coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

दोस्रो प्याकेजको काम सुरु

वैशाख ३ गते प्र्रधानमन्त्रीको उपस्थितिमा भेरीको चिप्लेमा निकालिएको टिबिएम मेसिन। तस्बिर :नगेन्द्र/नागरिक

सुर्खेत – राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको चार महिनापछि दोस्रो प्याकेजको काम सुरु भएको छ। दोस्रो प्याकेजअन्तर्गत विद्युत्गृह (पावरहाउस), बाँध (ड्याम) र सर्ज साफ्ट निर्माण गरिने छ। यि संरचना निर्माणका लागि सिँचाइ विभागले रमण–ग्वाङ्डोन जेभीसँग २०७६ साउन १३ गते सम्झौता गरेको थियो।

गत वैशाख ३ मा प्रधानमन्त्री केपी शर्मा ओलीले बबईको हात्तीखालदेखि भेरीको चिप्लेसम्मको १२.२ किलोमिटर सुरुङको ‘ब्रेक थ्रु’ घोषणा गरेका थिए। नेपालमै पहिलो पटक सुरुङमार्ग निर्माणका लागि टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरिएको थियो। चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी (कोभेक)ले सम्झौतामा उल्लेखित अवधिभन्दा एक वर्षअघि नै सुरुङ निर्माण कार्य सम्पन्न गरेको थियो।

सुरुङ निर्माण सम्पन्न भएपछि दोस्रो प्याकेजको काम सुरु गर्न सिँचाइ विभागले टेन्डर प्रक्रिया थालेको थियो। विद्युत्गृह, बाँध र सर्ज साफ्ट निर्माणका लागि रमण–ग्वाङ्डोन जेभीले पाँच खर्ब तीन करोडको ठेक्का लिएको छ। रमण–ग्वाङ्डोनले भेरीको चिप्लेमा बाँध र बबईमा विद्युत्गृह र सर्ज साफ्ट निर्माणका लागि दुई ठाउँमा क्याम्प स्थापना गरेको छ।

बाँध निर्माणका लागि एक लाख क्युबिक मिटर र विद्युत्गृह निर्माणका लागि ५० हजार क्युबिक मिटर कंक्रिटका लागि क्रसर प्लान्ट ल्याइएको छ। ‘प्लान्ट स्थापनाका लागि अहिले व्यक्तिको जमिन भाडामा लिने प्रक्रिया सुरु गरिएको छ,’ रमण–ग्वाङ्डोन जेभीका फिल्ड प्रमुख राम श्रेष्ठले भने, ‘दसैंअघि नै प्लान्ट स्थापना गर्ने लक्ष्य लिएका छौं।’

दोस्रो प्याकेजअन्तर्गत विद्युत्गृह (पावरहाउस), बाँध (ड्याम) र सर्ज साफ्ट निर्माण गरिने छ। यि संरचना निर्माणका लागि सिँचाइ विभागले रमण–ग्वाङ्डोन जेभीसँग २०७६ साउन १३ गते सम्झौता गरेको थियो।

उनले दसैंसम्म चिप्ले र बबई क्षेत्रमा क्याम्प निर्माण, क्रसर प्लान्ट स्थापना, प्राविधिक र अप्राविधिक जनशक्ति छनोटलगायत काम सम्पन्न गरिने बताए। ‘दसैंअघि सम्पूर्ण प्रक्रिया पूरा गरेर तिहारलगत्तै निर्माण कार्य थाल्ने योजना हामीले बनाएका छौं,’ श्रेष्ठले भने, ‘राष्ट्रिय गौरवको आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्ने लक्ष्य लिएका छौं।’

भेरीको पानी बबई नदीमा खसाल्नका लागि चिप्लेमा ६ गेजसहितको ब्यारेज निर्माण गर्नुपर्छ। एक सय १४ मिटर लामो ब्यारेज १४ मिटर अग्लो हुने छ। ब्यारेजसहितको पुल निर्माण गर्नुपर्ने भएकाले चीन र भारतबाटसमेत कामदार ल्याइने छ। भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा यि संरचना निर्माणका लागि दैनिक दुई हजारको हाराहारीमा कामदार आवश्यक पर्ने छ। विद्युत्गृह निर्माण, बाँध र सर्ज साफ्टको काम निर्माण कम्पनीले २०८० साउनभित्र सम्पन्न गर्नुपर्ने कार्यादेश पाएको छ।

स्थानीयको अवरोध
रमण–ग्वाङ्डोन जेभी आयोजनास्थल आएको एक महिना भयो। स्थानीयको अवरोधका कारण कम्पनीले लक्ष्य अनुसारको काम गर्न सकेको छैन। ‘आयोजनाले मुआब्जा वितरण नगर्दा ठाउँठाउँमा अवरोध हुने गरेको छ,’ फिल्ड प्रमुख श्रेष्ठले भने, ‘फिल्डमा काम गर्ने सहज वातावरण छैन।’

आयोजनाका अनुसार चिप्लेमा निर्माण हुने बाँधले १३ हेक्टर दर्ता जमिन र आठ हेक्टर ऐलानी जमिन डुवानमा पर्छ। यस्तै स्थानीयका ११ वटा घर प्रभावित क्षेत्रभित्र पर्छन्। भेरीगंगा, लेकवेशी र गुर्भाकोट नगरपालिका आयोजना प्रभावित क्षेत्र हुन्। आयोजना प्रभावित क्षेत्रका जनतालाई मुआब्जा वितरणका लागि अघिल्लो आर्थिक वर्षमा १० करोड रुपैयाँ छुट्याएको थियो। सहायक प्रमुख जिल्ला अधिकारीको समितिले सिफारिस गरेको मुआब्जा थोरै भएको भन्दै प्रभावित क्षेत्रका बासिन्दाले मुआब्जा लिन मानेनन्। स्थानीय चलनचल्तीको मूल्यअनुसार मुआब्जा वितरण गर्नुपर्ने बताउँछन्।

‘उचित मुआब्जा पाएनौं भने हामी प्रभावित क्षेत्रमा काम गर्न दिँदैनौं,’ लेकबेंशी नगरपालिका–१ का गेहेन्द्र पाण्डेले भने, ‘स्थानीयको मन चित्त नबुझाएर आयोजना अघि बढ्न सक्दैन।’ फिल्ड प्रमुख श्रेष्ठले स्थानीयका समस्या समाधान गरेर काम गर्ने वातावरण बनाइनुपर्ने बताए। ‘सुरुमै अवरोधको सामना गर्नुप-यो भने काम गर्न गाह्रो हुन्छ,’ उनले भने, ‘आयोजना कार्यालयले यसतर्फ ध्यान दिनुपर्छ।’

बाँके र बर्दियाका ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पु-याउनुका साथै हात्तीखालमा ४८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य आयोजनाको छ। आयोजना पूरा हुन अझै चार वर्ष लाग्ने भए पनि माघदेखि आठदेखि १० क्युमेक्स (घनमिटर प्रतिसेकेन्ड) पानी बबईमा मिसाइने छ।

आयोजना प्रमुख सञ्जीव बरालले विद्युत्गृह नबन्दासम्म वर्षको ६ महिना मात्र भेरीको पानी सुरुङबाट बबईमा मिसाइने बताए। ‘भेरीको पानी बबईमा मिसाउँदा भेरीको तल्लो तटीय क्षेत्रमा जलीय जैविक विविधतालाई कस्तो असर पर्छ हेरिनेछ,’ उनले भने, ‘यसका साथै भेरीको पानीले सिञ्चित हुने खेतबारीमा कस्तो प्रभाव पर्छ भन्ने पनि हेछौं।’ आयोजना पूरा भएपछि भने भेरीबाट बाह्रै महिना ४० क्युमेक्स पानी बबईमा मिसाइने छ।

प्रकाशित: २५ भाद्र २०७६ ०२:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App