coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

भैरहवाबाट १५ अर्ब रूपैयाँको अन्न र तरकारी आयात

भारतबाट अन्न बोकेर नेपाल आएका मालबाहक ट्रक भैरहवा भन्सारबाट बाहिरिँदै। तस्बिर : रेखा/नागरिक

बुटवल – सरकारी तथ्यांकले हरेक वर्ष धान र तरकारीको उत्पादन बढेको देखाए पनि भारतबाट हुने अन्न आयात घटेको छैन। नेपालीको मुख्य खाना दाल–भात–तरकारीका लागि भारतकै मुख ताक्नुपर्ने अवस्था छ। भन्सारको तथ्यांकले चामल, मकै र तरकारीको आयात बढेको देखाँउछ।

कृषिमा अर्बौं रुपैयाँ खर्च गरिए पनि चामल र आलु–प्याजका लागि बर्सेनि अर्बौं रुपैयाँ बिदेसिइरहेको छ। रुपन्देहीको बेलहिया नाकाबाट मात्रै एक वर्षमा १५ अर्बको चामल र तरकारी आयात भएको छ। गत आर्थिक वर्षमा यो नाकाबाट नौ अर्ब १० लाखको अन्न र पाँच अर्ब ९७ करोड १७ लाखको तरकारी आयात भएको छ।

एक वर्षमा भैरहवास्थित बेलहिया नाकाबाट आठ अर्ब २१ करोड ७५ लाखको एक लाख ८० हजार मेट्रिक टन चामल आयात भएको छ। भारत उत्तर प्रदेशको गाँजीपुर, अक्वरपुर, बनारस, बस्ती तथा लखनउबाट स्टिम जिरा, सावाँ–मनसुली, सोना–मनसुली लङ–बासमती तथा विभिन्न ब्रान्डका बास्नादार चामल आयात हुन्छ। पछिल्ला वर्षमा सहरमा मात्रै होइन पहाड, तराईका धेरैजसो गाउँ–बस्तीमा भारतीय चामलका बोरा पुग्छन्।

सर्जु, सावित्री जस्ता मोटा चामल बिक्री हुने ठाउँमा अचेल जिरा मसिनो, मनसुली जस्ता मसिनो जातका चामलको माग बढेको भैरहवाका थोक व्यापारी बताउँछन्। नेपालीको आनीबानीमा आएको परिर्वतन, जग्गा प्लटिङ तथा बढ्दो रेमिट्यान्सले भारतीय चामलको माग बढेको व्यापारी बताउँछन्। तराईमा अव्यवस्थित बासोबास बढ्दो छ। पहाडमा खेतबारी बाँझै छाडेर बिदेसिने र आफैंले उब्जाएको मकै, कोदो र फापरले छाक टार्ने चलन हराउँदै गएको छ। यसलाई भारतबाट अन्न आयात बढ्नुको मुख्य कारण ठान्छन्, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल।

भैरहवास्थित बेलहिया नाकाबाट पछिल्ला वर्षमा गहुँको आयात भने घटेको देखिन्छ। गत वर्ष यहाँबाट ५६ करोड ८३ लाख मूल्यको १८ हजार मेट्रिक टन गहुँ आयात भयो। भारतको इलाहाबाद, लखनउ र बनारसबाट गहुँ पैठारी हुने भैरहवाका व्यवसायी नेत्र आचार्यले बताए। गहुँको खपत र उत्पादन दुवै नेपालमा बढ्दै गएको राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्र भैरहवाले जनाएको छ।

एक वर्षमा १० करोड ८८ लाखको ३२ हजार मेट्रिक टन मकै र १० करोड ५५ लाखको धान नेपाल भित्रिएको छ। साढे आठ लाखको कोदो आयात भएको छ। यहाँबाट आयात हुने कृषि उपजमा ९५ प्रतिशत भारतबाट र बाँकी अस्ट्रेलिया र क्यानडा जस्ता तेस्रो मुलुकबाट आउने क्वारेन्टाइन कार्यालय बेलहियाले जनाएको छ।

उन्नत तथा मौसम अनुकूलका बीउबिजनका कारण धान उत्पादन बढे पनि सिँचाइ अभाव र खेतीयोग्य जमिनको क्षेत्रफल घट्दै जाँदा समस्या भएको केन्द्रका अधिकारी बताउँछन्। एक वर्षमा १० करोड ८८ लाखको ३२ हजार मेट्रिक टन मकै र १० करोड ५५ लाखको धान नेपाल भित्रिएको छ। साढे आठ लाखको कोदो आयात भएको छ। यहाँबाट आयात हुने कृषि उपजमा ९५ प्रतिशत भारतबाट र बाँकी अस्ट्रेलिया र क्यानडा जस्ता तेस्रो मुलुकबाट आउने क्वारेन्टाइन कार्यालय बेलहियाले जनाएको छ।

बेलहिया नाकाबाट वार्षिक पाँच अर्बभन्दा बढीको तरकारी आयात हुन्छ। तरकारीमा आलु, प्याजको आयात उच्च छ। गत आर्थिक वर्ष ०७४/७५ मा साढे पाँच अर्बको आलु, प्याज आयात भएको भैरहवा भन्सारका सूचना अधिकृत कलिराम पौडेलले बताए।

दुई अर्ब ४३ करोड २६ लाखको एक लाख १५ हजार मेट्रिक टन आलु आयात भएको छ। तीन अर्ब १० करोड ८६ लाख मूल्यको ९९ हजार मेट्रिक टन प्याज आयात भएको छ। भारतको आग्रा, नासिक लगायत स्थानबाट आलु, प्याज नेपाल आउँछ।

१६ करोड ५५ लाखको भारतीय गोलभेंडा, १७ करोड ९२ लाखको हरियो सागसब्जी र साढे ८ करोडको लसुन आएको छ। कृषि विज्ञका अनुसार आलु, प्याज तराई, पहाड र हिमाल तीनवटै भूभागमा कम लगानीमा धेरै फलाउन सकिने तरकारी हो। त्यही चिजका लागि भैरहवा नाकाबाट मात्रै वार्षिक साढे पाँच अर्बभन्दा बढी रकम बिदेसिएको छ।

सरकारले कृषिको व्यवसायीकरण तथा उत्पादन बढाउन नयाँ नयाँ कृषि नीति तथा सेवा सुविधा र सहुलियतका कार्यक्रम लागू गरे पनि तीनको प्रभावकारिता भने खासै नदेखिएको कृषि विज्ञ बताउँछन्। मल, बीउ सिँचाइ जस्ता कृषिका आधारभूत सुविधा किसानसम्म पुग्न सकेको छैन। माटो र हावापानी अनुकूलको उपयुक्त बालीबारे कृषकलाई परामर्श दिने परिपाटीको विकास भएकै छैन। कृषकका नाममा सरकारले दिने सुविधा र अनुदानका कायक्रममा गैरकृषकको हालिमुहाली बढ्दा वास्तविक किसान यो पेसाबाट पलायन भइरहेको बताउँछन्, रुपन्देही तिलोत्तमाका किसान रामप्रसाद भण्डारी।

भारतमा वास्तविक किसानले पाउने अनुदान, सेवा, सहुलियत तथा कृषिमैत्री वातावरणका कारण बर्सेनि कृषि पेसामा फर्कनेको संख्या धेरै भए पनि नेपालमा भने कृषिबाट पलायन हुनेको संख्या बढेको उनले बताए। किसानलाई दिइने भनिएका अनुदान र सहुलियत कर्जामा किसानकै पहँुच विस्तार हुन नसक्दा कृषि कर्मबाट पलायन हुनेको संख्या बढ्दै गएको उनको भनाइ थियो।

प्रकाशित: ११ भाद्र २०७६ ०२:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App