२९ श्रावण २०७७ बिहीबार
अर्थ

खोलाको जग्गामा साढे चार करोड ऋण

काठमाडौं – झापा र सुनसरीमा कमसल धितो राखेर चार करोड ५० लाख ऋण प्रवाह गरेको आरोपमा बैंक अफ काठमाडौंका पूर्व प्रमुखकार्यकारी अधिकृत (सिइयो)सहित १९ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ४९ दिनको मेहनतपछि शुक्रबार १७ जना र त्यसअघि दुई गरी १९ जना पक्राउ गरेको हो। पक्राउ पर्नेमा बैंकका पूर्वसिइयो अजय श्रेष्ठ, कर्मचारी र बिचौलिया छन्। पक्राउ पर्ने बैंक कर्मचारीमा करण बोहोरा, ऋचा श्रेष्ठ, शुष्मा शाह, पुष्पराज भण्डारी, विक्रम पन्त र ऋणी सुरेन्द्र श्रेष्ठ भूपेन्द्र श्रेष्ठ लगायत छन्।

उनीहरुले नक्कली जग्गाधनी पुर्जा धितो राखेर ऋण प्रवाह गरेको आरोप छ। सिआइबीका अनुसार बैंकका कर्मचारीले खोलाको जग्गामा ऋण प्रवाह गरेको देखिएको छ।

बैंक अफ काठमाडौंले झापा र सुनसरीमा कमसल धितोमा ऋण प्रवाह गरेको भेटेपछि गत साउनमा सिआइबीमा उजुरी दिएको थियो। सो उजुरीको आधारमा प्रहरीले साउन अन्तिम हप्ता बिचौलिया सुरेन्द्र श्रेष्ठ र भूपेन्द्र श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो।

४९ दिनको अनुसन्धानपछि १९ जना पक्राउ

सोही अनुसन्धानको क्रममा बैंकका पूर्वाञ्चल प्रमुख गणेश लम्साल पक्राउ परेका थिए। लम्साल पक्राउ परेपछि प्रहरीले बैंक अफ काठमाडौंले २०७१ साल फागुनयता प्रवाह गरेका सबै ऋणको फाइल मगाएर अनुसन्धान गरेको थियो। ‘बैंकले उपलब्ध गराएको कागजपत्रका आधार हेर्दा फिल्डमा जग्गा देखिएन कोही कता देखियो कोही खोलातिर देखियो। ऋण लिने र प्रवाह गर्नेको नियत राम्रो देखिएन,’ सिआइबी स्रोतले भन्यो। ऋण हेटौंडाका सुरेन्द्र श्रेष्ठले खोलेको कम्पनीमार्फत प्रवाह गरेको प्रहरीले जनाएको छ।

फिल्ड हेरेर जग्गा मूल्यांकन गर्ने ‘भ्यालुएटर’ भने फरार छन्। ‘केही कर्मचारी अझै अनुसन्धानको दायरामा भए पनि प्रहरीको नियन्त्रणबाहिर छन् उनीहरुको खोजी जारी छ,’ सिआइबी स्रोतले भन्यो।

सिआइबीका प्रमुख डिआइजी निरजकुमार शाहीले बैंकका बहालवाल र केही पूर्वकर्मचारी पक्राउ परेको जानकारी दिए। ‘केही कर्मचारी र त्यसमा संलग्न व्यक्ति पक्राउ परेका छन् उनीहरुबारे अनुसन्धान गरिरहेका छौ,’ डिआइजी शाहीले भने।

उनका अनुसार लगानी गर्दा बैंकका कर्मचारी र ऋण लिने व्यक्तिको सही नियत देखिएको छैन। जग्गा जहाँ भनेर ऋण प्रवाह भएको हो त्यो नदेखिएपछि उनीहरुलाई कारबाही गरी ऋण असुलउपर गराउन प्रहरीमा उजुरी परेको थियो। ‘कानुनी प्रक्रिया अघि बढेपछि बैंकका कर्मचारीलाई नियन्त्रणमा राखिएको छ उहाँहरुको बयान हुँदैछ,’ सिआइबी प्रमुख शाहीले भने। प्रहरीले ऋण प्रवाह भएको मुख्य जग्गा झापमा पुगेर २० दिन अनुसन्धान गरेको थियो। जग्गा नभेटिएको र सुनसरीमा पनि ऋण प्रवाह भएको देखिएपछि प्रहरीले त्यहाँ पनि अनुसन्धान गरिरहेको जनाएको छ। ‘केही रकम त्यहाँ पनि प्रवाह भएको देखियो। अनुसन्धान सुरु गरिएको छ, केही दिनमा टुंगिन्छ होला। त्यहाँको अनुसन्धान टुंगिएपछि अनुसन्धानको फाइल सरकारी वकिलको कार्यालयमा पठाइनेछ,’ डिआइजी शाहीले भने।

प्रकाशित: ६ आश्विन २०७६ ०८:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App