१६ चैत्र २०८० शुक्रबार
अर्थ

धादिङमा व्यावसायिक चियाखेती सुरु

नीलकण्ठ नगरपालिका–९ निगालपानीमा चियाखेती गरिँदै। तस्बिर : सरिता/नागरिक

धादिङ – धादिङ जिल्लामा पहिलो पटक व्यावसायिक चियाखेती सुरु गरिएको छ। जिल्लाको नीलकण्ठ नगरपालिका–९ निगालपानीका किसानले चियाखेती गरेका हुन्। चियाखेतीका लागि सुहाउँदो हावापानी भएपछि खाली जग्गामा चियाखेती गरिएको निगलपानीकी आइतीमाया शाक्यले बताइन्। ‘थोरै मिहेनत गरेर नगदेबालीका रुपमा चियाखेती गर्न सकिने रहेछ,’ उनले भनिन्, ‘चियाखेतीको तालिम लिएपछि बाँझो रहेको जमिनको उपयोग गर्न पाएका छौं।’

चियाखेतीको अध्ययन अवलोकनका लागि वडाध्यक्ष भोजबहादुर रेग्मीको नेतृत्वमा पाँच युवा आफ्नै खर्चमा इलाम पुगेर आएका थिए। अवलोकनपछि जिल्लाको नीलकण्ठ नगरपालिकाको उच्च क्षेत्रको रुपमा रहेका निगालपानी डाँडामा चियाखेतीका लागि प्राविधिक अध्ययन तथा मूल्यांकन गरिएको थियो। अध्ययनपछि उपयुक्त देखिएकाले पहिलो चरणमा तीन सय रोपनी जग्गामा व्यावसायिक रुपमा चियाखेती सुरु गरिएको हो।

पछिल्लो समय परम्परागत खेतीपाती गर्ने किसानको संख्या घट्दै गएकाले बाँझो जमिन सदुपयोग गरी आयआर्जनमा वृद्धि गराउन चियाखेती सुरु गरिएको वडाध्यक्ष रेग्मीले बताए। ‘अहिले खेतीपाती गर्नेको संख्या क्रमशः घट्दै गइरहेको छ, जमिनहरु पनि बाँझो हुन थालेको छ,’ उनले भने, ‘प्राविधिक बोलाएर हावापानी तथा माटो परीक्षणलगायत काम सकेपछि हावापानी उपयुक्त देखिएकाले चियाखेती सुरु गरेका हौं।’

पहिलो चरणमा चियाखेती गर्न इच्छुक किसानका लागि १२ हजार चियाका बिरुवा निःशुल्क वितरण गरिएको छ। चियाको बिरुवा खरिद गर्न नीलकण्ठ नगरपालिकाले तीन लाख रुपैयाँ सहयोगसमेत गरेको थियो। अहिले चियाको बिरुवा थोरै पाइएकाले १२ हजार बिरुवा मात्रै वितरण गरिएको र आगामी वर्षमा एक लाख बिरुवा स्थानीयको बारीको आवश्यकताअुनसार वितरण गरिने नगरपालिकाले जनाएको छ।

चियाखेतीको विकास र प्रवद्र्धनका लागि स्थानीयले सहकारीको अवधारणा पनि अगाडि सारेका छन्। चियाखेती गर्ने किसानलाई आवद्ध गराएर अशोक शर्मा दुवाडीको संयोजकत्वमा सहकारीको तदर्थ समिति पनि बनाइ सकिएको छ। चिया लगाउनुअघि इच्छुक किसानलाई चियाखेतीका विशेषज्ञ बोलाएर चियाखेती गर्ने तयारी, प्रविधि र खेतीका विभिन्न चरणबारे दुईदिने तालिम पनि दिइएको थियो। सहकारीले चियापत्ती खरिद गर्ने र प्रशोधन गरेर बजार पठाउने संयोजक ढुवाडीले बताए।

गाउँमै व्यावसायिक चियाखेती प्रवद्र्धन हुने भएपछि स्थानीय कृषक उत्साहित छन् । परम्परागत खेती गर्दै आएका किसानलाइ चियाखेतीले नयाँ वैकल्पिक आयआर्जनको बाटो रहेको स्थानीयको भनाइ छ। चियाखेतीमा आश्रित बनेर व्यावसायिक आम्दानीको स्रोत र रोजगारीको बाटो सिर्जना हुने भएपछि चियाखेतीमा उत्साह छाएको कृषकले बताए।

प्रकाशित: १२ श्रावण २०७६ ०३:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App