१६ चैत्र २०८० शुक्रबार
अर्थ

कृषि उत्पादनमा बढ्दो विषादी

पाँचथर - तरकारी र अन्य कृषिजन्य उत्पादनमा मानव स्वास्थ्यलाई प्रतिकूल असर पार्ने किसिमका विषादी प्रयोग बढिरहेको छ। भारतबाट आयात हुने तरकारी र खाद्यान्नको बिगबिगी भइरहेका बेला यहाँको उत्पादनमा पनि विषादी प्रयोग बढेर गएको छ।

चाँडो फाइदा निकाल्ने भन्दै किसानले विषादी प्रयोग गरेको देखिन्छ भने व्यवस्थित रुपमा प्रयोग गर्न प्राविधिकले मार्ग निर्देशन गरेको पनि पाइँदैन। जिल्लामा तरकारीमा बढी विषादी प्रयोग भएको कृषिसँग सम्बन्धित बताउँछन्। खाद्यान्न लगायत उत्पादनमा पनि विषादीको प्रयोग बढेको देखिन्छ। जिल्लामा अर्गानिक उत्पादन बढाउने चर्चा बेलाबेलामा चले पनि जैविक मल, विषादीको प्रयोग घट्दै गएको छ।

रोग–किरा नियन्त्रण, लामो समयसम्म टिकाउन भन्दै विषादी प्रयोग बढेको हो। विषादी बिक्री गर्न सदरमुकाम र बाहिर प्रशस्त एग्रोभेट खुलेका छन्। कतिपय एग्रोभेट दर्ता भएको पनि पाइँदैन। विषादी बिक्री वितरणबारे अनुगमन गर्ने निकाय पनि सक्रिय छैन। क्रमशः विषादी प्रयोग बढ्दै गएको कृषि क्षेत्रका विज्ञ बताउँछन्। प्राविधिक ज्ञानको अभावमा जथाभावी विषादी प्रयोग बढिरहेको उनीहरुको भनाइ छ। भारतीय बजारबाट आएको उत्पादनसँग प्रतिस्पर्धा गर्न तथा चाँडो नतिजा निकाल्न विषादी प्रयोग बढेको देखिन्छ। उत्पादित उपजलाई लामो समय टिकाउने प्रकृतिका विषादी पनि देखिने गरेको कृषि प्राविधिक बताउँछन्।

‘जिल्लामा विषादी प्रयोग बढ्दै गएको छ। यहाँ कडा विषादीको प्रयोगभन्दा पनि मात्रा बढी प्रयोग भएको देखिन्छ। अगुनमका लागि प्राविधिक जनशक्तिको अभाव छ। यसरी नै विषादी प्रयोग बढ्दै गयो भने भोलिका दिनमा समस्या देखिने खतरा छ,’ कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर विष्टले भने। उनका अनुसार विषादीको बढी प्रयोग रोग–किरा नियन्त्रणमा भएको छ। आवश्यकताभन्दा धेरै विषादी प्रयोग हुनु यहाँको समस्या रहेको उनले बताए।

यदाकदा बन्देज लगाएको विषादी पनि प्रयोगमा आउने गरेको चर्चा हुन्छ। प्रयोगका लागि अनुमति प्राप्त विषादीको प्रयोग पनि प्राविधिक रुपमा हुन नसक्ने बताइन्छ। जनशक्तिको अभावमा अनुगमन लगायत काम हुन नसकिरहेको विष्ट स्वीकार्छन्। ग्रामीण क्षेत्रमा खाद्यान्न बिक्री गर्ने ठाउँमा समेत विषादी बिक्री भएको देख्न पाइन्छ।

पटकपटक कुरा उठाए पनि विषादी प्रयोग न्यूनीकरण हुन नसकेको राष्ट्रिय कृषक समूह महासंघ पाँचथरका अध्यक्ष गणेश पोखरेल बताउँछन्। उत्पादन र उपभोग गर्नेमात्र होइन बिक्रेता तथा कृषकलाई पनि यसले असर पु¥याएको छ। ‘बेच्ने तथा प्रयोग गर्नेलाई असर गरेको उदाहरण देखापरेको छ। विषादी कडा, मध्यम, सामान्य गरी विभाजन गरिएको हुन्छ। प्रायः मध्यम र कडा विषादीनै प्रयोग भएको देखिन्छ,’ पोखरेलले भने ‘यसरी विषादी प्रयोग बढ्दै जाँदा समस्या थपिँदै जान्छ। घरेलु उपचार विधिको प्रयोग रोकिँदै गएको छ।’

विषादीको बढी प्रयोग रोगनाशकको हुने गरेको उनले सुनाए। एप्रोन, पञ्जा लगायत सुरक्षकवच प्रयोग नगर्दा समस्या हुने उनको भनाइ छ। जिल्लामा कृषिमा ठूलो व्यवसायीकरण देखिँदैन। नगदेबाली र तरकारी बाली अलि बढि उत्पादन हुने गर्छ। सानो समस्यालाई नै समाधान गर्न विषादी प्रयोग हुने गरेको बताइन्छ। विषादी बढी भएको खाद्यान्न, तरकारी खाँदा रोग प्रतिरोधी क्षमतामा असर पु¥याउने जिल्ला अस्पताल पाँचथरका डाक्टर मुकेशकुमार झाले बताए। विषादी भएको कृषि उपज उपभोगको असर पछिसम्म देखापर्ने उनको भनाइ छ।

प्रकाशित: ८ भाद्र २०७६ ०२:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App