coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मकैबालीमा अमेरिकी फौजी कीराको प्रवेश भएकाे पुष्टि

अमेरिकन फल आर्मी वर्मले खाएको मकैको पात। तस्बिर :नागरिक

बनेपा – काभ्रेपलाञ्चोक जिल्लामा यो सिजनको मकैबालीमा देखिएको नौलो किसिमको कीरा अन्ततः अमेरिकी फौजी कीरा (अमेरिकन फल आर्मी वर्म) नै भएको सरकारले पुष्टि गरेको छ।

प्लान्ट क्वारन्टिन एवं विषादी व्यवस्थापन केन्द्रका प्रमुख एवं राष्ट्रिय बिरुवा संरक्षण संगठन, नेपालका अध्यक्ष डा. डिल्लीराम शर्माले यो कुराको पुष्टि गरेका हुन्। ‘हाम्रो १९औं बैठकले नेपालमा अमेरिकन फौजी कीरा (अमेरिकन फल आर्मी वर्म–स्पोडोप्टेरा फ्युजिपडा) प्रवेश गरेको आधिकारिक घोषणा गरी सम्बन्धित सरोकारवालालाई जानकारी गराउने निर्णय गरिसकेका छौं,’ उनले थपे।

नेपालका बाली संरक्षण र कीट विज्ञले कीराको रुप र आकारका आधारमा (अमेकिरन फल आर्मी वर्म) भन्दै आए पनि आधिकारिक पुष्टिका लागि संगठनले तीन पटकसम्म कीराको नमूना भारतको बैंगलुरुस्थित भारतीय कृषि अनुसन्धान परिषद्, राष्ट्रिय कीट संशाधन ब्युरोमा पठाएको उनको भनाइ छ। ‘हामीले कीराको ‘जेनेटिक कन्फर्मेसन’का लागि दुईपटक बैंग्लोर पठाएको स्याम्पलको परीक्षणबाट ‘फल आर्मी वर्म’ होइन भन्ने रिपोर्ट आएको थियो। तर, पछिल्लो र तेस्रो स्याम्पल परीक्षणले ‘अमेरिकन फल आर्मी वर्म’ नै हो भन्ने यकीनसहित रिपोर्ट आएको छ। यो कीरा अब नेपाल प्रवेश गरेको पुष्टि भएको छ,’ शर्माले भने। सन् २०१८ को जुलाईमा भारतको कर्नाटक राज्यमा पहिलो पटक अमेरिकी फौजी कीरा (अमेरिकन फल आर्मी वर्म) देखा परेको पुष्टि भएको थियो। त्यसको ठीक एक वर्षपछि नेपालमा पनि देखा परेको हो।

‘कर्नाटकमा अमेरिकन फल आर्मी वर्म देखा परेको समाचारलगत्तै हामीले नेपालमा यस कीराको सर्भेलेन्स, अनुगमन तथा सम्भावित उपस्थितिबारे अत्यन्त चनाखो भएर अध्ययन गरिरहेका थियौं,’ शर्माले भने, ‘अमेरिकन फल आर्मी वर्मको सम्भावित उपस्थिति पत्ता लगाउने उद्देश्यले पटक–पटक पूर्वको झापादेखि पश्चिममा दाङसम्मका क्षेत्रमा सर्भेलेन्स तथा फिल्ड भ्रमण कार्यक्रम सञ्चालन गरेर शंकास्पद नमूना भारतको बैंगलुरुस्थित भारतीय राष्ट्रिय कीट संशाधन ब्युरोमा स्पष्ट पहिचानका लागि पठाएका थियौं,’ उनले थपे।

‘हाम्रो १९औं बैठकले नेपालमा अमेरिकन फौजी कीरा (अमेरिकन फल आर्मी वर्म–स्पोडोप्टेरा फ्युजिपडा) प्रवेश गरेको आधिकारिक घोषणा गरी सम्बन्धित सरोकारवालालाई जानकारी गराउने निर्णय गरिसकेका छौं।’

पहिलो पटक जनवरीमा र दोस्रो पटक जुन २०१९ मा पठाइएका नमूनाबाट टोबाको कटवर्म (स्पोडोप्टेरा लिटुरा) प्रमाणित भएको थियो। यद्यपि धेरै जिल्लाबाट मकैमा पनि नौलो खाले कीराको प्रकोप कायमै रहेको गुनासोका आधारमा संगठनले अनुगमन तथा सम्भावित उपस्थितिबारे अनुगमन जारी नै राखेको शर्माको भनाइ छ।

‘सिमिट नेपाल तथा प्लान्ट क्वारिन्टिन एवं बिषादी व्यवस्थापन केन्द्रका प्राविधिकको संयुक्त टोलीले काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, नवलपुर तथा चितवनका विभिन्न स्थानमा भ्रमण गरी कीराले मकैमा पु-याएको क्षति र कीराको नमूनाहरु संकलन ग-यौं। यसलाई पुनः जुलाई ३० मा बैंगलुरु पठाइएकामा अगस्ट ९ मा प्राप्त नतिजाले नेपालबाट पठाइएको नमूना अमेरिकन फल आर्मी वर्म नै भएको पहिचान भएको छ,’ उनले थपे।

शताब्दियौंदेखि अमेरिकी किसानका लागि ठूलो समस्या बन्दै आएको फल आर्मी वर्मले ८० प्रकारका बालीलाई नष्ट गर्ने भए पनि मकैबालीलाई सबैभन्दा बढी क्षति गर्ने विज्ञको भनाइ छ। खन्चुवा स्वभावको फल आर्मी वर्मले मकैको बोटको गुभोदेखि पात, डाँठ खाने क्रममा हजारौं बोटमा एकैपटक धेरै क्षति पु¥याउने भएकाले विज्ञले यो कीरा भित्रिएकोमा चिन्ता व्यक्त गरेका हुन्।

विश्व खाद्य तथा कृषि संगठन (एफएओ)का अनुसार तीन वर्षअघिमात्रै अफ्रिका महादेशको पश्चिमी क्षेत्रमा प्रवेश गरेको यो कीराले यतिखेर सब–सहारन अफ्रिकाभर नै समस्या ल्याइरहेको छ। त्यस क्षेत्रमा खाद्य सुरक्षा र जीविकोपार्जनमै चुनौती बनेको अमेरिकन फल आर्मी वर्म एसिया महादेशका भारत र येमनमा सन् २०१८ जुलाईमा प्रवेश गरेको हो। सोही वर्षको अन्त्यमा श्रीलंका, बंगलादेश र थाइल्यान्डमा नयाँ कीरा प्रवेश गरेको हो।

म्यानमार, चीन, इन्डोनेसिया, लाओस, मलेसिया, भियतनाम, इजिप्ट र दक्षिण कोरिया सन् २०१९ को जुनमा यो कीरा प्रवेश गरेको हो। त्यसको एक महिनापछि अर्थात जुलाईमा जापानमा प्रवेश गरेको अमेरिकन फल आर्मी वर्मको पछिल्लो प्रवेशको सूचीमा पछिल्लो राष्ट्रका रुपमा नेपाल भएको छ। मकैको बढ्दो व्यापार तथा अमेरिकन फल आर्मी वर्मको पुतली (मथ)को उड्ने क्षमताकै कारण यो कीरा एकैपटक धेरै राष्ट्रमा सल्केको विज्ञको भनाइ छ।

यसअघि पनि नेपालमा अन्यत्रबाट भित्रिएका विभिन्न कीराले अनेकौं बालीनाली सखाप पार्दै आएको छ। यीनमा गोलभेंडाको घातक कीरा ‘टुटा एब्सोलुटा’ र जुनारलगायत सुन्तला जात फलफूलमा फल कुहाउने औंसा पार्ने झिँगा (चाइनिज सिट्रस फ्लाई–ब्याक्ट्रोसेरा मिन्याक्स) रहेको छ। दक्षिण अमेरिकामा सन् १९६० मा देखा परेको घातक कीरा ‘टुटा एब्सोलुटा’ (गोलभेंडाको पात खन्ने कीरा) सन् २०१४ मा भारतको महाराष्ट्र र कर्णाटकका विभिन्न क्षेत्रमा प्रकोपकै रुपमा फैलिएको थियो। त्यसको दुई वर्षपछि अर्थात् पहिलो पटक २०७३ जेठ ३ गतेको दिनमा नेपालमा पनि यो कीराको आक्रमण सुरु भएको दिन मानिन्छ।

यस्तै, चीनबाट भुटान, भारतको सिक्किम हुँदै सिन्धुलीमा जुनारलगायत सुन्तलाजात फलफूलमा फल कुहाउने औंसा पार्ने झिँगा (चाइनिज सिट्रस फ्लाई–ब्याक्ट्रोसेरा मिन्याक्स) प्रवेश गरेको कीट विज्ञको भनाइ छ। २०७२ मा यो झिँगाको प्रकोप सुरु भएयताको अवधिमा सिन्धुलीका जुनार किसानले बर्सेनि करोडौं रुपैयाँ क्षति बेहोर्दै आइरहेका छन्।

प्रकाशित: १ भाद्र २०७६ ०२:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App