१६ चैत्र २०८० शुक्रबार
अर्थ

काभ्रेमा विद्युतीय इन्डक्सन चुलो वितरण

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणमा विद्युत खपत बढाउनको लागि ग्राहकलाई इन्डक्सन चुलो वितरण कार्य सुरु गरेको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार तेमाल गाउँपालिकाको नारायणस्थानमा आयोजित एक कार्यक्रममा विद्युतीय चुलो इक्डक्सनको वितरण गरेका छन्। प्राधिकरणले लोडसेडिङ अन्त्य गरेसँगै विद्युतीय चुहोको खपत बढाउन ग्राहकलाई अनुरोध गर्दै आइरहेको छ। अन्य इन्धनभन्दा सस्तो, भान्सा सफा र आधुनिक देखिने, पकाउन सजिलो र सुरक्षित हुने, आगो नफैलने लगायतका कारणले विद्युतीय चुलोप्रति उपभोक्ताको आकर्षण बढेको हो।

तिमाल सामुदायिक ग्रामिण विद्युतीकरण सहकारी संस्थाले आफ्ना ग्राहकलाई विद्युतीय चुलोको प्रयोग गराउन अभियान नै सुरु गरेको छ। समुदायकै अग्रसरतामा विद्युतीय चुलो प्रयोग अभियानकै रुपमा पहिलोपल्ट सुरु भएको हो।  सहकारी संस्थाले पहिलो चरणमा पाँच हजार ४ सय घरधुरीलाई ६ हजार सात सय रुपैयाँमा इन्डक्सन चुलो, कुकर, कराई र पानी तताउने ताप्के उपलब्ध गराएको छ।

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक  घिसिङले उपभोक्ताले आफ्नो भान्सामा विद्युतीय चुलोको प्रयोग गर्न थाल्नु मुलुकको समृद्धितर्फको यात्रमा महत्वपूर्ण फड्को भएको बताए।

‘तीन वर्षअघिसम्म कहालिलाग्दो लोडसेडिङ भोगेका हामी विद्युतीय चुलोको प्रयोगको उच्चारणसमेत गर्न सक्दैनथ्यौ, त्यतिवेला बढी विद्युत खपत गर्ने उपकरण प्रयोग नगरौं भनिन्थ्यो, अहिले अवस्था फेरिएको छ, विद्युत खपत बढाउनुहोस् भन्नु पर्ने अवस्था आएको छ’,उनले भने। ‘अब खाना बिजुलीकै प्रयोग गरी पकाउँछौं, विजुलीले नै पानी तताउँछौं, गाडी पनि विजुलीबाटै चल्ने चड्छौं,यसबाट मुलुक पेट्रोलियम पदार्थको आयात कम गरी ऊर्जामा आत्मनिर्भरतर्फ अगाडि बढ्ने छ।’

विगतमा लोडसेडिङ अन्त्य गर्नु चुनौतीपूर्ण रहेको उल्लेख गर्दै घिसिङले अब मुलुकभित्र उत्पादित विद्युतको खपत गर्नु ठूलो चुनौती रहेको बताए। ‘उपभोक्तालाई पर्याप्त, नियमित, गुणस्तरीय र भरपर्दो विद्युत् आपूर्ति गर्न नै प्राधिकरणले प्रसारण र वितरण लाइनको सदुढीकण गर्ने लगायतका काम मुलुकभर नै अभियानकै रुपमा चलाइरहेको छ’,उनले थपे।

सरकारले ‘घर घरमा विद्युतीय चुल्हो’ प्रयोगको कार्यक्रम अन्तर्गत हरेक घरमा विद्युतीय चुल्हो जडान गर्न प्रोत्साहन गर्ने नीति लिएको छ। यसबाट ग्यास आयातलाई क्रमशः प्रतिस्थापन गर्दै व्यापार घाटालाई न्यून गर्ने सरकारको योजना छ।

सामुदायिक विद्युत उपभोक्ता महासंघले गरेको अध्ययनले ग्रामिण खाना पकाउन ग्याँसको सट्टामा विद्युत् प्रयोग गरेमा झण्डै आधासस्तो पर्ने देखाएको छ। ग्रामिण भेगमा खाना पकाउँदा दिनमा एक/दुई युनिट विद्युत् खपत हुने देखाएको छ। जसको मुल्य करिब १४ रुपैयाँ मात्रै हुन्छ।

कार्यक्रममा तेमाल गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले आफ्नो क्षेत्रमा विद्युतीय चुलो प्रयोगलाई प्रोत्साहन गर्न चुलो खरिदमा अनुदान दिने व्यवस्था गरिने बताए।

कुलमान सम्मानित
कार्यक्रममा तिमाल सामुदायिक ग्रामिण विद्युतीकरण सहकारी संस्थाले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले दोसल्ला ओडाएर सम्मान गरेको थियो। लोडसेडिङ अन्त्य गरी उच्यालो नेपाल बनाउन र प्राधिकरणको संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै घिसिङलाई सम्मान गरिएको संस्थाका अध्यक्ष सार्कीमान तामाङले बताए।

प्रकाशित: ९ भाद्र २०७६ ०३:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App