७ वैशाख २०८१ शुक्रबार
अर्थ

दसैंको यात्रामा टिकटको सास्ती

गोंगबुस्थित बसपार्ककम बिहीबार बिहान टिकट लिन पुगेको सर्वसाधारण। तस्बिरः प्रेम/नागरिक

काठमाडौं – बिहीबार बिहान ४ बजे गंगबु बसपार्क पुग्दा यात्रु टिकटको खोजीमा लाइन लागेका थिए। बाहिरसम्मै पुगेको लाइनमा केही यात्रु राति १ बजे आएर बसेको सुनाउँदैै थिए। यात्रु थपिँदै थिए, लाइन लम्बिदै थियो। एउटा लाइन लामो भएपछि फरकफरक लाइन बन्दै गए। लाइनमा अधिकांश सुदूरपश्चिमका गन्तव्यमा जानेहरू थिए।
बिहान ६ बजेपछि काउन्टरमा कर्मचारी आए, तर टिकट बाँड्न सुरु भएन। यात्रुले ‘टिकट बाँडेको खोइ ?,’ भनेर जवाफ खोजे। उताबाट सम्बन्धित व्यक्ति नआइसकेको जवाफ आयो।

गाइँगुइँ हल्ला चल्यो– महेन्द्रनगर, धनगढीतिरका गाडी नै छैनन् रे, त्यसैले कर्मचारी नै गायब भए। एक छिनमा भित्रबाट माइकिङ भयो, ‘महेनद्रनगर र धनगढी जाने गाडी नभएका कारण यात्रु महानुभाव लाइनमा नबसिदिनुहोला।’

यात्रु रुनु न हाँस्नु भए। रातिदेखी भीडभाडमा उभिनु, त्यसमाथि टिकट र गाडी कै टुंगो छैन। केहीले आक्रोश देखाए, केहीले विकल्प खोजे। ‘गाडी नभएका कारण यात्रुको बिचल्ली भयो,’ यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले फोनमा जवाफ फर्काए, ‘सुदूरपश्चिम जाने यात्रु एक्कासि बढे, हामीलाई व्यवस्थापन गर्न गाह्रो भयो। हामी सबैतिरको मिलाएर व्यवस्था गर्दैछौं।’

सायद उनले व्यवस्था गरे, आठ बजे टिकट बाँड्न सुरु भयो। त्यति बेलासम्म बाजुराका प्रेम सिंहले अत्तरियाको टिकट नपाउने देखेर सुर्खेतको लिइसकेका थिए। उनले थकित मुद्रामा भने, ‘कोहलपुरसम्म जानुपर्यो, त्यहाँबाट उता जाने केही व्यवस्था होला।’ अर्को समूह महेन्द्रनगरको यात्रा दाङको गाडी चढेर गर्दै थियो। उभिएका धेरैको भागमा बिहीबार साँझसम्मको टिकट प¥यो। केहीको भागमा ‘दिउँसोतिर सम्पर्क गर्नू, गाडि व्यवस्था हुँदैछ’ भन्ने जवाफ प¥यो। नेपालगन्ज, बुटवल र आसपासका पहाडी जिल्लामा क्याबिनमा बस्ने ठाउँ पनि नभएको सन्देश काउन्टरका कर्मचारीले दिइरहेका थिए।

यति धेरै गाडी छन् किन यात्रुले सिट नपाएका ? काठमाडौं भैरहवा चल्ने लु२ख ४५५ का चालक भन्दै थिए, ‘थप गाडी आएका छैनन्। नम्बरका गाडीले मात्र कति थेग्नु !’ उनले थपे, ‘उताबाट आउँदा रित्तै हुन्छ। फर्कंदा उठ्ने पैसाले मुस्किलले आउजाउको खर्च धान्छ।’ उनले पालो परेरमात्र यता आएको, अब उतै रिजर्भमा चल्ने बताए। ‘रिजर्भमा तोकेको पैसा उठ्छ दुरी पनि नजिकनजिक हुन्छ,’ उनले हिसाब लगाए, ‘भोलि चितवनको रिजर्भ छ, ४० हजार कमाइन्छ, आधा त बच्ला नि !,’

पश्चिमबाट आएका गाडीहरू कलंकी आसपासबाटै तोकिएभन्दा धेरै भाडा लिएर फर्कने गरेको यात्रुको गुनासो थियो। उनीहरूको गाडी धनीप्रति सहानुभूति पनि थियो।

‘सात सय किलोमिटर रित्तै आएर एकतर्फी भाडामा के चलाउन सक्थे,’ एकजना यात्रुले भने। बरु उनी सरकारसँग आक्रोशित थिए। ‘यस्तो अवस्थाका यात्रु जति पनि भाडा दिन तयार छन्।
भाडा नबढाउने नाममा सास्ती दिने ?,’ उनीहरूले भने, ‘हरेक चिजमा मूल्य बढेकै छ, सहेकै छौं, कम्तीमा दसैंको बेलामा भाडा
बढाएरै भए पनि भनेजति गाडीको बन्दोबस्त मिलाउनुपर्ने नि !’

प्रकाशित: १७ आश्विन २०७६ ०३:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App