coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

बनेपा महोत्सवको तेस्रो संस्करण

बनेपा – फुटबलमा चर्चित बनेपा ब्वाइज क्लब (बिबिसी)ले यो वर्ष पनि बनेपा महोत्सव आयोजना गर्ने भएको छ। क्लबले यसअघिका दुईवटा महोत्सवलाई सफलतापूर्वक सम्पन्न गरेको अनुभवले तेस्रो वर्ष पनि आयोजना गर्न लागेको हो।

दसैंलाई लक्षित गर्दै महोत्सव असोज ६ देखि १६ गतेसम्म सञ्चालन हुन लागेको क्लब अध्यक्ष महेशकुमार कर्माचार्यले जानकारी दिए। ‘बडादसैंको रमाइलो त छँदैछ। २०६७ मा स्थापना भई क्लब हालसम्म ‘ए’ डिभिजन र ‘बी’ डिभिजनसम्म पुग्न सफल भएको छ। २०७७ भित्रमा राष्ट्रिय ‘सी’ डिभिजनमा ‘क्वालिफाइड’ हुने लक्ष्यले क्लबलाई आर्थिक सहयोग जुटाउन महोत्सव आयोजना गरेका हौं,’ उनले थपे।

फुटबल खेलका साथै काभ्रे र छिमेकी जिल्लाका उद्योग, व्यापार, पर्यटन, सूचना प्रविधि, घरेलु तथा लघु उद्यम, कृषि, कलासंस्कृतिको विकास र प्रवद्र्धनका लागि ११ दिनसम्म चल्ने गरी महोत्सवको आयोजना गरिएको उनको भनाइ छ। ‘बनेपाको प्रसिद्ध उग्रेश्वर महादेव मन्दिर परिसरमा सञ्चालन हुने महोत्सवमा एक सयभन्दा बढी स्टल रहने छन्। सो अवसरमा थप आकर्षणका रुपमा काभ्रे जिल्लामा रहेका कलासंस्कृति झल्काउने परम्परागत नाच, बाजागाजा र झाँकी पनि प्रदर्शन गरिने छ,’ उनले भने।

महोत्सवमा रौनकता थप्न स्थानीय र राष्ट्रिय कलाकारको लोकदोहोरी र लोकगीत प्रस्तुति, सांस्कृतिक कार्यक्रम, मनोरञ्जनात्मक खेल तथा फुड फेस्टिबलसमेत रहने मुख्य संयोजक हरि कर्माचार्यले जानकारी दिए। ‘मिनी फुटबल र महिला भलिबल प्रतियोगिता पनि महोत्सवमा आयोजना गरिनेछ भने बालबालिकालक्षित बाल उद्यान र मनोरन्जन पनि समावेश गरिएको छ,’ उनले थपे।

प्रकाशित: २५ भाद्र २०७६ ०१:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App