coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

९८ हजार पुराना मिटर अब स्मार्ट बन्ने

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रका ९८ हजार ग्राहकका पुराना मिटर विस्थापित गरेर नयाँ अत्याधुनिक खालका स्मार्ट मिटर जडान गर्ने भएको छ। प्राधिकरणले पुराना मिटरबाट हुने विद्युत् चुहावट र चोरी  नियन्त्रण गर्न स्मार्ट मिटर जडान गर्न लागेको हो।

प्राधिकरणले स्मार्ट मिटर प्रणाली काठमाडौं उपत्यकामा नमुना परियोजनाअन्तर्गत रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रका ९८ हजार ग्राहकलाई वितरण गर्नेछ। प्राधिकरणले यो कामका लागि पिङ्गाओ विस्डम जेभीलाई गत मार्चमा ८२ करोड रुपैयाँमा ठेक्का दिएको छ। काठमाडौं उपत्यका स्मार्ट मिटरिङ आयोजनाका प्रमुख रोशन न्यौपानेले पुराना मिटरबाट विद्युत् चुहावट र चोरी बढेकाले नियन्त्रण गर्न स्मार्ट मिटर राख्न लागिएको बताए।

‘स्मार्ट मिटर जडान गरेसँगै प्राधिकरणको कन्ट्रोल रूमबाट रेडियो फ्रिक्वेन्सीमार्फत ग्राहकको लोड, बिलिङलगायत सम्पूर्ण कुरा अनुगमन गर्न सकिन्छ,’ उनले भने, ‘स्मार्ट मिटर प्रणाली लागू गरेसँगै एकातर्फ ग्राहकको घर–घरमा पुगेर मिटर रिङिङ गर्ने प्रवृत्ति अन्त्य हुनेछ भने अर्काेतर्फ विद्युत् चोरी र चुहावट नियन्त्रण गर्न सकिन्छ।’ स्मार्ट मिटर एडभान्स मिटरिङ इन्फ्रास्ट्रक्चर प्रविधिमा आधारित हुनेछ, जुन अटोमेटिक ढंगले सञ्चालन गर्न सकिनेछ।

ठेकेदार कम्पनीले अहिले महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रका ग्राहकको घरघरमा पुगेर सर्भे गरिरहेको छ। उनले भने, ‘दसैंलगत्तै प्राधिकरणले ठेकेदार कम्पनीलाई डाटा सेन्टर उपलब्ध गराएसँगै पुराना मिटर विस्थापित गर्ने अभियान सुरु हुनेछ।’ आयोजनाका अनुसार ठेकेदार कम्पनीले १५/२० वटा टोली बनाएर सर्भे गरिरहेको छ।

प्राधिकरणले पुराना मिटरबाट हुने विद्युत् चुहावट र चोरी  नियन्त्रण गर्न स्मार्ट मिटर जडान गर्न लागेको हो।

आयोजना प्रमुख न्यौपानेले पुरानो मिटरलाई स्मार्ट मिटर गराउन प्रतिमिटर करिब २७ अमेरिकी डलर (हालको बजार मूल्यअनुसार करिब तीन हजार रुपैयाँ) लाग्नेछ। आयोजना प्रमुख न्यौपानेले स्मार्ट मिटर फेर्दा लाग्ने लागत कसले बेहोर्ने भन्ने कुरा टुंगो लाग्न बाँकी रहेको बताए। ‘अहिलेसम्म स्मार्ट मिटर फेर्दा लाग्ने लागत प्राधिकरण वा ग्राहक कसले तिर्ने अझैसम्म टुंगो लागेको छैन,’ उनले भने, ‘अबको केही समयभित्रै प्राधिकरणले टुंगो लगाउनेछ।’

प्राधिकरणमा मिटर रिडर गर्ने चार हजारभन्दा धेरै कर्मचारी छन्। स्मार्ट मिटर जडान गरेसँगै मिटर रिडरको आवश्यकता पर्दैन। ‘ग्राहकले कुन समयमा कति बिजुली खपत गरेको छ, कति चुहावट भएको छ भन्ने कुरा सहजै थाहा पाउन सकिन्छ,’ उनले भने, ‘स्मार्ट मिटर जडान गरेसँगै घरघरमा पुगेर मिटर रिडिङ गर्नुपर्ने आवश्यकता पनि पर्दैन।’

प्राधिकरणले दोस्रो चरणमा रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रबाहेकका उपत्यकामा रहेका नौवटा वितरण केन्द्रमा स्मार्ट मिटर जडान गर्ने आयोजना अघि सारेको छ। ‘अहिले दोस्रो चरणको स्मार्ट मिटर जडानका लागि बोलपत्रलगायत कागजात तयार पार्ने काम भइरहेको छ,’ उनले भने, ‘पहिलो चरणको काम सकिनेबित्तिकै दोस्रो चरणको सुरु हुन्छ।’

तेस्रो चरणमा प्रदेश मातहतका केही जिल्लामा गरिनेछ। प्राधिकरणले पछिल्लो समय देशभर रहेका थ्री फेज मिटर तथा टिओडी मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्ने कार्य द्रुत गतिमा अगाडि बढाउँदै आइरहेको छ। ग्राहकले विद्युत् महसुल बुझाउन कार्यालयमै जानुपर्ने अवस्था अन्त्य गर्न अनलाइन पेमेन्ट सुरु गरिएको प्राधिकरणले जनायो।

प्रकाशित: १७ आश्विन २०७६ ०१:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App