१४ आश्विन २०७७ बुधबार
अर्थ

विचौलियाका कारण चार गुणा महँगो

सुर्खेतको वीरेन्द्रनगरस्थित सब्जीमण्डीमा राखिएको स्याउ। तस्बिर : गणेश/नागरिक

गणेश विशु

वीरेन्द्रनगर- सुर्खेत वीरेन्द्रनगर बस्ने ज्योति रावतका जुम्लामा तीनवटा स्याउ बगैंचा छन् । उनको घरबाट सीधै प्रदेश राजधानी वीरेन्द्रनगरमा स्याउ आइपुग्दैन । तीन चरणमा बिक्री भएको स्याउ सुर्खेतबाट उनले खरिद गर्छिन् । जसले गर्दा दोब्बरभन्दा बढी मूल्यमा उनले खरिद गर्नुपर्छ ।

बगैंचामा २५ रूपैयाँमा पाउने स्याउ उनले ५५ देखि ७५ रूपैयाँसम्ममा खरिद गर्छिन् । उनी पनि वीरेन्द्रनगरमा स्याउ व्यापारी हुन् । ‘आफ्नै बगैंचाको स्याउ दोब्बरमा किन्नुपर्छ,’ उनले भनिन्, ‘सरकारले किसानबाट सीधै बजारमा स्याउ ल्याउने वातावरण बनाइदिएन ।’ जसले गर्दा खरिद बिक्री गर्दा स्याउ उपभोक्तासम्म पुग्दा चार गुणाभन्दा बढी एक सय रूपैयाँसम्म पर्ने उनको भनाइ छ ।

किसानको स्याउ सीधै बजारमा नपुग्दा उपभोक्ताले चार गुणा महँगो मूल्यमा स्याउ किन्न बाध्य छन् । विचौलियाको जालोले स्याउ महँगो पर्ने ठेलामा स्याउ व्यापार गर्दै आएकी पवित्रा रिजालले बताइन् । ‘किसानबाट सीधै स्याउ हामीकहाँ आउन्न,’ उनले भनिन्, ‘हामी पनि अरुबाट ल्याएर बिक्री गर्छाैं, जसले गर्दा उपभोक्तासम्म पुग्दा महँगो पर्छ ।’

चार चरण पार गरेपछि स्याउ उपभोक्ताको हातमा पर्छ । पहिलो किसान स्याउ, दोस्रो स्थानीय स्याउ व्यापारी, तेस्रो सब्जीमण्डी र चौथौ डोके, ठेलालगायत व्यापारीसम्म स्याउको मूल्य ५५ देखि ७५ रूपैयाँसम्म पर्न जान्छ । त्यहाँबाट उपभोक्ताले सय रूपैयाँमा किन्नुपर्ने हुन्छ । यो अवस्थामा एउटा व्यापारीले २५ रूपैयाँसम्म फाइदा लिन्छन् ।

किसानबाट २५ रूपैयाँमा स्थानीय स्याउ व्यापारीले खरिद गर्छन् । स्थानीय स्याउ व्यापारीबाट सब्जीमण्डीसम्म पुग्दा ४० देखि ५० रूपैयाँसम्म पर्छ । सब्जीमण्डीले ५५ देखि ७५ रूपैयाँसम्ममा अन्य व्यापारीबाट बिक्री गर्छन् र अन्य व्यापारीले उपभोक्तालाई बिक्री गर्दा २५ पर्ने स्याउको मूल्य एक सय रूपैयाँसम्म पुग्छ ।

स्याउ ढुवानी, स्याउ वर्गीकरण, कार्टुनलगायतमा लगानी गर्दा स्याउ पाँच रूपैयाँमात्र फाइदा लिएर फलफूल मण्डीबाट बिक्री हुने फलफूल व्यवसायी प्रकाश तिमिल्सेनाले जनाए । स्याउको मूल्य घटबड भइरहँदा यति मूल्यमा खरिद हुन्छ त्यसै भन्न नसकिने उनले बताए । भारतीय र चिनियाँ स्याउसँग प्रतिस्पर्धा गराउन सरकारले ग्यारेन्टी लिनुपर्ने भन्दै उनले स्याउ व्यवसायमा सरकारले दीर्घकालीन योजना बनाउनु पर्ने बताए ।

‘किसानका लागि बजारको ग्यारेन्टी, आधारभूत आवश्यकता निर्माण (जस्तै ढुवानीमा सहुलियत, कोल्ड स्टोर निर्माण) गर्नुपर्छ,’ उनले भने, ‘यसरी स्याउ सीधै किसानबाट बजारमा जान्छ, अनि स्याउको मूल्य कम हुन्छ ।’ वीरेन्द्रनगरमा दैनिक एक सय ५० क्विन्टल स्याउ खपत हुने गरेको उनको भनाइ छ ।

जुम्ला पातारासी–४, की तारा बोहराको करिब तीन सय स्याउका रुख छन् । उनले करिब १६ क्विन्टल स्याउ बजार पुर्‍याउँछिन् । स्याउको भाउ कम हुँदा आम्दानी कम हुँदै गएको उनको भनाइ छ । केही स्याउ सीधै मण्डीमा जाने गरेको बताउँदै उनले भनिन्, ‘केही स्याउ स्थानीय व्यापारीमार्फत् जान्छ ।’ स्थानीय व्यापारीले २५ रूपैयाँमा पनि मोलमोलाइ गर्ने हुँदा स्याउबाट आम्दानी घट्दै गएको उनको भनाइ छ । ‘किसानको स्याउ बजार ल्याउन सरकारले ढुवानीमा अनुदान वा सहुलियत दिनुपर्छ,’ उनले भनिन्, ‘त्यससँगै बजारको ग्यारेन्टी हुन जरुरी छ ।’

उत्पादन भएको स्याउ कुहिने, बिग्रिने हुँदा पनि विचौलियामार्फत् स्याउ बजारसम्म पुग्ने गरेको स्याउ किसानको भनाइ छ । बजारमा सय रूपैयाँमा पाइने स्याउ पनि त्यति ताजा नहुने उपभोक्ताको बुझाइ छ । ‘किसानबाट सीधै बजार आउँदा स्याउ ताजा आउथ्यो,’ उपभोक्ता फणिन्द्र केसीले भने, ‘चार–पाँच ठाउँ राखेको स्याउ किन्दा त्यसको स्वाद हराएको हुन्छ ।’

सरकारले किसानबाट सीधै बजारसम्म स्याउ ल्याउने योजना बनाउनु पर्ने उनको भनाइ छ । विचौलियाले गर्दा स्याउ महँगो पर्ने भन्दै उनले विचौलियाको हातमा स्याउ पर्न नहुने बताए ।


 

प्रकाशित: ५ आश्विन २०७६ १४:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App