१६ चैत्र २०८० शुक्रबार
अर्थ

सुक्खा बन्दरगाह ठप्प

ढुवानी ठप्प भएपछि माल समान ननिस्किदा भरिभराउ सुक्खा बन्दरगाह । तस्विरः रितेश त्रिपाठी/ नागरिक

वीरगन्ज–  भारतका कोलकता, हल्दिया र बिशाखापटनम बन्दरगाहबाट नेपाललाई रेल लाइनमार्फत जोड्ने देशको एक मात्र सुक्खा बन्दरगाह ठप्प भएको छ। त्यहाँस्थित भन्सार कार्यालयको राजश्व संकलन पनि संगसंगै ठप्प भएको छ। क्लियरिङ्ग एजेन्टका प्रतिनिधि र सुक्खा बन्दरगाह संचालन गर्ने कम्पनी हिमालयन टर्मिनल्सविच बिवादले गर्दा सुक्खा बन्दरगाह ठप्प हुन पुगेको त्यहाँस्थित भन्सार कार्यालयका निमित्त प्रमुख भन्सार अधिकृत विष्णु शर्माले बताए।

‘हिजैदेखी हामीले समाधानको प्रयास गरेकोमा अहिले शुक्रवार कार्यालय समय सकिँदासम्म निश्कर्ष निस्किन सकेको छैन,’ शर्माले भने, ‘कामकाज सुरु गरेर असहमतिका बुँदाहरुमा पछि छलफल जारी राखेर समाधान निकालौं हामीले भनेका छौं।’ बिहीबार मध्यान्नदेखी एजेन्ट प्रतिनिनिधिहरु कामकाज बन्द गरेका कारण सुक्खा बन्दुगाह ठप्प हुन पुगेको र राजश्व संकलन पनि रोकिएको उनले बताए।

सुक्खा बन्दरगाहको स्वामित्व लिएको इन्टरमोडेल यातायात विकास समितिले प्रभावकारी भुमिका गर्न नसकेका कारण यस्तो विवाद आएको एजेन्टहरुको बुझाई छ। ‘कन्टेनर ओसार्ने रिच स्ट्रेकर ६ वटा प्रयोगमा राख्नु पर्ने सम्झौतामा छ, हिमालयन टर्मिनल्सले ४ वटा राखेको छ जसमध्ये एउटा बिग्रेकै छ, मुख्य रुपमा यस कारण नै ढिलाई हुन्छ र कन्साइनमेन्टउपर जरिवाना थपिन्छ,’ एक एजेन्टले भने, ‘अरु पनि यावत कमजोरी छन्, जसलाई हेर्न नेपालको सरकारी पक्ष भएर  काम गर्ने भुमिकामा कुनै निकाय देखिदैन विवाद भइराख्छ।’

हिमालयन टर्मिनल्सका प्रमुख कार्याकारी अधिकृत विष्णुकान्च चौधरीले आफुहरुले सम्झौताको दायरामा रहेर राम्रो सेवा दिन खोजिरहेको दावी गरे। ‘एजेन्टले आफ्नो प्रतिनिधिमार्फत काम गराउछन्, हामीले उनीहरुलाई सहज हुने गरी वातावरण दिरहेका छौं, बेलैमा काम सकाएर भन्सार पास भइसकेको समान लैजानु पर्नेमा गर्दैनन्। नियम अनुसार शुल्क तिर्न भन्दा यस्तो समस्या देखियो,’ उनले भने, ‘समस्या हाम्रो कार्य प्रणालीमा छैन, त्यसको उपयोग गर्नेमा छ, राति दश बजेपछि हामीले कसरी गाडि निस्किन दिने? हाम्रो अधिकार क्षेत्रमै छैन त्यो कुरो  मुख्य रुपमा यसै कुरामा एजेन्टका प्रतिनिधिले बिरोध जनाएर काम बन्द गरेका हुन।’ उनले आफुहरु बिहान ८ बजेदेखी १२ बजेसम्म काम गर्न तयार रहे पनि नियमले नै रोकेको समयसीमा पालना बाध्यता रहेको बताए।

भन्सार एजेन्टका प्रतिनिधिले हिमालयन टर्मिनल्सले मनोमानी किसिमले काम गरेको बताए। ‘यार्डबाट ५ दिनभित्र हामीले कन्टेनर खन्याएर फिर्ता गर्नुपर्ने हुन्छ, त्यसको लागि हामीले मात्र काम गरेका त हुँदैन। हिमालयन टर्मिनल्सले पनि आफ्नो काम समय मै गरिदिनु पर्यो। उससंग उपकरण अपुग छन्, जस कारणले काम सुस्त पनि सुस्त छ,’ एक जना एजेन्ट प्रतिनिधि पवन गुप्ताले भने, ‘धेरै पटक भेंटेर कम्पनीका प्रमुख अधिकृतलाई र भन्सारलाई समेत यसअघि समस्या जानकारी गराएका छौं। यसपाली गुनासो लिएर जाँदा लापारवाही किसिमले कम्पनीले जवाफ फर्काएपछि साथीहरु एउटा किनारा निस्कियोस भनेर हड्तालमा गएका हुन।’ सुक्खा बन्दरगाह भन्सार कार्यालयले विवाद मिलाउन मध्यस्तता गरिरहेको जनाएको छ।
 

प्रकाशित: १७ श्रावण २०७६ १३:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App