२९ श्रावण २०७७ बिहीबार
अर्थ

'कोलकातामा थप सुविधा'

कोलकाता बन्दरगाहका अध्यक्ष बिनित कुमार (दायाँबाट तेस्रो) वीरगन्जमा उद्योगी ब्यपारीसंग अन्तरक्रिया गर्दै। तस्विर : रितेश/नागरिक

वीरगन्ज – भारतको पश्चिम बंगाल प्रान्तमा रहेको कोलकाता बन्दरगाहले आफ्नो पूर्वाधार थप्दै नेपाली व्यापारका लागि सुविधा बढाएको दावी गरेको छ। कोलकाता भएर हुँदै आएको आयात बिशाखापटनमतिर मोडिन थालेको तथ्यांक देखा परेका बेला कोलकाता बन्दरगाह सञ्चालन गर्ने कोलकाता पोर्ट ट्रस्टका अध्यक्ष बिनितकुमार मंगलबार वीरगन्ज आइपुगेका छन्। उनले वीरगन्ज उद्योग वाणिज्य संघमा यहाँका आयातकर्ता व्यापारीसँग अन्तरक्रिया गर्दै कोलकाता बन्दरगाह फेरिएको र त्यहाँ भएर आयात गर्दा नेपाली आयातकर्तालाई तुलनात्मक लाभ रहेको दाबी गरे।

भारतीय आर्थिक वर्ष ०१७/१८ मा कोलकाता भएर ८२ हजार दुई सय आठ र बिशाखापटनम भएर मात्र चार हजार सात सय ४६ कन्टेनर (२० फिट एकाइ)मा आएका थिए। कोलकाताबाट आउने कन्टेनरको संख्या वर्ष ०१७/१८ मा ७९ हजार सात सय ७७ मा झ-यो। उता बिशाखपटनमबाट ह्वात्तै बढेर १७ हजार ५६ पुग्यो। त्यस्तै नजिकैको उडिसा प्रान्तमा रहेको धमरा बन्दरगाह पनि सेवा दिन तयार भएको छ। यतिखेर कोलकाता बन्दरगाहले आफ्नो पुरानो सेवाग्राही नेपाललाई अन्यत्र जानबाट रोक्ने मनसायमा देखिएको छ।

नेपालसँगै भुटान र पूर्वोत्तर भारतका प्रान्तले कोलकाता बन्दरगाह भएर तेस्रो मुलुकसँगको व्यापार गर्ने गरेका छन्। उक्त बन्दरगाहको अधिकतम उपयोग हुने गरी कार्गोको आवागमन बढेपछि पूर्वाधार अपुग भएको आयातकर्ताले गुनासो गर्दै आएका थिए। असहजता बढ्दा कोलकाता आउने कन्टेनर आन्ध्र प्रदेशको बिशाखापटनम र पश्चिम बंगालकै हल्दिया बन्दरगाहतिर जान थालेका छन्। सन २०१७ र २०१८ बीच करिब डेढ सय करोड रुपैयाँ खर्चेर पोर्ट ट्रस्टले आफ्नो बन्दरगाहको पूर्वाधार विस्तार र सुधार गरेको अध्यक्ष कुमारले बताए। सँगै व्यवस्थापकीय सुधार पनि गरेको जनाए।

‘बिशाखापट्नमतिर कार्गो जान थाले त्यस कारणले हामी चिन्तित छौं भन्ने होइन, सेवाग्राहीलाई जहाँ तुलनात्मक रुपमा सुबिधा र बचत महसुश हुन्छ त्यता जानु स्वभाविक हो,’ उनले भने, ‘मुख्य कुरो के हो भने अहिले कोलकाता बन्दरगाहले कस्तो सुबिधा दिरहेको छ ? त्यहाँबाट आयात हुँदा ब्यपार लागत र समय दुबै बचत हुन्छ भन्ने कुरा अवगत गराउन चाहन्छुँ।’ धेरै वटा सिपिङ्ग कम्पनीले अहिले कोलकाता भएर कारोबार गरिरहेको र त्यहाँ भएर बिद्युतीय निगरानी प्रणाली ‘इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ्ग सिस्टम’ (इसिटिएस) सहित र बिना ‘इसिटीएस’ दुबै तरिकाले आयातको सुबिधा रहेको उनले बताए।

‘यनदीको जलाधारमा बनेको पुरानो बन्दरगाह भएकोले हाम्रा आफ्नै सिमितताहरु छन्, केही बिशेषता पनि छ। सबभन्दा ठुलो बिशेषता हो यसको अवस्थिती। नेपालको कुरा गर्ने हो भने यो नेपालसंग सबभन्दा नजिकको बन्दरगाह भएको हुनाले यसको तुलना अरु ठाउँले गर्न सक्दैन,’ पोर्ट ट्रष्टका अध्यक्ष कुमारले भने, ‘सेवाग्रहीले बन्दरगाहको सेवामा प्रगतीलाई अनुभव गर्न सक्ने गरी हामी भौतिक पुर्वाधार र सुबिधा बढाएका छौं।’ बन्दरगाहमा आइपुगेका कन्टेनर रेल्वेमा हुने लोडिङको लागि चाहिने पुर्वाधार, सडकमार्गबाट ढुवानी हुने कन्टेनर लोडिङ हुने ठाउँ, यार्डको क्षेत्रफल लगायतको कुरामा कोलकाता बन्दरगाहले ब्यपाक सुधार गरेको उनले बताए।

अब सिपिङ्ग कम्पनीविच प्रतिस्पर्धा बढाएर नेपालले फाइदा लिन सक्नु पर्ने उनको राय छ। एक लाख बर्ग मिटर रहेको बन्दरगाहको कन्टेनर यार्ड पुर्वाधार सुधारपछि एक लाख ३५ हजार बर्ग मिटर भएको बन्दरगाहका अधिकारीले बताएका छन्। उनीहरुका अनुसार पहिले प्रतिदिन एक सय ३५ वटा कन्टेनर रेलमा हाल्ने संरचना रहेकोमा त्यहाँ रेल लाइन बढाइएपछि प्रतिदिन ३ सय ६० कन्टेनर लोड गर्न सकिने भएको छ। बर्षेनी ६ लाख कन्टेनर ‘ह्याण्डिलिङ्ग’को बन्दगाहको क्षमता अब १२ लाख पुगेको उनको दावी छ।

वीरगन्ज उद्योग बाणिज्य संघका कार्यावाहक अध्यक्ष सुबोध कुमार गुप्ताले कोकलता भएर अहिलेसम्म हुदै आएको ब्यपार बिशाखापटनमतिर जानु पछाडि केही अप्ठ्याहरु कारण रहेको बताए। उनले ब्यपारमा लाग्ने समय र खर्च आफुहरुको मुख्य सरोकार हरेको बताएका थिए। सुबिधा हुनेछ भनेर इसिटीएस सेवा बापत नेपाली ब्यपारीले तीन हजार ३ सय –पाँच हजार २ सय ८०) तिर्न सहर्ष तयार भए पनि त्यसको प्रतिफल नपाइएको उनले गुनासो गरे। संघका पुर्व अध्यक्ष प्रदीप केडियाले भारतीय ट्रान्जिटमा हुने कठिनाईले तेस्रो मुलुकसंगको नेपालको समग्र ब्यपार प्रभावित भएको बताए। उनले ब्यपारको कठिनाई नेपाली निर्यात नबढ्नु पछाडि एउटा कारण भएको दावी गरे।

नेपाल उद्योग बाणिज्य महासंघका सदस्य अशोक टेमानीले, वीरगन्ज उद्योग बाणिज्य संघका महासचिव माधवराजपाल, सहसचिव आशिष लाठ, सदस्यहरु, क्लियरिङ्ग ऐजेन्ट, बिभिन्न ब्यपारिक तथा औद्योगिक प्रतिष्ठानका प्रतिनिधि कार्यक्रममा उपस्थित थिए।

प्रकाशित: १५ श्रावण २०७६ ०८:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App