१६ चैत्र २०८० शुक्रबार
अर्थ

दसैं तिहारले पर्यटकीयस्थलमा चहलपहल

खोटाङस्थित धिप्लुङ झरनामा रमाउँदै किशोरी। तस्बिर : मनिषा समाल मगरको फेसबुक

खोटाङ – दसैं र तिहारको मौका पारेर खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका वडा सदस्य घनश्याम राई आफन्तसहित पर्यटकीयस्थल ट्याम्केडाँडा पुगे। उनले लामो समयदेखि खोटाङ र भोजपुरको सीमामा रहेको ट्याम्केडाँडा घुम्ने रहर यसपल्ट दसैं तिहारको फुर्सदको समयमा पूरा गरेका हुन्। चखेवामा बास बसेर ट्याम्के हुँदै भोजपुरसम्म घुमफिर गरेर फर्किएको राईले बताए।

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी उपमेयर विणादेवी राई गत बिहीबार आफन्तसहित धार्मिक तथा पर्यटकीयस्थल भुलभुले देउधाम पुगिन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित भुलभुले देउधाममा दसैं सुरु भएयता घुमफिर गर्ने आन्तरिक पर्यटकको भीड लागेको पाइएको उपमेयर राईले बताइन्।

दसैं र तिहारको अवसरमा जिल्लाका अधिकांश धार्मिक तथा पर्यटकीयस्थलमा दैनिकजसो आन्तरिक तथा वाह्य पर्यटकको भीड लाग्न थालेको छ। दसैं र तिहारमा मिलेको फुर्सदको समयलाई सदुपयोग गर्दै स्थानीय घुमफिर गर्न पर्यटकीयस्थलमा पुग्ने गरेका हुन्। दसैं तिहारका कारण त्रि–धार्मिकस्थल हलेसी, किरात समुदायको ऐतिहासिकस्थल तुवाचुङ, रुपाकोट, दिक्तेलको मझुवागढी, भुलभुले देउधाम, बराहपोखरी, धिप्लुङ झरनालगायत धार्मिक तथा पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको भीड लागेको हो।

धार्मिक तथा पर्यटकीयस्थलमा भ्रमण, घुमफिर एवं दर्शन गर्न जानेमा अधिकांश सहरमा बसेर चाडपर्व मनाउन गाउँ आउने बढी छन्। घुमफिर गर्न निस्कनेमा जिल्लामै बसेर विभिन्न पेसा र व्यवसायमा व्यस्त रहने स्थानीय पनि उत्तिकै देखिएका छन्। हिजोआज मौसम सफा भएकाले चर्चामा रहेका पर्यटकीय क्षेत्र बाहेक सामान्य डाँडा र थुम्कामा समेत घुमफिर गर्ने र रमाइलो गर्ने ‘ट्रेन्ड’ बढेको छ। ‘बिदा मिल्यो वा फुर्सद भयो’ भने ‘रिफ्रेस’ हुन र थकान मेटाउनका लागि अधिकांशले पर्यटकीयस्थल घुमफिरको बाहना बनाउन थालेका छन्। ‘दसैं तिहारका कारण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबैजसो पर्यटकीयस्थलमा आन्तरिक पर्यटक घुमफिर गर्न आएको देखिन्छ,’ उपमेयर राईले भनिन्, ‘यसले जिल्लाको आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पु-याउन सघाउ पु-याइरहेको छ। पर्यटकीयस्थलमा देखिएको भीडले म उत्साहित भएकी छु।’

दसैं तिहारको आगमनसँगै त्रि–धार्मिकस्थल हलेसीमा दैनिकजसो आन्तरिक तथा वाह्य पर्यटकको भीड लागिरहेको छ। दसैं तिहारको समयमा लामो फुर्सद मिल्ने भएकाले र मौसम अनुकूल भएकाले हलेसीमा पर्यटक तथा दर्शनार्थीको चहलपहल बाक्लिएको हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेलले बताए। ‘दसैं तिहारको समय भनेको फुर्सदिलो समय पनि हो। मौसम पनि सफा छ,’ कार्यकारी निर्देशक भुजेलले भने, ‘गाउँ घर आएको बेलामा घुमफिर गरौं भन्नेहरु यो बेला हलेसीमा देखिन्छन्। यही मौकामा सहरवासीसमेत हलेसीमा आइरहेको देखिएको छ।’

दसैं तिहारको कारण बराहपोखरी गाउँपालिकामा रहेको बराहपोखरी, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा रहेको धिप्लुङ झरना, हलेसी तुवाचुङ नगरपालिकामा रहेको तुवाचुङ लगायतका ठाउँमा पनि दैनिकजसो आन्तरिक पर्यटक पुग्ने गरेका छन्। सडक, बाटो लगायतका आवश्यक पूर्वाधार निर्माणसँगै गत वर्षदेखि धिप्लुङ झरनामा पर्यटक घुमफिर गर्न पुग्न थालेको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए। ‘गत वर्षदेखि धिप्लुङ झरनामा आन्तरिक पर्यटक बढि मात्रामा पुग्न थालेका हुन्,’ अध्यक्ष राईले भने, ‘यस वर्षको दसैंको आसपासमा जिल्लाबाहेक छिमेकी जिल्लाबाट समेत घुमफिर गर्न आएको पाइएको छ।’

प्रकाशित: ३० आश्विन २०७६ ०३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App