coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पश्चिम सेती र माथिल्लो कर्णाली आफैं बनाउन सरकारसँग नेकपाको माग

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सुदूरपश्चिम प्रदेश कमिटीले पश्चिम सेती र माथिल्लो कर्णाली जलविद्युत परियोजना आफैं बनाउन सरकासँग माग गरेको छ। 

प्रदेश कमिटी इन्चार्ज भीम रावल र स्थायी कमिटी सदस्य लेखराज भट्टको उपस्थितीमा बसेको प्रदेश कमिटीको दोस्रो बैठकले स्पष्ट नीति बनाएर दुइटै आयोजना नेपाल आफैंले बनाउनुपर्ने निर्णय गरेको हो। 

निर्णयको ५ नम्बर बुँदामा भनिएको छ, ‘धेरै लामो समयदेखि चर्चामा रहेर विभिन्न संस्थाले निर्माण गर्ने समेत भनिएको पश्चिम सेती जलविद्युत आयोजनाको भविष्य अनिश्चित देखिएकोले सो परियोजनालाई स्पष्ट नीतिका साथ निर्माण गर्ने कार्ययोजनाबारे निर्णय गर्न बैठक माग गर्दछ।’ 

बैठकले भारतीय कम्पनी जीएमआरसँगको सम्झौता नवीकरण नगरेर माथिल्लो कर्णाली सरकार आफैंले बनाउनुपर्ने माग समेत गरेको छ। 

माथिल्लो कर्णाली जलविद्युत आयोजना लामो समयदेखि निर्माण गरिने चर्चा हुँदै जीएमआर कम्पनी संलग्न भएको ११ वर्ष तथा त्यस कम्पनीसँग आयोजना विकास सम्झौता भएको पाँच वर्ष भइसक्दा पनि निर्माण कार्य अघि नबढेकोमा बैठकले चिन्ता समेत प्रकट गरेको छ। 

‘आयोजना विकास सम्झौता अनुसार एक वर्षभित्र उक्त कम्पनीले वित्तीय व्यवस्थापन गरिसक्नु पर्नेमा हालसम्म त्यो काम गरिएको छैन। सम्झौताको प्रावधान अनुसार जीएमआर कम्पनीसँगको उक्त सम्झौता स्वतः भंग हुनुपर्ने हो’, निर्णयमा भनिएको छ, ‘अतः सम्झौतको प्रावधान विपरित वित्तीय व्यवस्थापनको म्याद पुनः नथपी नेपाल सरकार स्वयं माथिल्लो कर्णाली आयोजना अगाडि बढाओस्।’

बैठकले दार्चुलाको टिंकर तथा बझाङ्गको उरै नाकाबाट चीनसँगको यातायात सम्पर्कलाई खोल्नको लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न पनि माग गरेको छ।

बैठकमा प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापा, प्रदेश कमिटीका सह इन्चार्ज खगराज भट्ट, भानुभक्त जोशी र लक्ष्मणदत्त जोशी लगायतले आ आफ्नो धारणा राखेका थिए। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App