८ वैशाख २०८१ शनिबार
अर्थ

कालिञ्चोकमा इलामे प्रविधिको प्रयोग

गोलभेंडाको टनेलमा काम गरिरहेका दोलखाको कालिञ्चोक गाउँपालिका–१ स्थित बेगुम्पाका किसान। तस्बिर : रमेश/नागरिक

दोलखा (कालिञ्चोक) – असार र साउनको मध्य बर्खामा जिल्लाको कालिञ्चोक गाउँपालिका–१ बेगुम्पाका राजेन थामी अलैंची गोडमेल गर्न व्यस्त छन्।

बेगुम्पा गाउँका नमुना कृषक राजेनले आफ्नो सात रोपनी जग्गामा अलैंची लगाएका छन्। आफ्नो बालीको गोडमेल र रेखदेखबाहेक उनी गाउँमा अन्य किसानलाई उच्च आम्दानी दिने नगदेबालीबारे तालिम दिन पनि व्यस्त छन्।

राजेन तीन महिनाअघि इलाम घुमेर आए। गाउँमा कृषि, पशुपालनसहित एकीकृत सामुदायिक विकासमा काम गर्दै आएको एउटा संस्थाले उनीसहित केही नमुना कृषकलाई इलाम डुलाएर ल्याएको थियो। कृषि र पशुपालनमा अब्बल मानिएको इलामका नमुना कृषक र फामहरू हेरेर फर्किएका राजेन अचेल आफ्नो बालीनाली बढाउँदै गाउँलेलाई समेत सिकाउन व्यस्त छन्।

राजेनजस्तै बलबहादुर थामीको समेत कृषि कर्ममा भ्याइनभ्याई छ। घरवरिपरि गोलभेंडा खेती र अकबरे खुर्सानी लगाएका बलबहादुरको गोठमा दुईवटा दुधालु गाई छन्। घरकै पल्लो पाखामा अम्रिसो पनि लगाएका छन्। फलेको गोलभेंडा र खुर्सानी गाउँमै बनाइएको हाट घरमा लगेर बेच्छन्। बलबहादुरको आम्दानीसमेत मनग्गे छ।   
कालिञ्चोक गाउँपालिका–१ मा बेगुम्पा, तारेभीर, डुसिखर्क र क्याङपोल गरेर चारवटा ठूला बाक्ला बस्ती छन्। तीबाहेक अन्य केही साना टोलसमेत रहेको यो वडामा सीमान्तकृत थामी जातिको बाहुल्य छ। सदरमुकामबाट टाढा र विकट रहेको यहाँका प्रायको पेसा वर्षमा ६ महिना दार्जिलिङ गएर भारी बोक्ने र त्यहीँबाट कमाएर ल्याएको पैसाले परिवार चलाउने थियो।

तर यो गाउँको पहिचान अहिले फेरिएको छ। गाउँका प्रायः मानिस दार्जिलिङ जान छाडेका छन्। घरैपिच्छे गोलभेंडाको टनेल लगाएका छन्। यो वर्ष खुर्सानी राम्रो फलेको छ। खाली जमिनमा अम्रिसो र अलैंची लगाइएको छ। प्रायका घरमा घरसँगै गाई र भैंसी बाँध्ने व्यवस्थित गोठसमेत बनाइएको छ। कुनै बेला तरकारीको नाममा आलु मात्र पाइने यो गाउँमा अचेल ताजा तरकारी पाइन थालेको छ।

वडाध्यक्ष बाबुलाल थामीका अनुसार कालिञ्चोक गाउँमा फलेको अकबरे खुर्सानीको सदरमुकाम र अन्य बजारमा उच्च माग छ। ‘यहाँ फलेको खुर्सानी र गोलभेंडा अर्गानिक रहेका कारण धेरै ठाउँबाट माग आउन थालेको छ,’ थामीले भने। उनले गाउँमा किसानहरू कृषि कर्ममा उत्साहित भएर लागिरहेको बताए।

‘घरैपिच्छे गोलभेंडाका टनेल, खुर्सानी, प्याज, लसुन देखिन्छन्,’ थामीले भने, ‘कृषि पेसा गर्ने प्रायका घरमा एउटा गाई वा भैंसी छ।’ यस्तै, कतिपयका आफ्नै किवी र अन्य फलफूल खेतीसमेत छन्। थामीका अनुसार कृषि पेसामा लाग्ने एउटा परिवारले वार्षिक दुईदेखि तीन लाख रुपैयाँसम्म कमाउन थालेको छ।

कुनै बेला दार्जिलिङबाट श्रम गरेर ल्याएको रकमले चल्ने यो गाउँ कृषिमा अब्बल बन्दै जानुमा एउटा कथा छ। २०६६ पछि  इलामको नाम्सालिङ विकास संस्थाले योसहित तत्कालीन तीन गाविसमा आफ्ना कार्यक्रम सञ्चालन ग-यो। २०७२ को भूकम्पपछि कालिञ्चोकमा मात्र काम गर्ने अनुमति पायो।  एकीकृत सामुदायिक विकास परियोजनाअन्तर्गत गाउँभरिका एक हजार परिवार समेटिएका छन्।

कालिञ्चोकलाई कृषिमा अब्बल बनाउन नाम्सालिङले इलामको प्रविधि सिकाउने गरेको छ। गत वर्ष इलामका पाँचजना नमुना कृषकलाई दुई महिनासम्म कालिञ्चोकमा राखेर विभिन्न बालीनालीबारे सिकाइएको नाम्सालिङका फिल्ड संयोजक राजन केसीले जानकारी दिए। यस्तै, कालिञ्चोकका ३० जना नमुना कृषकले यसबीचमा इलाम भ्रमण गरिसकेका छन्।

गाउँभरि कृषि र पशुपालनमा आकर्षण बढ्दै जान थालेपछि युवासमेत गाउँमै रोकिएका छन्। दार्जिलिङ र अन्य देशमा गएर श्रम गरी ल्याएको रकमबाट परिवार धान्दै आएका क्याङपोलका पूर्णबहादुर थामीले विदेश नगएर गाउँमै गरेको खेतीले मनग्गे आम्दानी गरिरहेको सुनाए।

‘विदेश जाँदा श्रम गरेर बचेको पैसाबाट किनेर खाएको भरमा परिवार चलाउनुपथ्र्यो,’ उनले भने, ‘अचेल त ताजा तरकारी खान पाइएको छ। दूध, दही र मोही खान पाएर बच्चाहरू हृष्टपुष्ट भएका छन्।’पूर्णबहादुरले किवी खेती विस्तार गर्दै बगैंचा बनाएका छन्। कृषि र पशुपालनसँगै गाउँमा व्यावसायिक आम्दानी हुने सीप विकासमा समेत नाम्सालिङले सहयोग गर्दै आएको केसीले जानकारी दिए।

प्रकाशित: ४ भाद्र २०७६ ०२:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App