coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

लाङटाङमा साढे १७ हजार पर्यटक भित्रिए

क्यान्जिन उपत्यकाबाट चार घण्टाको पैदल यात्रापछि पुगिने ‘चेर्को री’मा पुगेर हिमश्रृंखलाको अवलोकन गर्दै एक पर्यटक। तस्बिर ः नागरिक

रसुवा -  आर्थिक वर्ष ०७५/७६ मा साढे १७ हजार पर्यटक लाङटाङ राष्ट्रिय निकुञ्ज भित्रिएका छन्। निकुञ्जभित्र रहेका प्राकृतिक, धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको अवलोकनका लागि १७ हजार ६ सय ९१ पर्यटक आएका हुन्। जसमध्ये ११ हजार आठ सय १४ विदेशी, पाँच हजार पाँच सय ५९ नेपाली र तीन सय १८ सार्क राष्ट्रका पर्यटक छन्।

निकुञ्ज आएका पर्यटकमध्ये पर्यटकीय क्षेत्र लाङटाङ, धार्मिकस्थल गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गको अध्ययन, अवलोकन गर्न पुग्ने गरेका छन्। साउनदेखि असोजसम्म निकुञ्जमा कम पर्यटक आउँछन्। असोज १५ गतेदेखि कात्तिक मसान्त र चैतदेखि वैशाख अन्तिमसम्म बढी पर्यटक आउने गरेका छन्। जिल्लाको पर्यटकीय क्षेत्रमा बाह्रै महिना पर्यटक आउने गरेका छन्। तर तीन महिना पर्यटनका लागि उपयुक्त मौसम नहुने भएकाले कम हुने गरेको निकुञ्जले जनाएको छ।

निकुञ्जका अनुसार साउनमा एक सय ९२, भदौमा तीन सय ९१, असोजमा एक हजार पाँच सय ५३, कात्तिकमा तीन हजार सात सय ५८, मंसिरमा एक हजार एक सय २३, पुसमा एक हजार ६३ पर्यटक आएका थिए। माघमा चार सय ८७, फागुनमा एक हजार तीन सय १९, चैतमा दुई हजार तीन सय ७८, वैशाखमा एक हजार नौ सय १०, जेठमा दुई हजार दुई सय ९८ र असारमा एक हजार दुई सय १९ पर्यटक आएका निकुञ्जको तथ्यांक छ।

निकुञ्ज आएका पर्यटकबाट तीन करोड २३ लाख १६ हजार सात सय ३९ रुपैयाँ राजस्व संकलन भएको छ। यो निकुञ्जमा एक वर्षमा संकलन भएको राजस्वको ७३.४८ प्रतिशत हो। निकुञ्जमा उठ्ने राजस्वमध्ये पर्यटनबाट सबैभन्दा बढी उठ्ने गरेको निकुञ्जका सूचना अधिकारी शिवलाल गैरेले बताए।

निकुञ्जमा आव ०७५/७६ मा चार करोड ३९ लाख ७८ हजार दुई सय ५० रुपैयाँ राजस्व उठेको थियो। पर्यटक आउने क्रम बढेसँगै राजस्व संकलन पनि बढ्दै गएको छ। भूकम्प गएको वर्ष पर्यटकको आगमन घटेको थियो। त्यसपछिका वर्ष पर्यटक आउने क्रम निरन्तर बढ्दै गएको छ।

गाइड र पोर्टरबिना समेत जान सकिने भएकाले यस क्षेत्रमा पर्यटकको आगमन बढेको होटल तथा पर्यटन व्यवसायी संघ रसुवाका महासचिव निशान गजुरेलले बताए। ‘लाङटाङ क्षेत्रमा ट्रेकिङका लागि पर्यटक आउने गरेका छन्,’ उनले भने, ‘पदयात्रा छोटो र सहज भएकाले पर्यटक थप आकर्षित भएका हुन्।’

लाङटाङ घुम्न इजरायल, फ्रान्स, क्यानडा, जापान, इटली, अमेरिका, थाइल्यान्ड, बेलायत, कोरिया, रसिया, स्पेन, उरुग्वे, कोरिया, सिंगापुरलगायत देशका पर्यटक आउने गरेका छन्। लाङटाङ राष्ट्रिय निकुञ्जमा आएका पर्यटकमध्ये करिब ९० प्रतिशत पर्यटक लाङटाङ पुग्छन्।

निकुञ्ज क्षेत्रमा आएपछि लाङटाङलगायत एक दर्जन हिमशृंखला, गोसाइँकुण्डलगायत विभिन्न कुण्ड, ऐतिहासिक स्थल रसुवागढी पर्छ भने विश्वको दुर्लभ रेडपाण्डा, हिमचितुवालगायत जनावर पनि देख्न सकिन्छ।

प्रकाशित: ९ श्रावण २०७६ ०४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App