८ वैशाख २०८१ शनिबार
अर्थ

साढे १३ अर्बको सम्झौता

निर्माणपछि देखिने नागढुंगा सुरुङमार्गकाे स्केच।

काठमाडौं – काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोलासम्म २.७ किलोमिटर सुरुङ बनाउन १३ अर्ब ५० करोड रुपैयाँमा सम्झौता भएको छ।

सोमबार सडक विभाग र जापानी ठेकेदार कम्पनी हाज्मा–आन्द्रो जेभीबीच नागढुंगा सुरुङमार्गमा सम्झौता भएको हो। सम्झौता अनुसार जापानी कम्पनीले अबको ४३ महिनामा (एक महिना मेसिन खरिदको तयारीसहित) नागढुंगा सुरुङ मार्गको निर्माण कार्य सम्पन्न गर्नेछ।

सुरुङ निर्माणका लागि ठेकेदार कम्पनीसँगको सम्झौतामा हस्ताक्षर गरेका सडक विभाग, विकास सहयोग कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले नागढुंगा–सिस्नेखोलामा दुईवटा सुरुङ निर्माण हुने बताए। ‘२.७ किलोमिटरमध्ये ठूलो सुरुङको चौडाइ नौ मिटर र सानोको चार मिटर हुनेछ,’ उनले भने।

थापाका अनुसार ठूलो सुरुङमार्गमा नियमित रूपमा यातायातका साधान चल्नेछन् भने सानो सुरुङमा एम्बुलेन्स र आपतकालीन रूपमा अन्य सवारी साधन चल्नेछन्।  नेपालका सडकमा नागढुंगा–सिस्नेखोला खण्डमा नै पहिलोपटक सुरुङमार्ग निर्माण हुन थालेको हो। 

सिँचाइतर्फ भने केही महिनाअघि भेरी–बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माणको काम सम्पन्न भएको छ। भेरी नदीको पानीलाई बबईमा मिसाएर बर्दिया र बाँकेको ५१ हजार खेतीयोग्य जमिनमा सिँचाइ पु-याउने तथा ४८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको उक्त आयोजनामा खनिएको सुरुङको तुलनामा नागढुंगा सुरुङ मार्गको लागत निकै बढी देखिएको छ।

भेरी–बबईको सुरुङ खन्न प्रतिकिलोमिटर एक अर्ब रुपैयाँभन्दा कम खर्च भएको थियो। नागढुंगा सुरुङ खन्न निकै बढी रकममा सम्झौता भएपछि कतिपयले आर्थिक चलखेलको आरोप लगाएका छन्। ‘भेरी–बबईमा सुरुङ खन्न लागेको रकम पनि वास्तविकभन्दा बढी नै हो,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीले भने, ‘यति धेरै किन खर्च भनेर प्रश्न गर्दा सबैले सुरुङमार्गमा अनुभव छैन भन्छन्। अहिले भएको सम्झौता अनुसारको रकम हेर्दा निकै बढी जस्तो लाग्छ।’ 

विभागले आह्वान गरेको बोलपत्रमा छानिएको जापानीजसहित चीनका अन्य पाँच ठेकेदार कम्पनीले पनि प्रतिस्पर्धा गरेका थिए।

भेरी–बबईमा सुरुङको लम्बाइ १२.२ किलोमिटर र चौडाइ ४.६ मिटर छ। उक्त सुरुङ खन्न १० अर्ब ५६ करोड रुपैयाँ खर्च भएको थियो। उक्त सुरुङ खन्न पहिलोपटक टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरिएको थियो।

थापाका अनुसार नागढुंगा सुरुङमार्ग र त्यससँगै सोही सडकमा निर्माण हुने दुई फ्लाइओभर नेपालकै लागि नयाँ हुनेछन्। ठेकेदार कम्पनीसँग भएको सम्झौतामा सानो र ठूलो सुरुङमार्गको निर्माणबाहेक काठमाडौंतर्फ साढे दुई किलोमिटर र धादिङतर्फ पाँच सय मिटर सडक निर्माण गर्ने उल्लेख छ।

त्यस्तै बलम्बु र थानकोटमा एक–एक वटा फ्लाइओभर सम्झौता अनुसारको बजेटबाटै निर्माण हुनेछ। थापाले सुरुङमार्ग निर्माणका लागि आह्वान गरिएको बोलपत्रमा सबभन्दा कम प्रस्ताव गर्ने जापानी कम्पनीलाई छनोट गरिएको बताए। विभागले आह्वान गरेको बोलपत्रमा छानिएको जापानीसहित चीनका अन्य पाँच ठेकेदार कम्पनीले पनि प्रतिस्पर्धा गरेका थिए।

नागढुंगा सुरुङमार्ग निर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १६ अर्ब रुपैयाँ ऋण उपलब्ध गराएको छ। सोही ऋणबाट सुरुङमार्ग निर्माण गर्न थालिएको हो। ४० वर्षमा तिर्ने गरी लिइने ऋणको वार्षिक ब्याजदर ०.०१ प्रतिशत हुने सहमति छ। सुरुङमार्ग निर्मणका लागि छनोटमा परेको जापानी कम्पनीले यसअघि नेपालमा गरेको विकासका आयोजनाको रेकर्ड राम्रो रहेको विभागले जनाएको छ।

कोटेश्वर–भक्तपुर सडक, बिपी राजमार्ग, उदयपुर सिमेन्ट तथा भूकम्पको बेला गोरखाको बारपाकमा पाँचवटा पुल निर्माण नागढुंगा सुरुङमार्ग निर्माण गर्न सम्झौता गरेको जापानी कम्पनीले बनाएको हो। नागढुंगामा सुरुङमार्ग निर्माणपछि काठमाडौं भित्रिने र बाहिरिने यात्रुलाई सहज हुनाको साथै चक्काजाम हुने समस्या अन्त्य हुने अपेक्षा गरिएको  छ।

बाहिरी चक्रपथमा चिनियाँ कम्पनी
यसैबीच, सरकारले काठमाडौं उपत्यका बाहिरी चक्रपथ परियोजनासम्बन्धी काम अघि बढाउन चिनियाँ कम्युनिकेसन पूर्वाधार कम्पनीलाई संक्षिप्त सूचीमा समावेश गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको लगानी बोर्डको ४० औं बैठकले सार्वजनिक निजी साझेदारीमा विकास गर्नका लागि आशयपत्र पेस गर्ने कम्पनीहरूमध्ये तोकिएको मापदण्ड पूरा गरी योग्य देखिएको सोही कम्पनीलाई सूचीमा समावेश गर्ने निर्णय भएको बोर्डले जनाएको छ।

त्यस्तै, बोर्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक–निजी साझेदारीमा विकास गर्न आशयपत्र पेस गरेका कम्पनीमध्ये जुरिच एअरपोर्ट अन्तर्राष्ट्रिय एजीलाई  संक्षिप्त सूचीमा समावेश गर्ने निर्णय गरेको छ। समावेश सूचीमा परेका कम्पनीहरूले निर्माण कार्यका लागि विस्तृत योजना र लागत मूल्यांकन गर्न पाउनेछन्।

प्रकाशित: ७ आश्विन २०७६ ०३:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App