८ वैशाख २०८१ शनिबार
अर्थ

कपिलस्तुमा कृषिको दुई करोड फिर्ता

कपिलवस्तु – कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनालको गृह जिल्ला कपिलवस्तुमा कृषिको दुई करोडभन्दा बढी रकम फिर्ता गएको छ। कृषि मन्त्री खनालले सरकारले कृषिमा ल्याएको विभिन्न कार्यक्रम कृषकको हातहातमा पर्ने प्रतिबद्धता जनाएका थिए। गत आर्थिक वर्षमा विनियोजित बजेटमध्ये काम नै गर्न नसकी दुई करोड १० लाख ५६ हजार रकम फ्रिज भएको हो।

कृषि ज्ञान केन्द्रमा गत आर्थिक वर्ष विभिन्न सातवटा कार्यक्रमका लागि नौ करोड ७५ लाख ४६ हजार रकम विनियोजित गरिएको थियो। जसमध्ये कुल सात करोड ६४ लाख ८९ हजार मात्र खर्च भएको कृषि ज्ञान केन्द्रको लेखा शाखाले जनाएको छ। सबैभन्दा बढी प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमको ८६ लाख ३४ हजार फ्रिज भएको छ। उक्त कार्यक्रममा कुल चार करोड २० लाख बजेट थियो।

कृषि ज्ञान केन्द्रका कृषि अर्र्थविद महेन्द्र ओझाका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत ५० पकेट र नौ ब्लक छन्। चारवटा पकेट कार्यक्रम र पाँचवटा ब्लक कार्यक्रम लिएकाहरु सम्पर्कमा नआएका कारण प्रधानमन्त्री कार्यक्रममा बढी रकम फ्रिज भएको उनले बताए। कृषि विकास कार्यक्रमको ६० लाख र सहकारी स्किम तथा सहकारी सिँचाइ कार्यक्रमको २७  लाख २५ हजार फिर्ता भएको छ।

कृषिमन्त्रीको गृह जिल्लामा दुई करोडभन्दा बढी रकम फिर्ता जानु दुःखद विषय भएको जिल्ला कृषक संघका अध्यक्ष चर्तुभुजमणि त्रिपाठीले बताए। ‘७० प्रतिशतभन्दा बढी जनताको मुख्य पेसा कृषि भएको जिल्लामा आएको रकमसमेत खर्च हुन नसक्नु विडम्बना हो,’ उनले भने, ‘वास्तविक कृषकले अनुदान पाएका छैनन्, आएको रकम पनि खर्च हुन सक्दैन यो भन्दा बढी दुर्भाग्य के हुनसक्छ,’ उनले प्रश्न तेस्र्याए। उनले कृषि कार्यक्रम र अनुदानसमेत पारदर्शीरुपमा खर्च नगरिएको आरोप लगाए।

कृषि ज्ञान केन्द्रका प्रमुख रामचन्द्र आर्यले रकम फिर्ता हुनुमा आफ्नो कार्यालयको कुनै दोष न रहेको भन्दै आवश्यक प्रकृया र नियम पूरा गरेर मात्र खर्च गरिएको बताए।

प्रकाशित: ८ श्रावण २०७६ ०३:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App