१६ चैत्र २०८० शुक्रबार
अर्थ

गत आवमा ७५७ सर्किट किमि प्रसारण लाइन तयार

काठमाडौं – सरकारले लक्ष्यअनुसार जलविद्युत् उत्पादन गर्न नसके पनि प्रसारण लाइन विस्तारमा भने अपेक्षाकृत उपलब्धि हात पारेको छ।

सरकारले गत आर्थिक वर्षमा सात सय ६१ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण गर्ने लक्ष्य राखेको थियो। यसमध्ये सात सय ५७ सर्किट किलोमिटर निर्माण गरेको हो। यो लक्ष्यभन्दा चार सर्किट किलोमिटर मात्र कम हो। सरकारका अन्य कामका तुलनामा यो राम्रो उपलब्धि हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत आर्थिक वर्षमा लक्ष्यअनुसार प्रसारण लाइन विस्तार भएको बताएको छ। गत आर्थिक वर्षमा सात सय ५७ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण गरेको मन्त्रालयले बताएको हो। मन्त्रालयका अनुसार आर्थिक वर्ष ०७४/७५ मा दुई सय ४९ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण भएको थियो। अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा दुई सय चार प्रतिशत धेरै प्रसारण लाइन निर्माण भएको हो।

मन्त्रालयका प्रवक्ता सहसचिव प्रवीणराज अर्याल गत आर्थिक वर्षमा जलविद्युत् उत्पादनको तुलनामा प्रसारण लाइन विस्तारमा धेरै उपलब्धि हात पारेको बताउँछन्। ‘गत आर्थिक वर्षमा लक्ष्यअनुसार जलविद्युत् उत्पादन गर्न सकेनौं, तर प्रसारण लाइन विस्तारमा लक्ष्य लगभग भेटेका छौं,’ उनले भने, ‘जलविद्युत् उत्पादन प्रक्रिया निकै जटिल प्रकृतिको हुन्छ।’

उत्पादनको तुलनामा जमिनमाथि प्रसारण लाइन विस्तार गर्न सहज भएकाले पनि लक्ष्यअनुसार उपलब्धि हासिल भएको हो। सरकारले आर्थिक वर्ष ०७५/७६ मा सात सय ६० मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो। तर, असार मसान्तसम्म १९५.०८ मेगावाट मात्र उत्पादन भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले गत आर्थिक वर्षमा आठ सय ३० मेगा भोल्ट एम्पियर (एमभिए) विस्तार भएको  छ।

प्रकाशित: २० श्रावण २०७६ ०३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App