१५ चैत्र २०८० बिहीबार
अर्थ

लगानी आकर्षित गर्न छुटैछुट

बुटवल – रुपन्देहीको तिलोत्तमा बिहीबार हुने लगानी सम्मेलनको तयारी पूरा भएको छ। उत्पादनमूलक क्षेत्रमा आन्तरिक तथा बाह्य लगानी भित्र्याएर रोजगारी सिर्जना गर्ने उद्देश्यले आयोजना गर्न असोज ९ गते गर्न लागिएको सम्मेलनको तयारी पूरा भएको नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए। काठमाडौं बाहिर स्थानीय तहले गर्न लागेको यो पहिलो लगानी सम्मेलन हो।

सम्मेलन तिलोत्तमामा रहेको पाँचतारे होटल टाइगर प्यालेसमा हुने छ। सम्मेलनमा स्वदेशीसँगै भारत, चीन, बंगलादेश, कोरियाका लगानीकर्ता सहभागी हुने आयोजकले जानकारी दिएको छ। विदेशी र विदेशी लगानीकर्तासहित पाँच सयभन्दा बढीको सहभागी हुने नगरप्रमुख घिमिरेले बताए।

सम्मेलनमार्फत ५० अर्ब रुपैयाँभन्दा बढीको लगानी भित्र्याउने लक्ष्य आयोजक तिलोत्तमा नगरपालिकाले लिएको छ। त्यसका लागि शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यटन र फोहरमैला प्रशोधनसँग सम्बन्धित महत्वपूर्ण परियोजना छनोट गरिएको छ । एकीकृत कृषि उपज प्रशोधन तथा संकलन केन्द्र, एकीकृत दूध संकलन तथा प्रशोधन केन्द्र, फोहरमैला प्रशोधन केन्द्र, सिटी कलेज, बाल तथा महिला अस्पताल, एकीकृत पर्यटकीय स्थल निर्माण, स्मार्ट हाटबजार, स्मार्ट पार्किङ स्थल, अटो–भिलेज, रिङरोड रेल, सौर्य ऊर्जा, स्मार्ट बाल उद्यान, प्रादेशिक बसपार्कलगायत परियोजनामा लगानीकर्ताले लगानी गर्न सक्नेछन्। सम्मेलनका क्रममा २२ वटा परियोजनामा लगानी गर्नका लागि विभिन्न पक्षसँग सम्झौता हुने नगरपालिकाले जनाएको छ।

यी परियोजनामा लगानी आकर्षित गर्न विभिन्न शीर्षकमा कर छुट तथा सहुलियतको व्यवस्था गरिएको छ। नगर प्रमुख घिमिरेका अनुसार लगानी सम्मेलनमा सम्झौता हुने परियोजनाका लागि छुट, सहुलियत तथा जग्गा प्राप्तिमा सहुलियत प्रदान गरिने छ। उनका अनुसार अत्यावश्यक परियोजना कार्यान्वयनका लागि नगरपालिकाले लिजमा जग्गा उपलब्ध गराउने छ। जग्गा अभावको समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले लिजमा जग्गा उपलब्ध गराएर परियोजना अघि बढाउन अनुमति  दिने व्यवस्था गर्न लागिएको उनले बताए।

ठूला परियोजनालाई सडकको पहुँचमा पु-याउन नगरपालिकाले नै बाटो बनाइदिने छ। न्यूनतम ५० जनालाई रोजगारी उपलब्ध गराउने परियोजनालाई स्थापनाको पाँच वर्षसम्म व्यावसायिक करमा ५० प्रतिशत छुट दिइने छ। कम्तीमा तीन सयलाई रोजगारी दिने परियोजनालाई स्थापनाको १० वर्षसम्म व्यावसायिक करमा ७५ प्रतिशत र तीन सयभन्दा माथि पाँच सय जनालाई रोजगारी दिने परियोजनालाई १२ वर्षसम्म व्यावसायिक करमा ९० प्रतिशत छुटको व्यवस्था छ। पाँच सय जनाभन्दा माथि रोजगारी दिने परियोजनालाई १५ वर्षसम्म व्यावसायिक करमा शतप्रतिशत छुटको व्यवस्था छ। ५० देखि तीन सय जनालाई रोजगारी दिने परियोजनालाई ५० प्रतिशत नक्सा पास दस्तुरमा छुट दिने नीति लिएको नगर प्रमुख घिमिरेले जानकारी दिए।

कृषिमा आधारित दुग्ध उद्योग, मत्स्यपालन, माछाभुरा उत्पादन, प्रशोधन एवं प्याकेजिङ, कोल्ड स्टोरेज आदिलाई परियोजना स्थापनाको सात वर्षसम्म नगरपालिकाले लिने व्यावसायिक कर र नक्सा पास दस्तुरमा ५० प्रतिशत छुट छ। एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रलाई परियोजना स्थापनाको सात वर्षसम्म नगरपालिकाले लिने व्यावसायिक करमा लाग्ने रकम तथा नक्सा पास दस्तुरमा ६० प्रतिशत छुट दिइने छ। पर्यटन तथा मनोरञ्जनसँग सम्बन्धित होटल तथा परियोजनालाई स्थापनाको पाँच वर्षसम्म व्यावसायिक कर र नक्सा पास दस्तुरमा ५० प्रतिशत छुट दिइने छ।

न्यूनतम ५० जनालाई रोजगारी दिने परियोजनाले पाँच वर्षसम्म सम्पत्ति करमा शतप्रतिशत छुट पाउने छन्। छुट सहुलियतसँगै परियोजनाका लागि जग्गा खरिद तथा विद्युत् व्यवस्थापनमा समेत नगरपालिकाले सहजीकरण गरिदिने रणनीति बनाइएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए। सम्मेलनको बिहीबार नेकपाका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको प्रवक्ता श्रीले जानकारी दिए।

प्रकाशित: ८ आश्विन २०७६ ०२:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App