वीरगन्ज – रेलमार्फत ढुवानी भई भारतीय बन्दरगाहको बाटो ‘कन्टेनर’मा तेस्रो मुलुक जाने मालवस्तुको ढुवानी लागत सस्तो हुन लागेको छ।
वीरगन्जमा बिहीबार एमएससी मेडिटेरियन सिपिङ एजेन्सीको प्रतिनिधि संस्था एमएससी इन्डिया र सुक्खा बन्दरगाह सञ्चालन गर्ने कम्पनी हिमालयन टर्मिनल्सबीच छलफल भएको छ। ढुवानीका लागि कन्टेनरमा लाग्ने भाडा घटाउँदै निर्यातकर्तालाई फाइदा गराउने र निर्यात प्रक्रिया सहज बनाउने विषयमा छलफल भएको एमएससी इन्डियाका सहायक महाप्रबनधक अतानु घोषले नागरिकलाई बताए।
नेपाल आउने मालसामानको कन्टेनर भाडामा उताबाट भरेर आउँदा र यताबाट खाली फर्किंदा दुवै बापतको शुल्क सिपिङ कम्पनीले लिएका हुन्छन्। सो कन्टेनर यताबाट मालवस्तु भरेर जाँदा पहिले लिइसकेको फिर्तीबापतको भाडा बराबरको रकम निर्यातकर्तालाई सुबिधाको रुपमा दिने प्याकेज एमएससीले दिन लागेको हो। ‘पहिले नै त्यसमा सिपिङ कम्पनीले आते–जाते दुवैको भाडा लिइसकेको हुन्छ। त्यसमा यताबाट माल लैजाने भाडा आइरहेको छ भने सिपिङ कम्पनीलाई दोहोरो आम्दनी हुन जान्छ,’ नेपाली कार्गोको लागि एमएससीका पारवहन साझेदार हनुमान रोडवेजका नेपाल प्रतिनिधि विनोद जैनले भने, ‘हो त्यही रकम सहुलियतको रुपमा नेपाली निर्यातकर्तालाई प्राप्त होस भन्ने किसिमको सुविधा सुरु गर्न उहाँहरु आउनुभएको हो।’
उक्त रकमप्रति कन्टेनर नेपाली रुपैयाँ १० देखि १२ हजारसम्म हुने घोषले बताए। निर्यातका लागि भर्ती कन्टेनर वीरगन्ज ‘आइसिडी’ (इनल्यान्ड कन्टेनर डिपो) अर्थात सुक्खा बन्दरगाहमा ल्याएर एमएससी एजेन्सीको प्रतिनिधिलाई बिलसहित बुझाएपछि त्यसपछिको औपचारिकता एजेन्सी आफैंले पूरा गर्ने व्यवस्था समेत सँगसँगै लागु हुँदैछ। यसले गर्दा नेपालबाट निर्यात पहिलेभन्दा सहज हुने जैनले दाबी गरे। ‘फिट टु एक्सपोर्ट’ अर्थात निर्यातको लागि दुरुस्त कन्टेनरमा मात्र निर्यात गर्न सक्ने भएकोले त्यसको लागि सुक्खा बन्दरगाहमै मुख्य सिपिङ एजेन्सीले मर्मत केन्द्र समेत राखेका छन्।
यस्तै खाले सुविधा यसअघि ‘मक्र्सलाइन’ले मात्र उपलब्ध गराएकोमा नेपाली कार्गो ढुवानी गर्ने अर्को मुख्य कम्पनी एमएससीले पनि अब सुरु गर्न लागेको हो। ‘हामीले यसलाई नेपाली निर्यातको लागि एउटा प्याकेजकै रुपमा घोषणा गर्ने तयारी गरेका छौं,’ घोषले भने, ‘जसबाट नेपाली निर्यात प्रवद्र्धनमा मद्दत मिल्नेछ, सँगसँगै हामीले हाम्रा सेवाग्राहीलाई बढी सन्तुष्टि दिन सक्नेछौं।’
सुक्खा बन्दगाह सञ्चालन गर्ने कम्पनी हिमालयन टर्मिनल्सका प्रमुख कार्यकारी अधिकृत विष्णुकान्त चौधरीले तुलनात्मक रुपमा नेपाली व्यापारलाई पहिलेको भन्दा राम्रो सुविधा प्राप्त हुन थालेकोले यो सुखद पक्ष भएको बताए। निर्यातको अनुपात बढ्दा त्यसबाट अझ समग्र व्यापारलाई लाभ हुने उनको विश्लेषण छ।
विशाखापटनमबाट कारोबार सुरु भएपछि वीरगन्जमै ‘ड्रप अफ’ (खाली कन्टेनर फिर्ता लिने) सुरु भयो। यसमा कन्टेनर खाली गरेर सुक्खा बन्दरगाहमै फिर्ता गर्न आयातकर्ताले चार दिनको समय पाउने गरेका थिए। अब इसिटिएस लागू हुँदा सिपिङ कम्पनीले १४ दिनसम्मको समय दिन थालेका छन्। आयातकर्ताले यस सुविधाको दुरुपयोग गर्दै कन्टेनर खन्याएर फिर्ता गर्ने काममा ढिलाइ गर्न थालेको रेकर्डले देखिन्छ। यसले गर्दा सुक्खा बन्दरगाहमा कन्टेनरको जाम सुरु भएको छ। पहिले कोलकतामा प्राप्त सुविधा वीरगन्जमा आए जस्तै पहिले कोलकतामा रहेको जामको समस्या पनि वीरगन्जमा सरेर आएको चौधरीले बताए। समस्या बढेर गयो भने नेपाली आयात निर्यातलाई सुविधा दिन ओइरिएका सिपिङ कम्पनी पछि हट्ने र पुनः पुरानै ‘डिटेन्सन’ (विलम्ब शुल्क)को फर्किन सक्ने सरोकारवालाको चिन्ता छ।
प्रकाशित: ६ भाद्र २०७६ ०१:३४ शुक्रबार