१६ चैत्र २०८० शुक्रबार
अर्थ

नेपाली कार्गोलाई बिमा शुल्कमा भारी सहुलियत

नेपाल आयात गरिएका सामान बोक्ने कन्टेनर अवतरण हुने कोलकाता बन्दरगाहस्थित नेताजी सुभाष डक। तस्बिर : रितेश/नागरिक

वीरगन्ज – कोलकाता बन्दरगाहस्थित भारतीय भन्सार कार्यालयले नेपाली कार्गोको राजस्व बिमामा ८४.३३ प्रतिशत सहुलियत दिएको छ। भारतको बाटो ल्याइने मालवस्तुको राजस्व जोखिम बराबर ‘ड्युटी इन्स्योरेन्स’ (राजस्व बिमा) त्यहाँ गराउनुपर्ने प्रावधान छ। त्यही बिमा शुल्कमा नेपालले सहुलियत पाएको हो। नेपाली आयातकर्ता र अन्य सरोकारवालाले यसलाई तेस्रो मुलकसँगको व्यापारको हकमा महत्वपूर्ण भनेका छन्।

‘लामो समयको पहल र विभिन्न चरणको छलफलपछि यो सफलता प्राप्त भएको हो,’ कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले नागरिकसँग भने, ‘यसको लागि भारतीय भन्सार र पहलमा साथ दिने सबैलाई हामीले धन्यवाद दिनुपर्छ।’

यसअघि बिमांक रकमको प्रतिसय भारतीय रुपैयाँ बराबर ३० पैसा बिमा शुल्क लाग्ने गरेको थियो। अब ३० पैसाको ठाउँमा पाँच पैसामात्र लाग्नेछ। कोलकाता भन्सारको यो निर्णयले नेपाली कार्गोमा बिमाको खर्च घट्ने आयातकर्ताले बताएका छन्।

‘हामीले यो बिमासम्बन्धी गरिएको पछिल्लो निर्णयको स्वागत गर्नुपर्छ, नेपालको हकमा यसले लाभ प्राप्त हुनेछ,’ आयातकर्ता समेत रहेका वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रदीप केडियाले भने, ‘केही मात्रामा भए पनि यसले व्यापार लागतमा कमी आउँछ।’ कोलकाता कस्टम हाउस एजेन्ट एसोसिएसनको नेपाल, भुटान समितिका अध्यक्ष रहिसकेका कार्यकारी सदस्य अमृतभक्त श्रेष्ठले पनि नेपाललाई यसबाट फाइदा पुग्ने बताउँदै स्वागतयोग्य भने।

हट्यो एकाधिकार
ड्युटी इन्स्योरेन्समा लाग्ने शुल्क मात्र घटेको छैन, कोलकातास्थित भारतीय भन्सारले बिमा नियमलाई खुकुलो बनाउँदै निजी बिमा कम्पनीबाट सेवा लिन पाउने व्यवस्था गरेको छ। तेस्रो मुलुकबाट नेपालका लागि आउने कार्गोमा यसअघि त्यहाँको एक सरकारी बिमा कम्पनीबाट मात्र बिमा सेवा लिन पाउने प्रावधान रहेकोमा बन्दरगाह भन्सारले सेप्टेम्बर १२ देखि अन्य बिमा कम्पनीसँग पनि सेवा लिन पाउने बनाएको हो। यससँगै कोलकाता बन्दरगाहमा सरकारी बिमा संस्थान ‘नेसनल इन्सुरेन्स कम्पनी लिमिटेड’को एकाधिकार भंग भएको छ।

कोलकाता र हल्दियाबाट नेपालका लागि रेल र सडकमार्गबाट आउने कार्गोमा यसअघि नेसनललाई मात्र बिमाको अधिकार थियो। भन्सारको पछिल्लो निर्णयले नेपाली कार्गोको बिमा प्रक्रिया सहज हुने नेपाली महावाणिज्यदूत अर्यालले बताए। बिमा कम्पनीबीच प्रतिस्पर्धा भएपछि त्यसबाट नेपाललाई फाइदा हुने उनले बताए। ‘प्रतिस्पर्धा भएपछि बिमाबापत लाग्ने खर्च कम हुन्छ,’ महावाणिज्यदूत अर्यालले भने, ‘शुल्क घट्नु र अरु बिमा सेवा प्रदायकले पनि नेपाली कार्गोको बिमा गर्ने प्रावधान लागू हुनु दुवै महत्वपूर्ण छ।’

नेपाल उद्योग वाणिज्य महासंघ स्थल यातायात तथा पारवहन समितिका अध्यक्ष अशोककुमार टेमानीले बिमामा गरिएको पछिल्लो सुधारलाई सकारात्मक भने। ‘पहिलेदेखि सेवा दिरहेको कम्पनी त छँदैछ, टेमानीले भने, ‘एउटा कम्पनीको एकाधिकार हटाएर अन्यलाई प्रतिस्पर्धा खुला गरिएपछि स्वाभाविक रुपमा फाइदा हुन्छ।’ नयाँ व्यवस्थापछि नेपाली आयातकर्ताले आफूले रोजेको भारतीय बिमा कम्पनीबाट कार्गोको बिमा गराउन सक्ने भएका छन्। र, खर्च दर पनि अब ३० पैसाको ठाउँमा अब पाँच पैसामात्र लाग्ने भएको छ।

प्रकाशित: १ आश्विन २०७६ ०२:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App