१६ चैत्र २०८० शुक्रबार
अर्थ

आत्मनिर्भर केन्द्रको सामाजिक लेखाजोखा

काठमाडौँ – सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले आव ०७५/७६ मा १४ करोड ७९ लाख ७७ हजार चार सय ३० रुपैयाँ उपयोग गरेको छ। आत्मनिर्भर केन्द्रका वकालत, अनुसन्धान तथा नीति विश्लेषक जगत बस्नेतले काठमाडौँमा आयोजित सामाजिक लेखाजोखा कार्यक्रममा प्रगति प्रतिवेदन पेश गर्दै उक्त जानकारी गराएका हुन्। प्रधान एन्ड शाक्य एसोसिएट्सका चार्टड एकाउन्टेन्ट क्षेत्रगोपाल प्रधानले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै तुलनात्मकरूपमा यो केन्द्रको आर्थिक पारदर्शिता सन्तोषजनक रहेको उल्लेख गरेका थिए।

संस्थाबाट सञ्चालित अभियानबाट यस वर्ष ४८१ परिवारले मोहियानी हक, १०२४ गाउँब्लकबासीले लालपुर्जा, ९६९ विस्थापित परिवारले पुनर्वासका लागि जग्गा, १६६ भूमिहीन परिवारले घर निर्माणको लागि जग्गा प्राप्त गरेका जानकारी पनि त्यस अवसरमा दिइयो। यस्तै ३,६५५ भूमिहीन परिवारले ऐलानी तथा सार्वजनिक जग्गामा साविक बसोबास स्थानमै घर बनाउने अनुदान पाएका छन्। १,५७८ परिवारले संयुक्त पुर्जा निर्माण गरी महिला र पुरुषको समान स्वामित्व कायम गराएका छन्। र, यी कार्यमा केन्द्रको सहयोग तथा सहजीकरण उपलब्ध थियो।

यस्तै संस्थाको सहयोगमा २५ वटा पिउने पानी आयोजना निर्माण सम्पन्न भई ८३६ घरका ४ हजार ४ सय १५ जना लाभान्वित भएका, सातवटा सिँचाइ कुलो निर्माण सम्पन्न भई ८७६ घरका ४ हजार ८८ रोपनी जग्गामा सिँचाइ सुविधा पुगेको, जोखिमयुक्त परिवार (एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका) २३७ परिवारलाई घरको जग निर्माण गर्न लाग्ने ५० हजार बराबरको सामग्री उपलब्ध गराइएको जानकारी पनि त्यस अवसरमा दिइएको थियो। पाँचवटा सहकारीलाई आर्थिक सहयोग उपलब्ध गराइ १०४ घर आबद्ध सहकारीको क्षमता विकासमा सहयोग पुगेको र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं. १ लाई तीन कोठे भनव निर्माण गरी हस्तान्तरण भएको जानकारी पनि दिइयो।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले गरेको काम र खर्चको विवरण सार्वजनिक गरेकामा धन्यवाद दिदैं सबै सार्वजनिक निकायले सामाजिक लेखाजोखा गर्नु आवश्यक रहेको सुझाएकी थिइन्। आफ्नो वार्षिक कार्यक्रम, त्यसका उपलव्धी, आम्दानी र खर्च सार्वजनिक गरेको छ।

राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहाल, राष्ट्रिय योजना आयोगका सदस्य, डा.दिलबहादुर गुरुङ, महालेखा नियन्त्रक गोपीनाथ मैनाली, समाज कल्याण परिषद्का अधिकृत श्याम तामाङ, गैसस महासंघका अध्यक्ष जीताराम लामा, एक्सन एड नेपालका कार्यकारी निर्देशक सुजिता माथेमा र राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालकी अध्यक्ष सरस्वती सुब्बाले आत्मनिर्भर केन्द्रले भूमि अधिकार अभियानको क्षेत्रमा गरेको काम उपलब्धिमूलक रहेको भन्दै पारदर्शितामा ध्यान दिइरहनु राम्रो काम भएको उल्लेख गरेका थिए।

यस्तै कार्यक्रममा समुदाय तहबाट आएका सहभागीले अनुभव सुनाएका थिए। आत्मनिर्भर केन्द्रले संस्थागत पारदर्शिता र जवाफदेहिता प्रवद्र्धन गर्न एवम् संस्थाको कामको गुणस्तर र प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले वि.सं. २०६४ सालदेखि वार्षिकरूपमा सामाजिक लेखाजोखा गर्दै आइरहेको छ।

प्रकाशित: १ आश्विन २०७६ ०२:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App