१६ चैत्र २०८० शुक्रबार
अर्थ

१७ हजारलाई ३७ अर्ब

–जिपी भण्डारी

काठमाडाैं – सरकारले विभिन्न क्षेत्रलाई लक्षित गरेर ल्याएको सहुलियत कर्जा कार्यक्रम अन्तर्गत अहिलेसम्म बैंक तथा वित्तीय संस्थाले ३७ अर्ब रुपैयाँ प्रवाह गरेका छन्।

गत असार मसान्तसम्मको तथ्यांकअनुसार वित्तीय संस्थाहरूले विभिन्न सातवटा शीर्षकमा ३७ अर्ब १२ करोड ६९ लाख रुपैयाँ कर्जा लगानी गरेका हुन्।

सरकारले यो कार्यक्रम अनुसार व्यावसायिक कृषि तथा पशुपालन कर्जा, शिक्षित युवा स्वरोजगार, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशील, दलित समुदाय विकास, उच्च र प्राविधिक व्यावसायिक कर्जा र भूकम्पपीडित निजी आवासका लागि ब्याज सहुलियत कर्जाको व्यवस्था गरेको हो। बैंक तथा वित्तीय संस्थाहरुले यी शीर्षकमा गरेको लगानीमा निश्चित प्रतिशत ब्याज सहुलियत हुन्छ।

राष्ट्र बैंकले २०७५ मा सहुलियत कर्जा ब्याज अनुदानसम्बन्धी एकिकृत कार्यविधि ल्याएको छ। यही कार्यविधि अनुसार कर्जामा ब्याज अनुदान दिइन्छ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार वाणिज्य, विकास बैंक र वित्त कम्पनीले यी शीर्षकमा प्रवाह गरेको कर्जाको ब्याजदरमा चारदेखि पाँच प्रतिशत बिन्दुसम्म अनुदान दिने व्यवस्था छ। असार मसान्तसम्म एक अर्ब ५५ करोड ६८ लाख रुपैयाँ ब्याज अनुदान वितरण गरेको उनले बताए।

शिक्षित युवा स्वरोजगार कर्जामा सबैभन्दा कम लगानी भएको छ। उक्त शीर्षकमा २४ जनाले करिब १२ लाख रुपैयाँ कर्जा लिएका छन्।

राष्ट्र बैंकका अनुसार ती कर्जामध्ये सबभन्दा बढी व्यावसायिक कृषि तथा पशुपक्षी शीर्षकमा लगानी गरिएको छ। १७ हजार दुई सय युवाले व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा लिएका छन्। पछिल्लो साढे एक वर्षको अवधिमा ३७ अर्ब १२ करोड ६९ लाख कर्जा प्रवाह भएको छ।

त्यसैगरी, शिक्षित युवा स्वरोजगार कर्जामा सबैभन्दा कम लगानी भएको छ। उक्त शीर्षकमा २४ जनाले करिब १२ लाख रुपैयाँ कर्जा लिएका छन्।

सोही अवधि विभिन्न बैंकले वैदेशिक रोजगारीबाट फर्केका ४९ युवालाई  ३५ करोड ९७ लाख रुपैयाँ सहुलियत कर्जा दिएका छन्। त्यसैगरी, महिला उद्यमशीलता कर्जा ५८ करोड रुपैयाँ प्रवाह भएको छ। उक्त कर्जा सात सय ९६ जनाले लिएका छन्।

राष्ट्र बैंकका अनुसार दलित समुदाय व्यवसाय विकास कर्जा शीर्षकमा तीन करोड ९१ लाख रुपैयाँ प्रवाह भएको छ। यो कर्जा ७० जना दलितलाई दिइएको छ।

त्यसैगरी, प्राविधिक तथा व्यावसायिक शिक्षाका लागि ६० जनालाई एक करोड ७३ लाख रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ।

भूकम्पपीडितको निजी आवास निर्माणका लागि दुई करोड ६४ लाख रुपैयाँ लगानी भएको छ। यस शीर्षकमा ७३ जनालाई कर्जा दिइएको छ।

सरकारले सहुलियत कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि २०७५ लागू गरेपछि बैंक, वित्तीय संस्थाले सहुलियत कर्जा प्रवाह गर्दा ऋणीबाट आधार दरमा बढीमा दुई प्रतिशत थप लिन पाउँछन्।

सरकारले यी सात प्रकारका कर्जाको सीमा पनि तोकेको छ। जसअनुसार न्यूनतम तीन लाखदेखि अधिकतम पाँच करोड रुपैयाँसम्म कर्जा प्रवाह गर्न सकिने प्रावधान रहेको राष्ट्र बैंकले जनाएको छ। पाँच करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गर्न केन्द्रीय समन्वय तथा अनुगमन समितिसँग स्वीकृति लिनुपर्छ। यो कर्जाको अवधि व्यवसाय अनुसार सम्बन्धित बैंक तथा वित्तीय संस्थाले निर्धारण गर्छ।

सहुलियत कर्जा कार्यविधि अनुसार यी सात प्रकारका कर्जाको अवधि बढीमा पाँच वर्षको हुन्छ। पाँच करोड रुपैयाँसम्मको व्यावसायिक कृषि तथा पशुपक्षी कर्जाको भुक्तानी अवधि बढीमा पाँच वर्षको रहेको छ। शिक्षित युवा स्वरोजगार कर्जा अन्तर्गत निवेदकको सक्कल शैक्षिक प्रमाणपत्र धितो राखेर बढीमा सात लाख रुपैयाँसम्म प्रदान गर्न सकिने व्यवस्था छ।

वैदेशिक रोजगारीबाट फर्केका युवाको सीपको आधारमा बढीमा १० लाख रुपैयाँसम्म कर्जा प्रवाह गरिने व्यवस्था छ। महिला उद्यमशील कर्जा बढीमा १५ लाख तथा दलित समुदाय व्यवसाय विकास कर्जा एकजनाले बढीमा १० लाख रुपैयाँ पाउँछन्।

प्राविधिक तथा व्यावसायिक शिक्षाका लागि पाँच लाख रुपैयाँ तथा भूकम्पपीडितको आवास निर्माणका लागि तीन लाख रुपैयाँ कर्जा प्रवाह हुने व्यवस्था छ।

प्रकाशित: ६ आश्विन २०७६ ०३:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App