coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

गुणस्तर मापदण्ड पूरा नगर्ने ६२ उद्योग कारवाहीमा

काठमाडौं – नेपाल गुणस्तर तथा नापतौल विभागले गत आर्थिक वर्ष २०७५/०७६ मा  ६२ उद्योगलाई कारवाही गरेको छ। विभागले अनुगमन र निरीक्षण गरेका एक सय ८० उद्योगमध्ये त्यतिलाई कारवाही गरिएको महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए। विभागले गुणस्तर प्रमाण चिह्न प्राप्त उद्योगको मात्र अनुगमन, निरीक्षण गर्छ।

‘उद्योग र बजार अनुगमनबाट पाँच सय ८५ नमुना संकलन गरिएको थियो, जसमा ६२ उद्योगले गुणस्तरको मापदण्ड पूरा नगरेको पाइयो,’ महानिर्देशक पुडासैनीले भने, ‘त्यसमा ४२ उद्योगको कारवाही टुंगिएको छ।’

कारवाहीका लागि सिफारिस भएकामध्ये एउटा जिआई तार उत्पादकको इजाजत नै खारेज गरिएको र १९ उद्योग कारवाहीकै प्रक्रियामा रहेको पुडासैनीले बताए। विभागले चालु आर्थिक वर्षमा नौ उद्योगमा अनुगमन गरेको छ। अनुगमनमा संकलित ६१ नमुनामा चार उद्योगले गुणस्तर मापदण्ड पूरा नगरेको भेटिएको छ।

गत आर्थिक वर्षमा कारवाही गरिएका उद्योगमा २७ सिमेन्टका छन्। त्यस्तै ६ रड, पाँच जिआई तार, तीन एचडिपिई पाइप, चार पिभिसी केबल, पाँच पेन्ट र १२ खाद्य उद्योग छन्। चालु आर्थिक वर्षमा कारवाहीको लागि सिफारिस भएका चार उद्योगमा सबै सिमेन्ट छन्।

कारवाही गरिएका अधिकांश उद्योगले गुणस्तर र वस्तुको उत्पादन गर्दा तोकिएको मात्रामा आवश्यक कच्चा सामग्री प्रयोग नगरेको पाइएको छ। विभागले धेरैको कारवाही प्रक्रिया विभागस्तरमै टुंग्याउने गरेको छ। ‘अनुगमनका क्रममा अधिकांश उद्योगका कमजोरी कम जटिल देखिएकोले स्पष्टीकरण र सुधारका योजना सहित टुंग्याइएको छ,’ पुडासैनीले भने ‘कारवाही प्रक्रियामा रहेका उद्योगमा पनि चित्त बुझ्दो स्पष्टीकरण र सुधार योजनाको पर्खाइमा छौं। कतिपयको थप अनुसन्धान आवश्यक देखिन्छ।’

बजारमा केही उद्योगले विभागबाट स्वीकृति नलिई गुणस्तर  चिह्न प्रयोग गरेको पनि पाइएको छ। गत वर्ष इजाजत नलिई गुणस्तर चिह्न प्रयोग गरेको काठमाडौंको प्रान पोटेटो क्रेकरविरुद्ध विभागले जिल्ला अदालत काठमाडौंमार्फत मुद्दा अघि बढाएको छ। विराटनगरको ओरियन्टल जिआई वायर उद्योगविरुद्ध विराटनगर कार्यालयले कारवाही अगाडि बढाएको महानिर्देशक पुडासैनीले बताए।

विभागले अघिल्ला वर्षमा भन्दा अनुगमन तथा निरीक्षण बढाएको सहायक सूचना अधिकारी सुन्दरकुमार थापाले बताए। अनुगमन र निरीक्षण विभाग एवं विराटनगर, वीरगन्ज, काठमाडौं, बुटवल, नेपालगन्ज, जनकपुर, पोखरा, भैरहवा र धनगढीस्थित क्षेत्रीय कार्यालयमार्फत गरिँदै आएको विभागले जनाएको छ।

प्रकाशित: २५ भाद्र २०७६ ०१:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App