४ वैशाख २०८१ मंगलबार
अर्थ

नेपाल एयरलाइन्सलाई चीनको उडान अनुमति, युरोपको प्रतिबन्ध हटाउन पहल गर्ने

काठमाडौं– नेपाली उड्डयन क्षेत्रमा छिमेकी दुई देश भारत र चीनको सहयोग प्राप्त हुने भएको छ।

नागरिक उड्डयन प्राधिकरणले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै भदौ ३ गतेदेखि ७ गतेसम्म काठमाडौंमा भएको आइकाओ सदस्य राष्ट्रका नागरिक उड्डयनका बरिष्ठ अधिकारीहरुको सम्मेलनमा भारत र चीनका अधिकारीहरुले नेपाल नागरिक उड्डयनलाई सहयोग गर्ने बताएका जानकारी दिएको हो।

नेपाली बायु सेवाले युरोपको आकाशमा उडान भर्न नपाई रहेको बेला छिमेकी चीनका अधिकारीले चीनको आकाशमा नेपाली जहाज उड्न सक्ने आश्वासन दिएका हुन्। नेपाली बायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको विभिन्न क्षेत्रमा उडान भरिरहेको दृष्टान्त दिँदै चिनिया अधिकारीले नेपाली बायुसेवाले हवाई सुरक्षाको सबै मापदण्ड पुरा गरेकोले प्रतिबन्ध लगाइरहनु नपर्ने बताएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए। छलफलमा चिनियाँ अधिकारीले युरोपको आकाशमा लागेको प्रतिबन्ध हटाउन चीन सरकारले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको पनि महानिर्देशक पोखरेलले बताए।

यस्तै  छलफलमा भारतीय अधिकारीहरुले नेपालको हवाई ट्राफिकलाई ब्यबस्थापन गर्न हवाई रुट र होल्डिङ्ग एरिया उपलब्ध गराउन सकिने बताएको पनि नागरिक उड्डयनले पत्रकार सम्मेलनमा जानकारी दिएको छ। यस्तै निकट भविष्यमा संचालनमा आउन लागेको गौतमबुद्ध बिमानस्थलमा अन्तर्राष्ट्रिय बायु सेवाका विमानले अवतरणको समयमा केही भारतीय भूभाग पनि छुने हुँदा के गर्ने भन्ने समस्या थियो यसलाई भारतीय पक्षले सकारात्मक रुपमा लिँदै तत्काल समस्या नहुने बताएको छ। पत्रकार सम्मेलनमा महानिर्देशक पोखरेलले भारतीय पक्षको आश्वासनले ठूलो समस्या हल भएको बताए।

यस्तै दक्षिण कोरियाका अधिकारीले पनि नेपाल दक्षिण कोरिया जान नेपाली बायु सेवाले अवसर पाउन सक्ने बताएको छ। नेपालको हवाई उड्डयन सुरक्षामा कुनै समस्या नरहेको भन्दै प्रक्रियागत रुपमा सेफ्टी अडिट गरेर अगाडि जान सकिने कोरियाली अधिकारीले प्रतिबद्धता जनाएको पनि महानिर्देशक पोखरेलले जानकारी दिए।

काठमाडौँमा ५ दिन चलेको सम्मेलनमा ३६ देशका प्रतिनिधिहरु सहभागी थिए। सम्मेलनको उद्घाटन नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।

प्रकाशित: ८ भाद्र २०७६ १४:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App