२३ जेष्ठ २०७७ शुक्रबार
अर्थ

विदेशबाट फर्केका युवालाई भैंसीपालनमा सहभागी गराइँदै

विदेशको भिसा त्यागेका चन्द्रप्रसाद न्यौपानेले पनौती–५, नैकिन्टारमा सञ्चालन गरेको चन्द्रतारा नमूना कृषि फार्ममा ३० वटा दुहुनो भैंसी पालिरहेका छन्। तस्बिर : नागरिक

बनेपा- अघिल्लो आर्थिक वर्षको बजेटमा भैंसीको आनुवंशिक संरक्षण र उत्पादनशीलता बढाउने कार्यक्रम प्रस्ताव गर्ने क्रममा पनौती नगरपालिकाको पशुपन्छी शाखाका पशु चिकित्सक मणिप्रसाद सापकोटाले धेरै मेहनत गर्नुपर्‍यो ।

कार्यक्रममा पाडापाडीको जन्मदर्ता, भैंसीलाई सुत्केरी भत्ता र पाडी हुर्काए थप अनुदानलगायत आकर्षक ‘स्किम’ समावेश थिए । यी सबै क्रियाकलापलाई निरन्तरता दिन सके पनौती नगरबाट दुधालु भैंसी किन्नलाई बर्सेनि बाहिरिने चार करोड हाराहारी जोगाउन सकिने उनको प्रस्ताव थियो ।

‘कृषि समितिका संयोजकज्यू प्रस्तावित कार्यक्रमप्रति सकारात्मक हुनुहुन्थ्यो । बजेट तर्जुमा समिति र कार्यपालिका सदस्यहरुलाई बुझाउन ठुलै मेहनत गरियो,’ सापकोटाले भने, ‘पशु सेवा प्रसार, पशु स्वास्थ्य, जिविकोपार्जन सुधार, समुद्धिका लागि पशुपालनलगायत एक सयभन्दा बढी कार्यक्रमलाई ९९ लाख १६ हजार बजेट विनियोजन भएकोमा भैंसी सुत्केरी भत्ता र पाडापाडी हुर्काएबापतको अनुदानमा मात्रै १५ लाख ७० हजार रुपैयाँ वितरण भएको छ ।’

पनौतीका वडा नं १, २, ३ र १२ भैंसीपालनका लागि कहलिएका क्षेत्र हुन् । यहाँ मुर्राह क्रस, लिमे र पार्कोटे भैंसीको बाहुल्य छ । कम्तीमा ७५ हजारदेखि डेढ लाखसम्ममा भैंसीको किनबेच हुने गरेको छ । ‘दूध घट्न थालेका, थारो र बाँझो भैंसी पालिरहँदा बढी लगानी गर्नुपरेको भन्दै किसानले बेच्नमै जोड दिन थालेको पाइयो ।

प्रोत्साहन नहुँदा उत्पादनशील नभएका भैंसीलाई उत्पादनशील बनाउनुको साटो सस्तोमा बेच्दै महँगोमा नयाँ भैंसी किन्न उनीहरुले रुचाएका हुन् । त्यो क्रमलाई रोक्नु नै हाम्रो कार्यक्रमको प्रमुख लक्ष हो,’ सापकोटाले थपे ।

नगरपालिकाको पशुपन्छी शाखाले गरेको अध्ययनले पनि बर्सेनि चार सय हाराहारी भैंसीपालन हुने वडाबाट भैंसी ल्याइने  गरेको पाइएको छ । तराईका स्रोत केन्द्रबाट ल्याउँदा औसत मूल्य ९० हजारले करिब चार करोड रुपैयाँ उत्पादनशील भैंसी किन्नमा नगरबाट बाहिरिएको देखाएको छ ।

‘नयाँ भैंसी किन्नुपर्दा किसानको पैसा बाहिरिनेमात्रै नभई पुरानो भैंसीबाट प्राप्त मूल्यको तेब्बर रकम लगानी गर्न बाध्य छन् । फेरि अन्यत्र हुर्केको भैंसीले व्यापारीले भनेजति दूध नदिएमा किसान झनै घाटामा जाने अवस्था रहेको छ,’ उनले थपे ।

भैंसीको आनुवंशिक संरक्षणका साथै भएका भैंसीलाई उत्पादनशील बनाउन सके मात्रै पनि भैंसी प्रतिस्थापनमा पनौतीका किासनले खर्च गर्ने चार करोड जोगाउन सकिने नगर कृषि समितिका संयोजक एवं वडा नं १ अध्यक्ष गुणनाथ सापकोटाको भनाइ छ । ‘यसै तथ्यमा आधारित भएर आगामी तीन वर्षमा पनौतीमा उन्नत जातका भैंसीको स्रोत केन्द्रको स्थापना गर्दैछौं ।

त्यसपछि राम्रो जातका दुधालु भैंसी किन्न मधेस झर्नुपर्ने बाध्यताको अन्त्य हुँदै जानेछ । यसैले पनि भैंसी संरक्षणका कार्यक्रमहरुलाई निरन्तरता दिएका हौं,’ उनले भने ।

काठमाडौं उपत्यकालाई दूधमा भरथेग गर्दै आएको नगरपालिका भएकाले पनि दुधालु भैंसी र गाईपालनमा युवा आकर्षण बढाउन अघिल्लो वर्षको दाँजोमा तीन गुणा बजेट बढाइएको पनि उनको भनाइ छ । ‘यो वर्ष पशुपन्छी शाखाका लागि साढे दुई करोड बजेट दिएका छौं ।

यसमध्ये विदेशबाट फर्किएका युवा र विपन्न वर्गका नगरवासीलाई वितरण गर्ने गरी मुर्राह जातको क्रस गुण भएका चार सय पाडी किन्दैछौं । यसका लागि ९५ लाख  बजेट निकासा भई खरिद प्रक्रियाको तयारी छ,’ सापकोटाले थपे ।
नगरपालिकाले पाडी वितरणमात्रै गर्ने नभई त्यसको बिमा गरिदिने र ब्याउने बेलासम्म राम्ररी पालनपोषण गर्ने किसानलाई प्रतिपाडी थप २० हजार रुपैयाँ पोषण भत्ताबापत ब्याएलगत्तै प्रदान गर्ने कार्यविधिसमेत बनाएको उनको भनाइ छ ।

‘पशु सेवाका विज्ञ र भेटेरिनरियनले गुणस्तरीय पाडीको ‘स्पेसिफिकेसन’ तयार पार्दै हुनुहुन्छ । यसको आधारमा टेन्डरमार्फत किन्छौं । नगरपालिकाले दिने पाडी, बिमा प्रिमियम, पोषण भत्ता र ब्याएपछिको सुत्केरी भत्तासमेत गर्दा एउटा किसानले ६० हजार रुपैयाँसम्म अनुदान पाउने छन्,’ वडाध्यक्ष सापकोटाले भने ।

नगरपालिकाले गत आर्थिक वर्ष ०७५/७६ मा पहिलो बेत र अन्य बेतका पाँच सय ३३ भैंसीलाई सुत्केरी भत्ताबापत १५ लाख ७० हजार रुपैयाँ वितरण गरेको छ । चालु वर्षका लागि १६ लाख रुपैयाँ निकासा भइसकेको छ । ‘हामीकहाँ पाँच सय ३३ वटा पाडापाडीको जन्मदर्ता भएको छ ।

त्यसमा दुई सय ६६ वटा पाडी छ । फिल्ड भिजिटमा जाँदा पनि अधिकांश घरमा पाडी हुर्किरहेको देखिन्छ । विगतमा पाडी ब्याउने बेलासम्म पाल्नुपर्दा खर्च बढेको भनेर बेच्ने किसान नगरपालिकाको स्किमले खुसी देखिन्छन्,’ पशु चिकित्सक सापकोटाले भने, ‘हामी पनि पाडी पाल्छौं र जिविका चलाउँछौं भनेर शाखामा एक सय ७० किसानको निवेदन आइसकेको छ । भैंसी प्रवद्र्धन कार्यक्रमले गर्दा यतिखेर १० भन्दा बढी संख्यामा भैंसी पाल्ने फार्मको संख्या समेत दुई दर्जन नाघेको छ,’ उनले थपे ।

हाल प्रतिभैंसीको औसत दूध उत्पादन आठ लिटर रहेकोमा त्यसलाई बढाएर १२ देखि १४ लिटर प्रतिदिन पुर्‍याउन नगरपालिकाले कृत्रिम गर्भाधान गराउन विशेष जोड दिएर १५ जना प्राविधिक (इन्सिमिनेटर)लाई दक्ष बनाएको छ । कृत्रिम गर्भाधानबाट जन्मेका र उन्नत जातका पाडी हुर्काउने किसानलाई नगरपालिकाले २० हजार रुपैयाँ पोषण अनुदान दिने नीति लिएको छ । किसानले आफैंले हुर्काएको पाडी ब्याएपछिको अवस्थामा मात्रै यस्तो अनुदान पाउने व्यवस्था छ ।
पाडीको स्वास्थ्य परीक्षण, परजिवीविरुद्ध औषधि, आवश्यक खोप, पाठेघरको सफाइ (फ्लसिङ), कृत्रिम गर्भाधान र ९० दिनपछि गर्भ परीक्षण, मिनरल, घाँसको बीउ–बेर्ना वितरणका साथै बिमा समेत नगरपालिकाले गरिदिने कार्यविधिमा उल्लेख छ ।

‘भैंसी बहुपयोगी पशु भएकाले उत्पादनशील अवस्था र दूध थाकेका बखतसम्म किसानलाई फाइदा नै हुन्छ । भैंसीको केही कुरा पनि खेर जाँदैन । त्यही भएर नै भैंसीलाई संसारमै ‘द ब्ल्याक गोल्ड’ (कालो सुन) भन्ने गरिएको छ,’ उनले भने ।

पशु सेवा विभागको तथ्यांकअनुसार भैंसीले राम्ररी दूध दिने अवधि तीन सय पाँच दिन हो । यस अवधिमा मुर्राहले १३ सय ७२, लिमेले एक हजार ४८ र पार्कोटेले एक हजार ३१ किलो दुध औसतमा दिने गरेको पाइएको छ । यसैलाई आधार मानेर मुर्राको ‘क्रस ब्रिडिङ’बाट जन्मेका पाडीबाट दूध उत्पादनमा वृद्धि आएकाले पछिल्लो समय भैंसीको कृत्रिम गर्भाधानप्रति किसानको आकर्षण समेत बढेको पाइन्छ ।

नेपालको पशुपालनबाट कृषि गार्हस्थ उत्पादनमा पुग्ने योगदानमध्ये भैंसीले ५३ प्रतिशत हिस्सा आगेटेको केन्द्रीय गाईभैंसी प्रवद्र्धन कार्यालयले जनाएको छ । तर, देशमै राम्रो जातका भैंसीको स्रोत केन्द्रहरु नहुँदा दुधालु भैंसीको माग धान्न भारतबाट बर्सेनि चार लाखवटा भैंसी नेपालमा ल्याइने गरेको हुँदा ४० अर्बभन्दा बढी रकम उता जाने गरेको देखाएको छ ।

 

 

 

प्रकाशित: ५ आश्विन २०७६ १४:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App