत् उत्पादन प्रालिले सेयर लगानी गरेर अपनत्व ग्रहण गर्नका लागि आग्रह गरेकाले गाउँपालिकाले क्रमागत सेयर लगानी गरेको अध्यक्ष निरौलाले बताए।

यस्तै, ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीस्थित देम्लीटार र बावियोखर्कमा पेल्ट्रीसेट जडान गरेर विद्युत् उत्पादनका लागि गैरआवासीय नेपालीले सहयोग गर्ने भएको छ। स्थानीय खोलाबाट पाँच किलोवाट क्षमताको विद्युत् उत्पादनका लागि गैरआवासीय नेपालीले मेसिन खरिदमा ५० प्रतिशत र तार खरिदमा शतप्रतिशत सहयोग गर्ने सम्झौता भएको गाउँपालिका अध्यक्ष निरौलाले बताए। पेल्ट्रीसेटबाट उत्पादित विद्युत्ले देम्लीटार र बावियोखर्कका ७० घर स्थानीय लाभान्वित हुने गाउँपालिकाले जनाएको छ।

प्रकाशित: ५ कार्तिक २०७६ ०१:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App