coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

मेलम्चीको बाँकी काम सिनो हाइड्रोलाई

काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको बाँकी रहेको सुरुङ र हेडवक्र्स (बाँध) निर्माणको ठेक्का चिनियाँ कम्पनी सिनो हाइड्रोले पाएको छ। मेलम्ची खानेपानी विकास समितिले सिनो हाइड्रोलाई पर्फर्मेन्स ग्यारेन्टीसहित सम्झौता गर्न आउन भनिसकेको छ। ऋणदाता एसियाली विकास बैंक (एडिबी)ले सिनो हाइड्रोलाई ठेक्का दिन स्वीकृति दिएसँगै समितिले ठेकेदार कम्पनीलाई सम्झौता गर्न अनुरोध गरेको हो।

मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यराज कँडेलले मेलम्चीको हेडवक्र्स र सुरुङ निर्माण गर्न सबैभन्दा कम रकम कबोल गरेकाले सिनो हाइड्रोलाई ठेक्का दिइएको बताए। ‘सार्वजनिक खरिद ऐनअनुसार सिनो हाइड्रोले सबैभन्दा कम रकममा काम गर्ने कबोल ग-यो। त्यसैले सोही कम्पनीलाई छनोट गरिएको हो,’ उनले भने, ‘समितिले सिनो हाइड्रोलाई १४ दिनभित्रै सम्झौता गर्न आउन आह्वान गरिएको छ।’

प्रमुख कँडेलका अनुसार सिनो हाइड्रोले अन्य कम्पनीले भन्दा कम रकम कबोलेकाले उसलाई ठेक्का परेको हो। सिनो हाइड्रो हेडवक्र्स ९० करोड र सुरुङको काँकी काम ७५ करोड रुपैयाँमा गर्न तयार छ। मेलम्ची खानेपानी आयोजनाले हेडवक्र्स निर्माणको लागि एक अर्ब १२ करोड र सुरुङको बाँकी काम सम्पन्न गर्न ९५ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरेको थियो।

मेलम्ची खानेपानी विकास समितिले आयोजनाको सुरुङ र बाँध निर्माणको लागि प्राविधिक मूल्यांकनमा छनोट भएको चिनियाँ कम्पनी सिनो हाइड्रोको नाममा स्वीकृति माग्दै दुई साताअघि एसियाली विकास बैंक (एडिबी)मा पत्र पठाएको थियो। एडिबीले गत साता सिनो हाइड्रोको नाममा सहमति दिएको थियो। बोलपत्र अनुसार अब ठेकेदार कम्पनीले २८ दिनभित्र ठेक्का सम्झौता गरिसक्नुपर्ने हुन्छ।

मेलम्ची खानेपानी विकास समितिले आयोजनाको सुरुङ र बाँध निर्माणको लागि प्राविधिक मूल्यांकनमा छनोट भएको चिनियाँ कम्पनी सिनो हाइड्रोको नाममा स्वीकृति माग्दै दुई साताअघि एसियाली विकास बैंक (एडिबी)मा पत्र पठाएको थियो। एडिबीले गत साता सिनो हाइड्रोको नाममा सहमति दिएको थियो। बोलपत्र अनुसार अब ठेकेदार कम्पनीले २८ दिनभित्र ठेक्का सम्झौता गरिसक्नुपर्ने हुन्छ। आयोजना प्रमुख कँडेलले सिनो हाइड्रोलाई जतिसक्दो छिटो सम्झौता गर्न अनुरोध गरेको बताए।

‘मेलम्चीको काम फास्ट ट्र्याकबाट गर्न खोजेका छौं। त्यसैले जतिसक्दो छिटो सम्झौता गर्न अनुरोध गरेका छौं,’ उनले भने, ‘सम्झौता गरेपछि मेलम्चीको बाँकी काम अघि बढाउने बाटो खुल्नेछ।’

हाई हिमालयन हाइड्रो–रमण जेभीले पनि आयोजनाको बोलपत्रमा सहभागिता जनाएको थियो। तर यो जेभीले भन्दा सिनो हाइड्रोले कम रकमको बोलपत्र पेस गरेकाले ठेक्का पाएको हो।

करिब ९७ प्रतिशत काम सम्पन्न भए पनि गत पुस २ गते साबिकको ठेकेदार सिएमसीले छाडेर हिँडेसँगै मेलम्ची आयोजना अलपत्र परेको थियो। आयोजनाका अनुसार सात सय मिटर सुरुङ ढलान गर्न बाँकी छ। मेलम्चीको हेडवक्र्स, भेन्टिलेटर साफ्ट, स्कोडा मेसिनलगायत प्राविधिक काम गर्न बाँकी छ। आयोजनाका अनुसार मेलम्ची आयोजनाको बाँकी काम सम्पन्न गर्न करिब साढे दुई अर्ब रुपैयाँ लाग्ने जनाएको छ। सिनो हाइड्रोले हाल माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, तनहुँ जलविद्युत् आयोजना लगायत आयोजनामा काम गरिरहेको छ।

प्रकाशित: ४ भाद्र २०७६ ०३:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App