coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

एबिसीका होटल भदौ १ देखि खुल्ने

अन्नपूर्ण आधार शिविरका नवनिर्मित होटल। तस्बिर ः नागरिक

पोखरा - गत फागुन दोस्रो साताको भीषण हिमपातले पुरिएका अन्नपूर्ण आधार शिविर (एबिसी)का होटलको पुनर्निर्माण सकिएको छ। आगामी भदौ १ गतेदेखि आधार शिविरका सबै होटल पहिलेकै आकारमा सञ्चालनमा ल्याउने व्यवसायीले बताएका छन्। फागुनमा पुरिएका होटल वैशाखदेखि मात्र मर्मत थालिएको थियो। बाक्लो गरी परेको हिउँ पग्लिन बढी समय लागेकाले ढिला गरी मात्र पुनर्निर्माण थालिएको थियो।

एबिसीका होटल व्यवसायी जेबी गुरुङले भदौ १ गतेदेखि आधार शिविरका सबै होटल पहिलेकै आकारमा सञ्चालनमा आउने जानकारी दिए। ‘फागुनमा पुरिएका होटलको वैशाखदेखि पुनर्निर्माण थालेका थियौं, उच्च हिमाली भेग भएकाले पनि सञ्चालनमा ल्याउन केही ढिलाइ भएको हो,’ गुरुङले भने, ‘दुर्गम क्षेत्र भएकाले निर्माण सामग्री ढुवानी गर्न पनि समय लाग्यो।’ पोखरादेखि हेलिकप्टर, खच्चड र भरियामार्फत निर्माण सामग्री बोकाएर पुनर्निर्माण गर्नुपरेकाले बढी समय लागेको व्यवसायीले बताए।

उनका अनुसार एउटै होटल मर्मत गर्दा झन्डै ४० लाख रुपैयाँ खर्च भएको छ। आधार शिविरमा चारवटा होटल छन्। ती सबै होटलको पुनर्निर्माण खर्च झन्डै दुई करोड रुपैयाँ पुगेको उनले बताए। ‘मैले ४० लाख रुपैयाँ खर्चेर होटल पुनर्निर्माण गरेको छु। मेरोभन्दा बढी लागत परेका व्यवसायी पनि छन,’ उनले भने, ‘प्राकृतिक प्रकोपले हामीलाई निकै नै नोक्सान पु¥याएको हो।’ गुरुङका अनुुसार एबिसीमा अन्नपूर्ण सेन्चुरी, स्नोल्यान्ड, अन्नपूर्ण गेस्टहाउस र प्याराडाइज होटल रहेका छन्। ती सबैको पुनर्निर्माण गरिएको हो।

आधार शिविरका होटल पुनर्निर्माण गर्न छोमरोङ पर्यटन व्यवस्थापन उपसमितिअन्तर्गतको पर्यटन व्यवस्थापन समितिले चारवटा होटललाई एक–एक लाखका दरले राहत र १० लाख रुपैयाँ पूर्वाधार बनाउन सघाएको थियो। त्यस्तै, अन्नपूर्ण गाउँपालिकाले झन्डै चार लाख रुपैयाँ दिएको थियो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संरक्षित क्षेत्रभित्र परे पनि एक्यापबाट कुनै आर्थिक सहयोग नपाएको उनले बताए। पुनर्निर्माण सकिएका होटलमा पहिलेकै क्षमतामा पाहुना राख्न मिल्ने उनले बताए। अहिले आधार शिविरका प्रत्येक होटलमा ६ वटाका दरले कोठा छन्। सिजनमा तिनै कोठामा पाहुना अटाइअटाई हुने गरेका छन्। भदौपछि पदयात्रा पर्यटन सुरु हुने भएकाले पनि यो सिजनमा खोल्न व्यवसायीले तत्परता देखाउँदै हतारहतारमा पुनर्निर्माण सकेका थिए।

व्यवसायीले छड, जस्तापाता, काठका ढोका, प्लाइउडजस्ता निर्माण सामग्री हेलिकप्टरबाट ढुवानी गरेका थिए। तीबाहेक अरू निर्माण सामग्री र होटलका सामान खच्चड र भरियालाई बोकाएर आधार शिविर पु¥याएका थिए। आधार शिविर मार्गको घान्द्रुकसम्म मोटर पुगे पनि त्यसभन्दा अगाडि बोकेरै सामान ढुवानी गर्नुपरेको व्यवसायीले बताएका छन्। ‘एबिसीमा बसोबास गर्न र पदयात्रामा जान अब कुनै समस्या छैन। पहिलेकै रूपमा हामी सञ्चालनको तयारी गरिरहेका छौं,’ सञ्चालक गुरुङले भने, ‘यो सिजनमा पाहुनालाई आधार शिविर उकाल्ने गरी काम गरेका थियौं।’

बाक्लो हिमपातले होटल भत्किँदा करोडौं नोक्सान भएको उनले बताए। आधार शिविरका चारवटा होटल निकै नै कठिनका साथ बनेका थिए। निर्माण सामग्री बोकेर आधार शिविर पु¥याएर त्यहाँ होटल बनेकाले क्षति ठूलो भएको उनले बताए। ‘हिमपातले होटल भत्किँदा धेरै सामान नोक्सान भएका थिए। कति सामान पुनः प्रयोग गर्नै मिलेनन्,’ उनले भने।

हिमपातले होटल पुरिएपछि एबिसी पुगेका पर्यटक केही तलको माछापुच्छ«े आधार शिविर (एमबिसी)मा बस्ने र हाइकिङको रूपमा एबिसी पुगेर फेरि एमबिसी झर्ने गरेका थिए। एमबिसीबाट दुई घण्टा उक्लेपछि एबिसी पुगिन्छ। एमबिसीमा अहिले पाँचवटा होटल छन्। एमबिसीमा गंगापूर्ण, माछापुच्छ«े, शंकर, गुरुङ र फिस्टेल होटल रहेका छन्।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल च्याप्टरका अध्यक्ष हरि भुजेलले अन्नपूर्ण आधार शिविर बन्द हुँदा अन्नपूर्ण क्षेत्रको पदयात्रा नै प्रभावित भएको बताए। ‘एबिसीको पदयात्रामा धेरै विदेशीको चासो थियो। बास बस्ने ठाउँ नहुँदा नेपाल आउन चाहेका पर्यटक नै आउन सकेका थिएनन्,’ भुजेलले भने, ‘पोखराका मात्र नभई राजधानीका पदयात्रा व्यवसायी पनि चिन्तित थिए। अब यो सिजनमा पाहुना पठाउन सकिने अवस्था छ।’ भदौदेखि सुरु हुने पदयात्रा मंसिरसम्म चल्छ। त्यो अवधिमा आधार शिविर जाने आन्तरिक र विदेशी पाहुनाको निकै नै भीड लाग्छ। आधार शिविर बन्द हुँदा यसपटक पदयात्रा क्षेत्रले धेरै पदयात्री गुमाएको भुजेलले बताए। आधार शिविर मात्र नभई अन्नपूर्ण फेरोको पदयात्रा पनि सहज नहुँदा यसपटक सिजनका पदयात्री गुमाएको भुजेलले बताए।

१९९० देखि एक्यापले उक्त क्षेत्रलाई संरक्षण गर्न थालेको थियो। ती सबै होटल एक्यापले संरक्षण थाल्नुअघि (१९८६) ताका बनेका हुन्। एक्यापले लिएपछि उक्त क्षेत्रमा कुनै पनि होटल थपिएका छैनन्। सुरुमा सामान्य गोठको रूपमा रहेका ती भवन पछि होटलमा परिवर्तन गरेर एबिसीमा व्यावसायिक रुप दिइएको थियो। विदेशी पदयात्री बढेपछि बास बस्न र खानका लागि व्यवस्थित रूपमा बल्ल त्यहाँ होटल सञ्चालनमा आएका थिए। पदयात्री बढेर बास बस्न समस्या हुन थालेपछि व्यवसायीले मुस्किलले सामान ढुवानी गरेर आधार शिविरमा होटल सञ्चालन गरेका थिए। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार एबिसीमा वर्षमा ३५ हजार हाराहारीमा विदेशी पर्यटक पुग्ने गरेका छन्।

प्रकाशित: २३ श्रावण २०७६ ०४:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App