७ वैशाख २०८१ शुक्रबार
अर्थ

एकाध भरिभराउ, अधिकांश सुनसान

पोखराको मूल पर्यटकीय क्षेत्र लेकसाइड। लेकसाइडका सबैजसो अग्ला घरमा होटल चलाइन्छ। मुख्य सिजन भए पनि यो पटक होटलमा पाहुना अभाव रहेको व्यवसायीले बताएका छन्। तस्बिर : उमेश पुन/नागरिक

पोखरा – ६८ कोठाको टेम्पल ट्रि रिसोर्ट अक्टोबर महिनाका लागि करिब ९५ प्रतिशत ‘बुकिङ’ छ। रिसोर्टको यतिखेर हरेक दिनको अकुपेन्सी ९५ प्रतिशत हाराहारीमा चलिरहेको छ। पर्यटनको मुख्य सिजन चलिरहँदा टेम्पल ट्रिलाई पाहुनाको खासै अभाव छैन। यही रिसोर्टको नोभेम्बर महिनाको अग्रिम बुकिङ पनि ७० प्रतिशत हाराहारीमा पुगिसकेको छ। नोभेम्बर लागिसक्दा बुकिङ बढेर ९५ प्रतिशत हाराहारीमा चल्ने अनुमान छ।

–पोखराको चल्तीको अर्काे बाराही होटलको यतिबेलाको अकुपेन्सी ६५ प्रतिशत मात्र छ। अघिल्ला वर्षमा यो सिजनमा बाराहीको अकुपेन्सी करिब ९० प्रतिशत हाराहारी चल्थ्यो। तर, अहिले कम अकुपेन्सीमा होटल सञ्चालित छ। बाराहीको नोभेम्बरको अग्रिम बुकिङ ५५ प्रतिशत हाराहारीमा मात्र छ। नोभेम्बरको बुकिङ बढेर ६५ प्रतिशत हाराहारीमा पुग्ने अनुमान व्यवसायीको छ।

–लेकसाइडकै अर्काे ठूलो होटल ल्याण्डमार्कको अवस्था निकै कमजोर छ। एक सय एक कोठाको ल्याण्डमार्कको यतिबेलाको अकुपेन्सी २० प्रतिशत हाराहारीमा मात्र छ। नोभेम्बरको बुकिङ पनि २० प्रतिशत हाराहारीमा रहेको सञ्चालकको भनाइ छ। पाहुना अभावमा होटल चलाउनै हम्मेहम्मे हुन थालेको गुनासो व्यवसायीको रहेको छ।

मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा सञ्चालित होटलको अवस्था हो यो। ‘अक्टोबर–नोभेम्बर’को मुख्य सिजन चलिरहँदा यहाँका केही होटलले पर्याप्त पाहुना पाए पनि अधिकांश होटलको अवस्था कमजोर रहेको व्यवसायीले बताएका छन्। चल्तिका केही होटलको अवस्था बलियो देखिए पनि अरु होटलले भने सिजनमा पनि पर्याप्त पाहुना पाएका छैनन्। ‘हामीलाई खासै पाहुना अभाव होइन। हामी यो सिजनमा सँधै यही आकारको अकुपेन्सीमा चल्दै आएका थियौं,’ टेम्पल ट्रीका म्यानेजर कृष्ण आचार्यले भने, ‘तर, हामीले मात्र पाहुना पाएर पोखरामा पर्याप्त छन् भन्न मिल्दैन। यो सिजनमा सबै होटललाई पाहुना हुनुपर्ने हो, तर, अवस्था त्यस्तो छैन। साना आकारका होटललाई निकै कठिनाइ छ।’

चल्तिका केही होटलको अवस्था बलियो देखिए पनि अरु होटलले भने सिजनमा पनि पर्याप्त पाहुना पाएका छैनन्।

आचार्यका अनुसार पोखराका केही ठूला भनिएका होटलले केही समयअघि यो बेलाका लागि ‘विशेष प्याकेज’ सार्वजनिक गरेका थिए। यो बेला विदेशी पाहुना पर्याप्त नभएकैले ती होटलले विशेष छुटसहितको प्याकेज निकालेको हुनसक्ने उनको अनुमान छ। ‘यो बेला हामीले ‘फुल रेट’ मा कोठा बेच्न सक्नुपर्ने हो। तर, अवस्था त्यस्तो छैन,’ आचार्यले भने, ‘यो बेला पाहुना पर्याप्त हुनुपर्ने हो। एकाध होटललाई पर्याप्त पाहुना छन्। तर, अधिकांशलाई पाहुनाको अभाव छ।’

होटल बाराहीका महाप्रबन्धक राजकुमार केसी पनि यो सिजन अघिल्ला वर्ष जस्तो उत्साहजनक हुन नसकेको बताउँछन्। ‘उत्साजनक अकुपेन्सी र बुकिङ यो पटक आउनै सकेन,’ केसीले भने, ‘पाहुना नआएका पनि होइनन्, तर, आएको जस्तो अनुभव पनि गर्न सकिने अवस्था छैन।’ उनका अनुसार अघिल्ला वर्ष यो सिजन निकै उत्साहजनक रुपमा चल्ने गरेको थियो। तर, यो पटक भने धेरैलाई निराश बनाउने अवस्था रहेको उनले बताए।

‘हामीले मुख्य सिजनमा यस्तो होला भनेर सोचेका पनि थिएनौं। सिजनको सुखद पर्खाइ थियो,’ केसीले भने, ‘तर, यो पटकको सिजनले व्यवसायीमा उत्साह जगाउन सकेको छैन।’ होटलको संख्या अधिक बढेकाले पनि पाहुना बाँडिदा अभाव भएको हुनसक्ने उनले बताए। ‘पोखरा आसपासमै नयाँ र ठूला आकारका होटल थपिएका छन्। त्यसले गर्दा पनि पाहुना छरिएका छन्। त्यसबाहेक मझौला आकारका होटलको अवस्था झनै कमजोर रहेको उनले बताए। ‘मझौला आकारका होटललाई त अहिले सञ्चालन गर्नै कठिन छ। चाँडबाँडका कारण केही आन्तरिक पाहुना पाए पनि पर्याप्त विदेशी पाएर फूल अकुपेन्सीमा सञ्चालन गर्ने अवस्था छैन,’ उनले भने, ‘यो सिजनमा फुल अकुपेन्सीमा सञ्चालन गर्ने होटल पाउनै मुस्किल छ। पहिला पहिला अधिक होटल सतप्रतिशत अकुपेन्सीमा सञ्चालन हुन्थे।’

ल्याण्डमार्कका सञ्चालक ओमप्रकाश पाण्डेले त निकै नै निराशाजनक अवस्था अहिलेको सिजनमा देखिएको बताए। हालै मात्र क्षमता बढाइएको ल्याण्डमार्कले निकै कम आकारमा पाहुना पाएको पाण्डेले बताए। ‘हामीले केही महिनाअघि नै होटलको क्षमता विस्तार गरेर पूर्ण आकारमा सञ्चालनमा ल्याइसकेका थियौं। पूरै नयाँ होटल पनि होइन,’ पाण्डेले भने, ‘तर, अवस्था निराशाजनक छ। यो आकारको अकुपेन्सीबाट व्यवसायी सन्तुष्ट हुनै सक्दैनन्।’ अहिलेको अवस्था रहिरहे पर्यटन क्षेत्र कमजोर अवस्थामा झर्ने उनले बताए। ‘मुख्य सिजनको त यो हालत छ भने अरुबेला के हुने भन्ने चिन्ता छ। पाहुना अभावले धेरै व्यवसायीलाई पिरोलेको छ,’ उनले भने। 

पोखरा पर्यटन परिषद् (पिटिसी)का महासचिव दिल गौतमले कनेक्टिभिटीका कारण पर्यटक नेपाल आउनबाट हच्केको बताउँछन्। ‘अन्तर्राष्ट्रिय कनेक्टिभिटी त कमजोर छ नै आन्तरिक आउजाउ पनि बलियो हुन सकेको छैन। आन्तरिक हिडडुलको अवस्था खस्कँदो छ,’ गौतम भन्छन्, ‘आउजाउ सहज नभए पनि पर्यटक यात्रामा हिँड्न डराउँछन्।’ उनका अनुसार पछिल्लो समय आन्तरिक कनेक्टिभिटी झनै कमजोर बन्दै गएको छ। नेपालभित्र आन्तरिक आउजाउ सहज नभएको भन्ने सन्देश विदेशी पाहुना माझ फैलिएको छ, त्यसले सिजनका बेला पनि नेपाल आउनबाट विदेशी पछाडि हटेको हुनसक्ने उनले बताए। ‘हाम्रा लागि पर्यटनको सिजन हो। तर, पर्यटकले सहज पहुँच पाएनन भने यात्रा त्याग्न सक्छन्,’ उनले भने।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन यो सिजनमा सीमित होटलले बाहेक अरुले पर्याप्त पाहुना नपाएको बताउँछन्। ‘कतिपयमा पर्याप्त पाहुना छन्। अधिक होटल पाहुना अभावमा तड्पिएका छन्,’ तुलाचनले भने, ‘सिजन भए पनि विदेशी पाहुना कमै आएका हुन्। आएका पाहुना पनि बाँडिएकाले यो अवस्था आएको हुनसक्छ।’ व्यवसायीले यतिखेरको समयलाई पिक सिजन माने पनि यो पटक सिजनको अनुभव गर्न नसकेको उनले बताए। ‘कतै भरिभराउ त कतै सुनसानको अवस्था छ। आन्तरिक पाहुनाका कारण केहीदिनका लागि चहलपहल देखिएको हो,’ उनले भने, ‘तर, वास्तविकता फरक छ।’ तुलाचनका अुसार यतिबेला पोखराका होटलको अकुपेन्सी यतिबेला ८० प्रतिशत हाराहारीमा हुनपर्नेमा ४० प्रतिशतमा सीमित हुनु परेको उनले बताए। ‘व्यवसायीलाई नै निराश बनाउने सिजन यो बेला आइपरेको छ,’ उनले भने, ‘यसले व्यवसायीलाई खिन्न बनाएको छ। व्यवसाय धान्नै मुस्किल हुन थालेको छ।’

अध्यक्ष तुलाचनका अनुसार पोखराका केही ठूला आकारका होटलले केही दिनअघि स्पेसल प्याकेज निकालेर आन्तरिक पाहुनाका लागि विशेष छुटको अफर सार्वजनिक गरेका थिए। मुख्य सिजनका बेला पनि आन्तरिक पाहुनालाई लक्षित गर्दैे छुट सहितको अफर ल्याउनुमा विदेशी पाहुनाको अभाव भएको भन्न सकिने उनले बताए। ‘यो बेला छुटको अफर ल्याउने समय नै होइन,’ उनले भने, ‘पर्याप्त विदेशी आउँथे भने यस्ता अफर कसैले निकाल्ने थिएनन्। तर, विदेशी पाहुना अभाव भएकैले सस्तोमा आन्तरिक पाहुनालाई तान्ने गरी डिस्काउन्ट अफर ल्याएका हुन्। व्यवसायीका लागि यो बाध्यता पनि हो।’

प्रकाशित: २९ आश्विन २०७६ ०२:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App