१५ चैत्र २०८० बिहीबार
अर्थ

कृषि र पशुपालनमा साढे २९ करोड लगानी

धुलिखेल–११, कल्छेवेंशीमा गरिएको तरकारी खेती। तस्बिर : नागरिक

बनेपा – धुलिखेल नगरपालिकाले आगामी चार वर्षभित्र नगरलाई कृषि उपज र पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाउन २९ करोड ४३ लाख रुपैयाँ खर्च गर्ने भएको छ।

‘कृषिमा क्रान्ति, कृषिबाट समृद्धि र शान्ति’ अभियानसहित नगरपालिकाबाट स्वीकृत चौवर्षिय कृषि विकास रणनीतिक योजनाले यस्तो लक्ष्य लिएको हो।

‘नगरपालिकामा पछि गाभिएका वडा सबै कृषि तथा पशुपालनमा अग्रणी रहेकाले ती क्षेत्रसहित पुराना वडालाई बढी ‘फोकस’ गरेर रणनीतिक योजना तयार गरेका हौं,’ सामाजिक विकास अधिकृत बिदुर गौतमले भने।

नगरपालिकाले रणनीतिक योजनाको अन्त्य वर्ष (०७८/७९) सम्ममा कृषिमा १० करोड ७० लाख  र सोही अवधिका निम्ति पशुजन्य उत्पादनका क्षेत्रमा १८ करोड ७३ लाख रुपैयाँ खर्च गर्ने भएको छ।

‘कृषिअन्तर्गत थोक बजार विकास, बजार सूचना प्रणाली व्यवस्थापन, बजार सूचना, कर्मचारी र किसानका लागि तालिम, जलवायु परिवर्तन अनुकूलन, कस्टम हायरिङ सेन्टर र प्रयोगशाला स्थापना एवं सञ्चालनमा खर्च गर्नेछौं,’ उनले भने।

पशुजन्य उत्पादनतर्फ व्यावसायिक बाख्रा, गाईभैंसीपालन, अर्ध व्यावसायिक कुखुरापालनलाई जोड दिइएको छ। ‘पशुजन्य उत्पादनको बजारीकरणका लागि सहकारीका माध्यमबाट उद्योग र बजारस्थलको व्यवस्था गरिने रणनीति पनि बनाएका छौं,’ गौतमले थपे।

नगर क्षेत्रमा कृषिले पहिलो स्थान पाएको पनि सर्वेक्षणका क्रममा देखिएको उनको भनाइ छ। ‘वडाअनुसार प्रतिघरधुरीले वर्षमा कृषिमा आधारित उत्पादनबाट नौ लाख रुपैयाँसम्म आम्दानी गरेको देखिएको छ। यस्ता परिवारलाई कृषिमा यान्त्रिकीकरण (मेकनाइजेसन)को सुविधा उपलब्ध गराएर अझ बढी उत्पादन गराउने सोच रहेको छ,’ गौतमले भने।

नगरपालिकाले रणनीतिक योजनाको अन्त्य वर्ष (०७८/७९) सम्ममा कृषिमा १० करोड ७० लाख  र सोही अवधिका निम्ति पशुजन्य उत्पादनका क्षेत्रमा १८ करोड ७३ लाख रुपैयाँ खर्च गर्ने भएको छ।

पहिलो पटक पशु व्यवस्थापन र नश्ल सुधार गर्दै नगरपालिकाले चार वर्षमा ७५ प्रतिशत जर्सी गाईबाट सरदर १२ लिटर र मुर्रा भैंसीबाट सरदर १० लिटर दूध प्रतिदिन प्रतिजनावर कायम गर्नका लागि विशेष योजना ल्याएको जानकारी दिइएको छ।

‘आधार वर्ष ०७४/७५ लाई मानेर आगामी चार वर्षमा दूध उत्पादनमा पाँच प्रतिशत, मासु र अण्डामा चार–चार प्रतिशतले वार्षिक वृद्धि गर्दै जाने योजना रहेको छ। यसका लागि एक हजारभन्दा बढी कुखुरा पाल्ने किसानलाई बिमामार्फत सुरक्षाको ग्यारेन्टी गर्दैछौं,’ उनले भने।

नगरपालिकाले पहिलो पटक सबै वडामा एग्रोभेट पसलको पहुँच पु-याउने नीति लिएको छ। ‘एग्रोभेटबाट किसानले औषधि तथा बीउबिजनमात्रै नभई प्राविधिक परामर्श पनि पाउने भएकाले सबै वडामा एग्रोभेटको कभरेज र सञ्चालकको क्षमता अभिवृद्धि गर्दैछौं। एक पटकका लागि ५० हजार रुपैयाँ अनुदान दिएर उनीहरुलाई व्यवस्थित बनाउने छौं,’ गौतमले थपे।

पछिल्लो समयमा मानवमा प्रयोग हुने एन्टिबायोटिक्स र हर्मोनको जथाभावी प्रयोगबाट जनस्वास्थ्य, पशुस्वास्थ्य र वातावरणमा नकारात्मक असर पुगेकाले यस्ता औषधिलाई पूर्जा (प्रेस्कृप्सन)का आधारमा र बिक्री अभिलेखमा जनाएरमात्रै बेच्ने काममा कडाइ गर्ने नीति नगरपालिकाले लिएको उनको भनाइ छ। ‘यसबाट औषधिको सही सदुपयोग हुनेमात्रै नभई भेटेरिनरी जनस्वास्थ्यमा असर पार्ने क्रियाकलापसमेत न्यून हुनेछन्,’ गौतमले भने।

नगरपालिकाबाट वडाअनुसार औसतमा २० देखि ५० प्रतिशतसम्म युवा गाउँ छाडेर विदेश पलायन हुने गरेको अवस्थामा उनीहरुलाई कृषिमै आधारित उद्यममा सहभागी गराएर गाउँमै टिकाउने समेत रणनीतिमा उल्लेख छ। ‘कृषिमा यान्त्रिकीकरण, व्यावसायिक खेती र पशुपालन, बजार व्यवस्थापनमा युवालाई सहभागी गराएर आगामी चार वर्षमा विदेश पलायन दर २० देखि ३५ प्रतिशतमा झार्ने योजना छ,’ उनले भने।

धुलिखेल नगरपालिकाको कूल घरधुरीमध्ये ५७.३७ प्रतिशतले आधा हेक्टर (१० रोपनी)भन्दा कम भूमिको उपयोग गरिरहेका हुँदा यीनलाई साना तथा सीमान्तकृत कृषकको रुपमा वर्गीकरण गरिएको छ। ‘साना किसानले पनि कृषि र पशुजन्य उत्पादनमा योगदान दिन सक्ने भएकाले उहाँहरुको दुई–चारवटा बाख्रा, भेडा, गाई, भैंसी वा थोरै बारीमा फल्ने खेतीको पनि नगरपालिकाले प्रवद्र्धन गरिदिने नीति लिएका छौं। यसबाट उहाँहरुलाई स्थानीय सरकारले मद्दत पु-याएको अनुभूति हुनेछ,’ गौतमले थपे।

नगरपालिकाको कूल भूभाग पाँच हजार चार सय ७२ हेक्टरमध्ये ७१.६४ अर्थात् तीन हजार नौ सय २० हेक्टरमा कृषि हुने गरेको छ भने साढे २१ प्रतिशत वनजंगल रहेको छ। नगरपालिकाले यीलगायत नौ प्रकारले भू–उपयोगको वर्गीकरण गर्दै आएको छ।

प्रकाशित: २२ भाद्र २०७६ ०३:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App