१६ चैत्र २०८० शुक्रबार
अर्थ

विद्युत् खपत बढाऔं

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणले पाँच वर्ष अघिसम्म धेरै विद्युत् खपत गर्ने विद्युतीय उपकरण नचलाउनु भन्दै ग्राहकलाई सार्वजनिक सूचना प्रकाशन गरेर उर्दी जारी गथ्र्याे। प्राधिकरणले त्यस बेला मागअनुसारको विद्युत् आपूर्ति गर्न नसकेको लाचारीपन देखाउँदै सूचना मात्र जारी गर्दैनथ्यो। धेरै विद्युत्् उपयोग हुनेखालका विद्युतीय उपकरण चलाएको खण्डमा बिजुली विच्छेद गर्नेसम्मको चेतावनी दिन्थ्यो। तर, केही वर्ष अघिसम्म धेरै विद्युत् खपत नगर्नुहोस् भन्दै चेतावनी दिने प्राधिकरणले अहिले ग्राहकलाई जतिसक्दो धेरै विद्युत् खपत गर्न अनुरोध गर्न थालेको छ।

अहिले पहिलाको जस्तो दैनिक १८ घन्टे लोडसेङिङ मात्र अन्त्य भएको छैन, प्राधिकरणलाई नेपालमा उत्पादन भएको बिजुली कसरी खपत गर्ने भन्ने कुराले टाउको दुखाइ भएको छ। चाडपर्वको समयमा सार्वजनिक सूचना नै जारी गरेर धेरै विद्युत्् खपत हुने विद्युतीय उपकरण नबाल्न अनुरोध गर्ने प्राधिकरण आफैं अहिले भने जनतालाई जतिसक्दो धेरै विद्युत् खपत गर्नुस् भन्न थालेको छ।

प्राधिकरणलाई यस्तो अवस्थामा ल्याउने श्रेय भने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई जान्छ। कुलमान नेतृत्वकको चामत्कारिक व्यवस्थापनकै कारण नेपाल अँध्यारो युगबाट उज्यालो युगतर्फ लम्किँदै आइरहेको छ। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ टिमवर्क र टिम स्पिरिटकै कारणले अँध्यारो युगबाट उज्यालो युगमा ल्याउन सफल भएको बताउँछन्।

पहिला ग्राहकलाई कम विद्युत् खपत गर्न उर्दी जारी गथ्र्याे !

‘चुवाहट नियन्त्रण गर्दै कुशल व्यवस्थापनकै कारणले अहिलेको उपलब्धि हात पारेका हौं,’ उनले भने, ‘यो मेरो एकल प्रयासले मात्रै सम्भव भएको होइन्। सम्पूर्ण टिम वर्ककै कारण ठूलो सफलता हात पारेका हौं।’ प्राधिकरणको नेतृत्व सम्हालेसँगै कुलमानले लोडसेडिङ मात्रै अन्त्य गरेनन् आठ अर्ब ८९ करोडभन्दा धेरै वार्षिक घाटा नियन्त्रण गर्दै अहिले वार्षिक सात अर्ब २० करोड खुद नाफा कमाउने बनाउन सफल भएका छन्।

अहिले तिनै कुलमानलाई नेपालमा उत्पादन भएको बिजुली कसरी खपत गराउने कुराले पिरोलेको छ। चालु आर्थिक वर्ष ०७६÷७७ को असार मसान्तसम्म करिब एक हजारभन्दा धेरै मेगावाट बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिँदैछ। उक्त बिजुली उत्पादन भएसँगै बिजुली खपत नै मुख्य समस्याको रुपमा देखिनेछ। पछिल्लो समय बर्खामा पर्याप्त जलविद्युत्् उत्पादन भए पनि सोही अनुसार खपत हुन सकिरहेको छैन।

सरकारले आव ०७५/७६ मा प्रतिव्यक्ति विद्युत्् खपत दर वार्षिक दुई सय ५० किलोवाट प्रतिघण्टा पु¥याउने लक्ष्य राखेको थियो। गत असार मसान्तसम्ममा यो दुई सय ४५ किलोवाट प्रतिघण्टा पुगेको छ। सरकारले गत आवमा आफ्नो लक्ष्यभन्दा पाँच किलोवाट प्रतिघण्टा कम खपत भएको हो। अहिले भारतबाट आयात गरिएको विद्युत् जोडेर एक हजार तीन सय २५ मेगावाट राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ। गत आवमा मात्रै एक सय ९५ मेगावाट जलविद्युत् राष्ट्रिय प्रसारणलाइनमा जडान गरिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश घिमिरे पछिल्लो समय नेपालमा ऊर्जा क्षेत्रले ठूलो उपलब्धि हात पारेसँगै चुनौती पनि थपिएको बताउँछन्। ‘अहिले हामीले सन्तुष्टि र गर्व गर्ने ठाउँ छैन। हाम्रासामु थुप्रै चुनौती छन्,’ उनले भने, ‘उत्पादन भएको ऊर्जालाई व्यवस्थापन गर्न नसके ठूलो विपत्ति आउनेछ।’

सचिव घिमिरेका अनुसार वर्षाैपछि पर्याप्त मात्रामा जलविद्युत्् उत्पादन हुने क्रम सुरु भएको छ। त्यसैले विद्युत् खेर जान दिनु हुँदैन। ‘आगामी एक वर्षभित्रै एक हजार मेगावाटभन्दा बढी जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने क्रममा छन्। त्यसैले अब ऊर्जा खपत कसरी गर्ने भन्नेतर्फ ध्यान केन्द्रित गर्न जरुरी भइसक्यो,’ उनले भने, ‘अहिले हात पारेका उपलब्धि जोगाइराख्न र निरन्तरता दिनु मुख्य चुनौती हो।’

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले वितरण प्रणालीको कमजोर संरचनाकै कारण उद्योगी÷व्यापारीको मागअनुसार विद्युत् आपूर्ति गर्न नसकेको बताउँछन्। ‘नेपालगन्जका एउटै व्यापारीले ३० मेगावाट विद्युत् माग गरेका छन्। तर, कमजोर संरचनाकै कारण माग अनुसारको विद्युत्् आपूर्ति गर्न सकेका छैनौं।’ उनका अनुसार पछिल्लो समय उद्योगी व्यापारीले करिब दुई सय मेगावाट बिजुली माग गर्दै आइरहेका छन्।

मन्त्री पुनले ऊर्जा मन्त्रालयले इनर्जी बैंकिङका लागि छिमेकी मुलुक भारत र बंगलादेशसँग विभिन्न चरणमा छलफल भइरहेको बताए। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ प्रसारणलाइन सुधारतर्फ केन्द्रित हुँदै आएको बताउँछन्। ‘विद्युत् प्रसारणलाइन र वितरणलाइन सुधारमा ध्यान दिँदै आइरहेका छौं,’ उनले भने, ‘अहिले पाँच एम्पियर क्षमता भएका ग्राहकको घरमा १५ एम्पिरको एससिभी जडान कार्यलाई तीव्रता दिँदै आइरहेका छौं।’

कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले पुरानो संरचनालाई व्यवस्थित गर्नेतर्फ अग्रसर भएको बताए। ‘वर्षायाममा नेपालमै उत्पादित विद्युत्ले धान्ने अवस्थामा आइसक्यौं,’ उनले भने, ‘अब हामी सर्वसाधारणलाई जतिसक्दो धेरै विद्युत् खपत गराउनेतर्फ केन्द्रित हुँदै आइरहेका छौं।’ प्राधिकरणले देशभर रहेका थ्री फेज मिटर तथा टिओडी मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्ने कार्यको थालनी गरेको जनाएको छ। त्यसैगरी काठमाडौंबाट सिंगल फेज मिटरलाई स्मार्ट सिंगल फेज मिटरले प्रतिस्थापन गर्ने कार्यको प्रारम्भिक कार्य सुरु भइसकेको छ।

प्रकाशित: ३० श्रावण २०७६ ०३:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App