coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

स्थानीय तहमा बेरुजुको खात

खोटाङ – खोटाङको स्थानीय तहमा बेरुजुको खात देखिएको छ। महालेखा परीक्षक कार्यालयको लेखा परीक्षणको प्रारम्भिक प्रतिवेदनअनुसार जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा करोडौं बेरुजु देखिएको हो।

आर्थिक वर्ष २०७४/७५ भित्र स्थानीय तहमा भएका आर्थिक गतिविधिका विषयमा महालेखा परीक्षकको कार्यालयले गत पुसमा लेखापरीक्षण गरेको थियो। कागजात नमिलेको, अनियमित भई असुल गर्नुपर्ने र पेस्की रकम फछ्र्यौट गर्न बाँकी रहेको रकमको आधारमा महालेखाले स्थानीय तहको बेरुजुको मात्रा औंल्याएको हो।

महालेखाले लेखापरीक्षण गर्दासम्ममा बराहपोखरी गाउँपालिकाको कुल बेरुजु दुई करोड ४० लाख ६ हजार एक सय ६२ रुपैयाँ देखाइएको छ। अघिल्लो आर्थिक वर्ष एक करोड ७९ लाख ५४ हजार चार सय तीन रुपैयाँ बेरुजु देखिएको सो गाउँपालिकामा आर्थिक वर्ष २०७४/७५ मा ६० लाख ५१ हजार सात सय ५९ रुपैयाँ बेरुजु कायम भएको महालेखाको प्रतिवेदनमा औंल्याइएको छ।

यस्तै, साकेला गाउँपालिकामा आर्थिक वर्ष २०७४/७५ मा एक करोड ५२ लाख ४३ हजार नौ सय ५८ रुपैयाँ र त्यसभन्दा अघिल्लो आर्थिक वर्ष एक करोड ३५ लाख सात हजार ६ सय एक रुपैयाँ गरी कुल दुई करोड ८७ लाख ५२ हजार पाँच सय एक रुपैयाँ बेरुजु भेटिएको महालेखा परीक्षकले जनाएको छ।

अघिल्लो आर्थिक वर्ष दुई करोड ४४ लाख ९९ हजार १६ रुपैयाँ बेरुजु देखिएको केपीलासगढी गाउँपालिकामा २०७४/७५ मा ९१ लाख ७२ हजार सात सय ८९ रुपैयाँ गरी कुल तीन करोड ३६ लाख ७१ हजार आठ सय ६ रुपैयाँ बेरुजु पाइएको प्रतिवेदनमा उल्लेख छ। यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा तीन करोड १५ लाख ९९ हजार ६ सय १९ रुपैयाँ पुरानो तथा आर्थिक वर्ष २०७४/७५ मा तीन करोड ४२ लाख ४६ हजार सात सय  दुई रुपैयाँ गरी कुल तीन करोड ५८ लाख ४६ हजार तीन सय २२ रुपैयाँ बेरुजु देखिएको छ।

जिल्लाकै ठूलो स्थानीय तहको रूपमा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आर्थिक वर्ष २०७४/७५ मा दुई करोड २५ लाख ३७ हजार नौ सय २९ रुपैयाँ र सोभन्दा अघिल्लो आर्थिक वर्ष दुई करोड १९ लाख ६१ हजार ६० रुपैयाँ गरी कुल चार करोड ४४ लाख ९८ हजार नौ सय ८९ रुपैयाँ बेरुजु देखिएको छ। यस्तै, हलेसी तुवाचुङ नगरपालिकामा आर्थिक वर्ष २०७४/७५ मा चार करोड ५० लाख १३ हजार ६ सय १९ रुपैयाँ बेरुजु देखिएको छ।

हलेसी तुवाचुङ नगरपालिकामा पुरानो बेरुजु फछ्र्यौट नभएको उल्लेख भए पनि पुरानो बेरुजुको मात्रा उल्लेख गरिएको छैन। आर्थिक वर्ष २०७४/७५ मा ४० लाख ३४ हजार पाँच सय ६६ रुपैयाँ बेरुजु कायम भएको ऐसेलुखर्क गाउँपालिकाले पुरानो बेरुजु रकममध्ये ११ लाख २७ हजार आठ सय तीन रुपैयाँ फछ्र्यौट गरेको महालेखाले जनाएको छ।

खोटेहाङ गाउँपालिकामा आर्थिक वर्ष २०७४÷७५ मा ७४ लाख ४६ हजार चार सय ९९ रुपैयाँ, जन्तेढुंगा गाउँपालिकामा एक करोड ५३ लाख ४० हजार सात सय ३६ रुपैयाँ र रावाबेंसी गाउँपालिकामा एक करोड १६ लाख ९५ हजार एक सय ९५ रुपैयाँ बेरुजु कायम देखिएको महालेखाले जनाएको छ। महालेखाको प्रतिवेदनमा यी गाउँपालिकाको परानो बेरुजु फछ्र्यौट नभएको भनिए पनि बेरुजुको मात्रा किटान गरिएको छैन।

वित्तीय जवाफदेहिता मूल्यांकनमा ऐसेलुखर्क अगाडि
वित्तीय जवाफदेहीता मूल्यांकममा खोटाङको १० स्थानीय तहमध्ये ऐसेलुखर्क गाउँपालिका सबैभन्दा अगाडि देखिएको छ। व्यवस्थापकीय, वित्तीय व्यवस्थापन, सेवा प्रवाह र खरिद व्यवस्थापन/विकास निर्माणसम्बन्धी सूचकका आधारमा ऐसेलुखर्क गाउँपालिका ‘बी’ ग्रेड प्राप्त गर्न सफल भएको छ। ६० देखि ७९ अंकबीचको अंक ल्याउने स्थानीय तहले ‘बी’ ग्रेड प्राप्त गर्ने मापदण्ड छ।

कोष तथा लेखा नियन्त्रकको कार्यालय खोटाङका प्रमुख लालबहादुर केसीका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, केपीलासगढी गाउँपालिका, खोटेहाङ गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, बराहपोखरी गाउँपालिका, रावाबेंसी गाउँपालिका र साकेला गाउँपालिकाले भने ‘सी’ ग्रेड प्राप्त गरेका छन्। ४० देखि ५९ स्कोरकोबीचको अंक प्राप्त गर्ने स्थानीय तहलाई ‘सी’ ग्रेड प्राप्त गरेको मानिन्छ। ‘बी’ ग्रेड प्राप्त गर्ने स्थानीय तहलाई धेरै राम्रो र ‘सी’ ग्रेड प्राप्त गर्नेलाई राम्रो तह मानिएको छ।

प्रकाशित: ४ भाद्र २०७६ ०३:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App