८ वैशाख २०८१ शनिबार
अर्थ

अढाइ महिनामै लक्ष्यको आधा बजार अनुगमन

काठमाडौं – सरकारी निकाय र अधिकारीहरु विकास, निर्माणको जिम्मेवारीमा असफल हुने गरे पनि बजार अनुगमनमा भने आश्चर्यजनक प्रगति गरेको विवरण सार्वजनिक भएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष सुरु भएको साढे दुई महिनामै वार्षिक लक्ष्यको आधाभन्दा बढी बजार अनुगमन गरिसकेको विवरण दिएको हो।

विभागले चालु आर्थिक वर्षमा एक हजार फर्मको अनुगमन गर्ने लक्ष्य राखेकामा साढे दुई महिनामै लक्ष्यको आधाभन्दा बढीसम्पन्न गरिसकेकोमहानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए।

बढी कारोबार हुने चाडपर्वका बेलामात्रै अनुगमन केन्द्रित गर्नुलाई कतिपयले व्यवसायीसँग बार्गेनिङकोे रुपमा लिने गरेका छन्। अनुगमनका लागि छुट्ट्याएको बजेटको अधिकांश हिस्सा भत्तामा खर्च हुने गरेकाले उक्त बजेट सिध्याउन आर्थिक वर्ष सुरु भएको दुई–तीन महिनामै वार्षिक लक्ष्य अनुसारको अनुगमन सक्ने तर्क गर्नेहरु पनि छन्। सरकारले हरेक वर्ष अनुगमन गरी कारबाही गरेको भनेर प्रचार गर्ने गरे पनि ठगी, कालोबजारी, मिसावट, गुणस्तरहीन वस्तुको कारोबार जस्ता अनुचित व्यावसायिक गतिविधि दिनदिनै बढ्दै गएको वस्तुस्थितिले सरकारी अनुगमन नाममात्रैको हुने गरेको देखाउँछ।

चालु आर्थिक वर्षको असोज १८ सम्ममाविभागले पाँच सय ६२ फर्मको अनुगमन गरेको जनाएको छ। यसमा एक सय ६३ अनुगमन चाडपर्व लक्षित छन्। अनुगमनका क्रममा दुई सय २२ फर्म कारवाहीमा परेको र३७ लाख ५५ हजार जरिवाना गरिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए।

अनुगमनका क्रममा ४६ फर्मको कारोबार रोक्का गरिएको र दुई फर्म अनुसन्धान प्रक्रियामै रहेको महानिर्देशक गौचनले बताए। अनुगमनका क्रममा विभागले एक सय १५ फर्मलाई स्पष्टीकरण सोधेको छ। अनुगमनका क्रममा सुधार गर्न आवश्यक देखिएका एक सय ९९ फर्मलाई सचेत गराएको उनले बताए। विभागले गुणस्तरमा शंका लागेका विभिन्न १० फर्मबाट नमूना लिई परीक्षणका लागि पठाएको बताएको छ।

विभागले दसैंको समयमा उपत्यकाबाहिर पृथ्वी राजमार्गका होटलमा अनुगमन गरेको जनाएको छ। तर राजमार्गका होटलमा मनपरी मूल्य लिने परिपाटी यथावत रहेको भुक्तभोगी यात्रु बताउँछन्। गुणस्तर र मूल्यमा बढी गुनासो आउने गरे पनि विभागको अनुगमन गरेका २१ होटलमध्ये १२ मा व्यवसाय दर्ता र बिलबिजक नभएको मात्र फेला पारेको महानिर्देशक गौचनले बताए। होटललाई १० हजारदेखि ५० हजारसम्म जरिवाना गरिएको र यसबाट चार लाख २५ हजार राजस्व असुलिएको उनले जानकारी दिए।

उपभोक्ता बारम्बार मूल्य र गुणस्तरमा ठगिने गरेपनि विभागको अनुगमन मूल्यसूची र दर्ता तथा नवीकरणभए, नभएको हेर्नेमै सीमित रहेको पाइएको छ।‘हामीले विभिन्न कारणले मूल्य विश्लेषण गर्न सकिरहेका छैनौं, जसले गर्दा मूल्यकै अनुगमन गर्न नसकिएको हो,’ महानिर्देशक गौचनले भने, ‘विगतमा गुणस्तर तथा नापतौल र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रतिनिधि पनि अनुगमनमासँगै जाने हुनाले गुणस्तर जाँच हुने गरे पनि यसपटक उहाँहरु नगएकाले त्यासे हुन सकेन।’

विभागको अनुगमन टोलीले सामान्य मिति गुज्रिएका खाद्यवस्तुको हकमा जफत गरी नष्ट गरेको गौचनले बताए। उनले भने, ‘कतिपय कुरा प्राविधिक हुने तर हाम्रोमा प्राविधिक जनशक्ति नहुँदा सोचे अनुसारको काम हुन सकेको छैन।’

फेरि पर्वलक्षित अनुगमन
विभागले असोज १८ यता रोकेको पर्वलक्षित अनुगमनलाई निरन्तरता दिएको छ। विभागको टोलीले बुधवार सुनधाराका नौ विभिन्न इलेक्ट्रोनिक पसलमा अनुगमन गरेको छ। जसमा आठ पसलले मूल्यसूची नराखेको पाइएकोले ५० हजारका दरले चार लाख जरिवाना गरिएको विभागले जनाएको छ।

विभाग मातहतका कार्यालयहरुले पनि अनुगमनलाई तीव्रता दिएका छन्। विराटनगर कार्यालयका कार्यालय प्रमुख हिमालय बरालले चालु आर्थिक वर्षको अन्तिम समयमा अनुगमन नभए पनि दसैंको समयमा १२ फर्ममा जिल्लास्थित अन्य सरोकारवाला निकायसँगको समन्वयमा अनुगमन गरिएको बताए।

उनले अनुगमन गरिए पनि ६ फर्मलाई सामान्य स्पष्टीकरणसोधिएको जानकारी दिए। विभागका वीरगन्ज शाखा अधिकृत ओमनारायण शर्माले कार्यालयले चालु आर्थिक वर्षका तीन महिनामा ८५ फर्ममा अनुगमन गरिएकोमा ६ लाई कारवाही गरी तीन लाख ५५ हजार जरिवाना गरिएको बताए।

भैरहवा कार्यालयले चालु आर्थिक वर्षमा तीन सय तीन फर्ममा अनुगमन गरेको शाखा अधिकृत रुद्रप्रसाद ज्ञवालीले जानकारी दिए उक्त कार्यालयले बिलबिजक प्रयोग नगर्ने २० फर्मलाई कारवाहीगरी एक लाख ७५ हजार जरिवाना गरेको ज्ञवालीले जानकारी दिए। विभागको नेपालगन्ज कार्यालयले साउनयता एक सय ६४ फर्ममा अनुगमन गरेको र एउटालाई ५० हजार जरिवाना गरेको शाखा अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी दिए।

धनगढी कार्यालयले एक सय ५० फर्ममा अनुगमन गरेको शाखा अधिकृत कमलबहादुर पुन मगरले बताए। अनुगमनका क्रममा व्यवसायीलाई पहिलोपटक सचेत गराएर छाडेको र गल्ती दोहो-याए अन्य कारवाही गर्ने उनले बताए।

प्रकाशित: ३० आश्विन २०७६ ०४:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App