२४ श्रावण २०७७ शनिबार
अर्थ

राजस्व चुहावटको सूचना दिनेलाई पुरस्कार

काठमाडौं – सरकारले राजस्व चुहावट भएको वा गरिएको भन्ने सूचना दिनेलाई उचित पुरस्कारको व्यवस्था गर्ने भएको छ। राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने लक्ष्यका साथ सरकारले संघीय संसद्मा प्रस्तुत गरेको ‘राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन विधेयक’मा उक्त व्यवस्था छ।

राजस्व छलेको सूचना दिने सुराकीलाई सो कसूरसम्बन्धी मुद्दाको अन्तिम किनारा लागेपछि असुल भएको रकमको सुन, हिरा, जवारतको हकमा १० प्रतिशत र अन्य वस्तुको हकमा २० प्रतिशतले हुन आउने रकम बराबरको पुरस्कार दिइने व्यवस्था गरिएको छ।

विधेयकमाथि प्रतिनिधिसभाको अर्थ समितिमा सोमबारदेखि छलफल सुरु भएको छ। विधेयमाथि ११ सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन्। समितिको बैठकमा सांसदहरूले आयातमा निर्भर राजस्व संकलनको वर्तमान अवस्था अन्त्य गर्न, प्रगतिशील कर प्रणालीबाट राजस्व संकलन गर्न र राजस्व चुहावटका दोषीलाई कडा सजायको व्यवस्था गर्न माग गरेका थिए।

राजस्व चुहावट गर्नेलाई साना वा ठूला व्यवसायी नभनी सबैलाई दोषअनुसारको दण्ड सजायको व्यवस्था गर्नुपर्ने, उहाँहरूको भनाइ थियो। राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रणसम्बन्धी ऐनलाई समयानुकूल बनाउने लक्ष्यका साथ नयाँ विधेयक ल्याइएको भन्दै कुनै पनि कमी कमजोरी हुन नदिन र कम सजाय पाएर दोषी छुट्ने अवस्था आउन नदिनसमेत सांसदहरुको माग थियो।

श्रमजीवी मजदुरलाई फसाएर ठूला दोषी उम्काउने काम नगर्न, दोषअनुसारको कारवाही हुने व्यवस्था गर्न, कम राजश्व तिर्ने वा राजश्व नतिर्ने उद्देश्यले गलत वा झुठा लेखा विवरण वा मागजात प्रस्तुत गरी वा नगरी प्रचलित कानुनबमोजिम तिर्नुपर्ने वा बुझाउनुपर्ने राजस्व नतिरेमा  कारवाही गर्ने विषयलाई थप प्रष्ट पार्नसमेत सांसदहरुको माग थियो।

सांसदहरु लक्ष्मणलाल कर्ण, एकवाल मियाँ, दिव्यमणि राजभण्डारी, विमला विक, प्रेम सुवाललगायतले राजस्व चुहावट नियन्त्रणका लागि सबै प्रकारका संयन्त्रको प्रयोग गर्न र दण्ड सजायको कडा व्यवस्था गर्नुपर्ने बताएका थिए।

संशोधनको प्रक्रियामा रहेको विधेयकमा राजस्व चुहावट गर्नेलाई ५० लाखसम्मको बिगोमा ६ महिना कैद, ५० लाखदेखि एक करोडसम्मको बिगोमा ६ महिनादेखि एक वर्षसम्म कैद, एक करोडदेखि तीन करोडसम्मको बिगोमा एक वर्षदेखि तीन वर्षसम्म कैद र तीन करोडभन्दा माथि जतिसुकै बिगो भए तीन वर्षदेखि पाँच वर्षसम्म कैद सजायको व्यवस्था गरिएको छ।

यस्तै, विधेयकमा अनुसन्धान अधिकृत वा अनुसन्धानमा संलग्न कर्मचारीले जानीजानी कुनै व्यक्तिलाई दुःख दिने नियतले वा बद्नियत राखी राजस्व चुहावट गर्न मद्दत गरेको प्रमाणित भएमा त्यस्ता कर्मचारीलाई विभागीय कारवाही गर्ने व्यवस्था गरिएको छ।

अर्थमन्त्री डा युवराज खतिवडाले राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने लक्ष्यका साथ नयाँ विधेयक प्रस्तुत गरिएको बताए। उनले राजस्व चुहावटमा संलग्न व्यवसायी, राजस्व प्रशासनमा रहेका कर्मचारी तथा अन्य सरोकार भएकालाई समेत जिम्मेवार र मर्यादित बनाउने सोच विधेयकको रहेको उल्लेख गरे।

अर्थ मन्त्रालयका सचिव राजन खनालले सूचना प्रविधिको अत्यधिक प्रयोग गरी राजस्व चुहावट नियन्त्रण गर्ने सोचका साथ सरकारले उक्त विधेयक प्रस्तुत गरेको बताए। ‘राष्ट्र सेवकलाई पनि जिम्मेवार बनाउने लक्ष्य विधेयकमा  छ। राजस्व चुहावटमा कुनै पनि प्रकारको छुट दिन सकिँदैन,’ उनले भने।

राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले दण्ड सजायको व्यवस्थालाई समयानुकूल बनाउँदै प्रविधिको प्रयोगलाई बढी जोड दिइने र कुनै पनि प्रकारको चुहावट हुन नदिन विशेष ध्यान दिइएको बताए।रासस

प्रकाशित: ३ भाद्र २०७६ ०९:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App