७ वैशाख २०८१ शुक्रबार
अर्थ

मुख्य सिजनको बुकिङ कमजोर

पोखरा लेकसाइडमा चिनियाँ पर्यटक। तस्बिर : सन्तोष/नागरिक

पोखरा – क्षमता विस्तार गरी एक सय एक कोठा बनाइएको ल्यान्डमार्क होटलको अक्टोबर र नोभेम्बरको अग्रिम बुकिङ अहिलेसम्म जम्मा २० प्रतिशत हाराहारी छ। पोहोर–परार यो बेला ती दुई महिनाको अग्रिम बुकिङ कम्तीमा ७० प्रतिशत पुगिसक्थ्यो। ७० प्रतिशतको अग्रिम बुकिङले व्यवसायी सुखद् सिजनको पखाइमा रहन्थे।

अक्टोबर लागिसक्दा बुकिङ ९० प्रतिशत हाराहारीमा उक्लिन्थ्यो। त्यसले व्यवसायीलाई झनै खुसी तुल्याउँथ्यो।तर, यसपटक सुखद सिजनको पर्खाइमा व्यवसायी छैनन्। कमजोर अग्रिम बुकिङले उनीहरु चिन्तित छन। सेप्टेम्बरको अकुपेन्सी अनुपात पनि ५० प्रतिशत हाराहारी मात्र छ। व्यवसायीले यसलाई पनि कमजोर मानेका छन्। पर्यटन क्षेत्रमा सेप्टेम्बर, अक्टोबर र नोभेम्बरलाई मुख्य सिजन मानिन्छ।

सेप्टेम्बर र अक्टोबरको २० प्रतिशत अग्रिम बुकिङ निकै कमजोर रहेको उनीहरुको भनाइ छ। सेप्टेम्बरको अकुपेन्सी पनि सन्तोषजनक नहुँदा उनीहरु निराश छन्।

‘अक्टोबर र नोभेम्बरको अहिलेसम्मको अग्रिम बुकिङ कम्तीमा ७० प्रतिशत हाराहारी पुग्नुपथ्र्यो। तर जम्मा २० प्रतिशत हाराहारी छ,’ ल्यान्डमार्कका सञ्चालक ओमप्रकाश पाण्डे भन्छन्, ‘यस्तो आगमनले खुसी हुने अवस्था छैन।’

अहिलेको पाहुनाले खर्च धान्न समेत मुस्किल हुने उनले बताए। ‘पाहुना नआएका पनि होइनन्, तर धेरैतिरका होटलमा बाँडिएकोले अभाव देखिएको हो,’ पाण्डेले भने, ‘धेरै आइदिएको भए राहत मिल्थ्यो।’

अहिलेको आगमन विगतको भन्दा कमजोर छ। त्यसमाथि होटल थपिँदा पाहुना बाँडिन्छन्। चाडपर्व भएकोले यसबीचमा केही आन्तरिक पाहुना बढ्ने हुँदा राहतको सास फेर्न सकिने अवस्था रहे पनि विदेशीको आगमनबाट खुसी हुन सक्ने ठाउँ नरहेको उनले बताए।

‘अक्टोबर र नोभेम्बरको अहिलेसम्मको अग्रिम बुकिङ कम्तीमा ७० प्रतिशत हाराहारी पुग्नुपथ्र्यो। तर जम्मा २० प्रतिशत हाराहारी छ,’ ल्यान्डमार्कका सञ्चालक ओमप्रकाश पाण्डे भन्छन्, ‘यस्तो आगमनले खुसी हुने अवस्था छैन।’ 

सेप्टेम्बर–नोभेम्बरमा आएका पाहुनाको भरमा यहाँको व्यवसाय धानिन्छ। तर, यसपटक सिजन सुखद् हुने संकेत व्यवसायीले अहिलेसम्म पाएका छैनन्। ‘यस्तै अवस्था हो भने यसपटकको सिजन पनि खेर जान सक्छ,’ पाण्डेले भने, ‘सिजन नै खेर गयो भने त हामी उभिनै सक्दैनौ। पर्यटन क्षेत्रमा खर्च कटौती गर्न नमिल्ने भएकोले पनि समस्या छ।’

होटल बाराहीका महाप्रबन्धक राजकुमार केसी अहिले पर्यटक आगमनको ट्रेन्ड पहिलेभन्दा फरक भइसकेको बताउँछन्। पहिलापहिला सेप्टेम्बर मध्यदेखि पोखराका होटलको अकुपेन्सी उकासिन थाल्थ्यो। अहिले अक्टोबर लागेपछि मात्र पाहुना बढ्ने गरेका छन्। सेप्टेम्बर पर्यटनमा सुखद् हुन छाडिसकेको उनले बताए। ‘सेप्टेम्बर–नोभेम्बरलाई केही वर्षअघिसम्म मुख्य सिजन मानिन्थ्यो। अहिले अक्टोबर लागेपछिको मात्र बुकिङ देखिन थालेको छ,’ उनले भने, ‘पहिलेभन्दा सन्तोषजनक आगमन पनि छैन।’

व्यवसायीको अनुभवमा विदेशी पर्यटकको आगमन पछिल्लो समय निकै कमजोर हुँदै गएको छ। होटल डालियाका आवासीय म्यानेजर तुलसी लामिछानेले अग्रिम बुकिङको अवस्थाले निराशाजनक तस्बिर देखाएको बताए। उनका अनुसार अहिलेसम्ममा उक्त होटलको अक्टोबर र नोभेम्बरको अग्रिम बुकिङ अनुपात ४० प्रतिशत हाराहारी छ। ‘अहिले ७० प्रतिशतभन्दा माथि बुकिङ भइसक्नुपर्ने हो,’ लामिछानेले भने, ‘आधा नै कम हुने गरी बुकिङ छ।’

सेप्टेम्बरको अकुपेन्सी ४० प्रतिशत हाराहारी रहेको उनले सुनाए। उनका अनुसार अहिलेको आगमन पनि उत्साहजनक होइन। केही वर्षअघि सेप्टेम्बरको अकुपेन्सी अनुपात ७० प्रतिशत हाराहारी हुन्थ्यो। त्यसपछि अक्टोबर र नोभेम्बरमा आगमन सुधार हुँदै जाँदा व्यवसायी ढुक्कले बस्ने अवस्था रहे पनि अहिले भने आशंकामै रहनुपर्ने स्थिति आएको उनले बताए।

लामिछानेका अनुभवमा जापानी, फ्रेन्च, स्पेनिस पर्यटकले लामो समय ‘ग्याप’ राखेर अग्रिम बुकिङ गर्छन्। जापानी पर्यटक त ६ महिनाअघि नै बुकिङ गर्छन्। अहिले ती मुलुकका पर्यटक पनि घट्दो र उनीहरुको अग्रिम बुकिङ निकै कमजोर छ। चिनियाँ पाहुना भने निकै नै कम समय राखेर बुकिङ गर्छन्। पछिल्लो समय त चिनियाँले निकै नै बार्गेनिङ गर्न थालेको व्यवसायीको अनुभव छ। ‘होटल व्यापार सहज छैन। अग्रिम बुकिङ र आगमनको अनुपातमा पटक्कै सुधार देखिन्न,’ उनले भने, ‘आगमन करेक्सन होला भन्नेमा आशावादी चाहिँ हुनपर्छ। तर, पाहुनाको आगमन सुधारोन्मुख छैन।’

पोखरामा पछिल्लो समय होटलको संख्या ह्वात्तै बढेको छ। पर्यटकको आगमन सोचेजति बढेको छैन। पहिलेकै आकारको आगमन रहँदा पनि होटल बढ्दा पाहुना छरिने व्यवसायीको अनुभव छ। ‘पोखरामा चाहिनेभन्दा बढी होटल भए। नयाँ बजार कतै खोजिएको छैन। पुरानै बजारको भरमा आएका पाहुनाले पुग्न छाड्यो,’ लामिछानेले भने, ‘यस्तै अवस्थाले केही होटल जोखिममा पर्न सक्छन्। पोखरामा पर्याप्त होटल भएकोले पनि ट्राभल एजेन्टले अग्रिम बुकिङ गर्न छाडेका छन्।’

व्यवसायीका अनुसार सामाजिक सञ्जालमार्फत सार्वजनिक हुने नेपालका केही गतिविधिबारे पर्यटक सचेत बनेका छन्। भूकम्पअघिको जस्तो चिनियाँको आगमनमा अझै सुधार आएको छैन। भूकम्प अघि चिनियाँको आगमन देखेर होटल थपे पनि अहिलेको अवस्थाबाट भने खुसी हुन नसकिने उनले बताए। ‘प्राइस वार’ पनि निकै बढेको छ। प्रतिस्पर्धाले गर्दा सस्तोमा सेवा दिनुपर्दा व्यवसायीले कमाउन सकेका छैनन,’ लामिछानेले भने।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन पनि सिजनको सुरुवात उत्तिसारो उत्साहप्रद नरहेको बताए। आगामि दुई महिनाको अग्रिम बुकिङमा सुधार नहुँदा सिजन लागेजस्तो हुन नसकेको उनको भनाइ छ।

आक्रामक बजार रणनीति बनाउन नसक्दा पाहुना नबढेको उनको बुझाइ छ। ‘नयाँ बजार खोज्ने पहल पनि उतिसारो भएको छैन,’ तुलाचनले भने, ‘ध्वजाबाहकको उडान पनि सोचेजति फस्टाउन सकेको छैन। नेपालका पुराना समस्या ज्यूँका त्यूँ छन्। त्यसले गर्दा आगमन कमजोर रहेको हो।’

प्रकाशित: २ आश्विन २०७६ ०२:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App